तनहुँ । प्रमुख प्रशासकीय अधिकृतमा कोरोना सङ्क्रमण देखिएपछि तीन दिनदेखि बन्द रहेको तनहुँको आँबुखैरेनी गाउँपालिका बुधबारदेखि सञ्चालनमा आएको छ । प्रमुख प्रशासकीय अधिकृतको सम्पर्कमा आएका कर्मचारी र जनप्रतिनिधिको कन्ट्याक्ट ट्रेसिङबाट स्वाब परीक्षण गरिएपछि बुधबारबाट गाउँपालिकाले सेवा सुचारु गरेको हो ।
कन्ट्याक्ट ट्रेसिङबाट २६ जनाको स्वाब परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएपछि गाउँपालिकाको सेवा सुचारु गरिएको सूचना अधिकारी शिखरलाल डोटेलले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबारदेखि सबै वडा कार्यालय पनि सञ्चालनमा आएको छ । कोरोना जोखिमका कारण आइतबारदेखि मङ्गलबारसम्म गाउँपालिका र सम्पूर्ण वडा कार्यालयको सेवा बन्द गरिएको थियो ।