पोखरा । टाइगर कप भलिबलमा पुरुषतर्फको उपाधि घरेलु टोली गण्डकीले उचालेको छ। शनिबार पोखरा रंगशालाको भलिबल कोर्टमा भएको फाइनल खेलमा गण्डकीले विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको हो।
घरेलु मैदानमा हजारौं दर्शकको भरपुर समर्थन पाएको गण्डकी पहिलो सेटमा एपीएफसँग २५–१६ को फराकिलो अन्तरमा स्तब्ध बन्यो। दोस्रो सेटमा दर्शकको उत्साहबाट गण्डकीका खेलाडी उर्जाको रुपमा लिँदै २५–१८ को जित निकाल्न सफल भयो। तेस्रो सेटमा पनि गण्डकीले रोमाञ्चक जीत हासिल गर्यो। गण्डकीले एपीएफलाई २५–१९ मा रोक्न सफल भयो।
चौंथो सेटमा केहीबेर अग्रता लिएको गण्डकीले अन्तिम समयसम्म विभागीय टोली एपीएफलाई रोक्न सकेन। खेलको अन्तिम समयमा उत्कृष्ट प्रदर्शन गर्दै एपीएफले २८–२६ को जित हासिल गर्दा गण्डकीका समर्थक निराश बने।
चौंथो सेटमा गण्डकीका दर्शक र एपीएफका खेलाडीबीच बोत्तल हानाहान हुँदा केहीबेर खेल रोकिएको थियो। दर्शक उत्तेजित भएर सिर्जना भएको तनावग्रस्त स्थितिलाई नियन्त्रणमा लिन आयोजकलाई नै हम्मेहम्मे परेको थियो। सुरक्षाकर्मी र आयोजकको सुरक्षा घेरामा भएको चौंथो सेट एपीएफले जित दर्ता गराउँदै उपाधि जित्ने आश समर्थकलाई जगायो।
पाँचौ सेटमा एपीएफलाई फराकिलो अन्तरले पराजित गर्दै गण्डकीले उपाधि रक्षा गर्न सफल भएको हो। उपाधिसँगै गण्डकीले ५ लाख रुपैयाँको साथमा ट्रफी प्राप्त गरेको छ। पहिलो पटक उपाधि होडमा पुगेको एपीएफ घरेलु टोलीसँग स्तब्ध हुँदै २ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ।
गण्डकीले उपाधि मात्रै रक्षा गरेन, विभागीय टिमलाई टक्कर दिने सामर्थ्य राख्छ भनेर फेरि प्रमाणित गरिदिएको छ। गण्डकी पहिलो संस्करणको विजेता पनि हो। त्यतिबेला अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि विजेता बनेको थियो।
सेमिफाइनलमा गण्डकीले दोस्रो संस्करणको विजेता त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो। अपराजित रहेको एपीएफले सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै गण्डकीसँग उपाधि भिडन्त पक्का गरेको थियो।
शनिबार भएको तेस्रो स्थानको खेलमा दुई विभागीय टोली पुलिस र आर्मी भिडेका थिए। साविकको विजेता आर्मीलाई पुलिसले ३–१ को सेटमा हराउँदै तेस्रो स्थान प्राप्त गर्न सफल भयो। तेस्रो भएको पुलिसले १ लाख २५ हजार रुपैयाँ र चौंथो स्थान प्राप्त गरेको आर्मीले ६५ हजार रुपैयाँमा चित्त बुझाएको छ।
राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा विदेशी टोली श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्ट्स क्लब भने प्रतियोगिताको लिग चरणबाटै बाहिरिसकेको थियो। तीन विभागीय टोली, एक विदेशी टोली र घरेलु टोली गण्डकीले प्रतियोगितामा सहभागिता जनाएका थिए।
महिलातर्फको उपाधि सशस्त्र प्रहरी बलको एपीएफले उचालेको छ। शनिबार भएको फाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपीएफले तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि रक्षा गरेको हो।
एपीएफले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको छ। उपाधिसँगै एपीएफले ५ लाख रुपैयाँ प्राप्त गरेको छ। आर्मीले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ।
उपाधि विजेता एपीएफ साविकको विजेता पनि हो। गत संस्करणमा पनि फाइनलमा एपीएफ र आर्मी भिडेका थिए। आर्मीलाई ३–० को सोझो सेटमा रोक्दै एफीएफ च्याम्पियन बनेको थियो। पहिलो संस्करणमा एपीएफलाई उपाधि होडमा पुलिसले रोकेको थियो। पुलिससँग ३–० को सोझो सेटमा हारेको एपीएफले त्यसपछिका लगतार संस्करण जित्दै इतिहास रच्न सफल भएको हो।
तेस्रो स्थान न्यु डायमण्डले प्राप्त गरेको छ। तेस्रो स्थानका लागि शुक्रबार भएको खेलमा प्रतियोगिताकै कमजोर टिम गण्डकी प्रदेशलाई न्यू डायमण्डले ३–० को सोझो सेटमा पराजित गरेको हो।
तेस्रो भएको न्यु डायमण्डले १ लाख २५ हजार रुपैयाँ र ४ टोली सहभागी खेलमा चौथौं भएको गण्डकीले ६५ हजार रुपैयाँमा चित्त बुझाएको छ।