


विषय प्रवेश
नेपालको राजनैत्तिक क्षेत्र अहिले भिजिट भिसा प्रकरणले गर्माई रहेको समय थियो । यही बेला हामीलाई पनि युकेबाट छोरी बिन्दु खड्काबाट भिजिट भिसा अाईपुग्यो । यही भिसाको कारणले युके जाने तरखर गरियो । २०८२ असार १८ गतेका दिन हामी काठमाण्डेो बाट दिल्ली अन्तर्राष्ट्रय विमानस्थल मा १ घण्टाको ट्रान्जिट समय बिताउँदै लण्डनको हिथ्रो विमान स्थल पुग्ने भएका थियेों । भिजिट भिसा भएकै कारण काठमाण्डेो र दिल्ली विमानस्थलका कर्मचारीहरु नाता प्रमाणका कुरा उठाउँदै थिए। दिल्ली विमानस्थलमा वढी सोधनीका कारण हिथ्रो जाने विमानको छुट्ने समय भई सकेको थियो । छोरी सङ्ग मेन्जरबाटै कुराकानी भए पछि नाता प्रमाणको ईमेल अाई पुग्यो । छोरीले पठाएको इमेल देखाए पछि मात्र हामी जहाजमा प्रवेश पायेों । हामी इण्डियन एयरलाइन्सको जहाजबाट दिल्ली हुँदै हिथ्रोको लागि रवाना भयेों । हामी हिथ्रो विमान स्थलमा अोर्लिंदा सांझको १० बजी सकेको थियो । त्यो समयसम्म त्यहाँ घाम लागि रहेको थियो । छोरी बिन्दु बिमान स्थलसम्म लिन अाईपुगेकी थिईन् । छोरी सङ्गको भेटपछि हामी रेडिङ तर्फ लाग्येों । विमानस्थलबाट निवास पुग्दा सम्म छोरीको साथी अाज्ञा ढकालका श्रीमान राजु ढकालले कार ड्राईभिङ गर्नु भएको थियो । रातको १०.३० बजे मात्र हामी छोरीको निवास स्थल रेडिङमा पुगेका थियेों ।
परिचय
बर्कशायर ईङ्गलैण्डको दक्षिण पूर्वमा पर्ने एउटा जिल्ला ( county) हो । थेमश र केननेट नदीले बनाएको थेमस उपत्यकामा अवस्थित रेडिङशहर बर्कशायर भित्रको एउटा नगरपालिका ( Town) हो जुन ईङ्गल्याण्डको दक्षिणपूर्वि भागमा पर्दछ ।लण्डन देखि ६१ किलोमिटर पश्चिमको दुरीमा रहेको यो शहर इङल्याण्डको प्रमुख वाणिज्य केन्द्रहरु मध्ये एक हो । कुल जनसंख्या १७४२२४ रहेको रेडिङ शहरका विभन्न ठाउँमा रहेका चर्च , अबे , मन्दिर , कोत ,गढी र स्मारकहरुले यहाँको ऐतिहासिकताको परिचय दिईरहेको हामीलाई अनुभूत भयो ।यातायातको क्षेत्रमा बर्कशायरको रेडिङ शहरमा दिन दुईगुना रात चार गुनाको हिसावले रेलमार्ग र ।मोटरमार्गको तिव्रत्तर रुपमा विकास भएका रहेछन् ।
सवारीसाधनहरु गुड्ने यहाँका रेलमार्र्ग तथा राजमार्ग र सहरी मार्गहरुमा सवारीजाम हुन नपाअोस भनेर राउण्ड एवाउट , अाकाशे पुल , अाकाशेपुल सम्म पुग्ने अतिरिक्त सहायक मार्गहरु र पैदलयात्रीहरुका लागि छोटो दुरीका परम्परागत गल्लीहरु , फराकिला फुटपाथ, सडकबत्ती, कचवे , भूमिगत मार्गहरुको उचित व्यवस्थापन गरिएका पाईन्छन् । राजमार्गका दायाँवायाँ वृक्षारोपण गरी सडकलाई हरितक्षेत्र बनाउने बेलायतको अाफ्नै विशेषता हो । रेडिङ शहरको सेण्टर बजारमा सरसामान खरिदविक्रीका लागि जाने ग्राहकहरुलाई थप सुविधा पुगोस भन्ने ध्येयले बजारका सडकहरुमा कालोपत्रे नगरी परम्परागत प्रविधिका स्थानीय ढुङ्गा तथा ईट्टाहरुले भुईं छाप्ने र सवारी साधन प्रवेश निषेध गराउने प्रचलन अत्यन्त सराहना गर्न लायक देखियो । यस शहरका प्रमुख पर्यटकीय गन्तव्य स्थलहरुमा सेण्टर रेडिङ , क्राउनकोर्ट , रेडिङ युनिभर्सिटी , फोरबरी गार्डेन , अबेरुइन्स , रेडिङअबे , केनेट रिभर र थेमस रिभरको बेनी, थेमस रिभरमा वोटिङ, सामान ढुवानीका लागि निर्मित क्यानलहरु ,क्रिष्ट एवं क्याथड्रेल चर्चहरु, ह्यारिस पार्क , बेोध्द गुम्वा , हिन्दु मन्दिर र प्रोसपेक्ट पार्क , कोली गार्डेन, कोली पार्क र करेज पार्कहरु नै पर्दछन् ।

रेडिङ धार्मिक अास्थाको केन्द्रको साथसाथै सङ्गीत , भलिबल , फुटबल , हकी र क्रिकेट खेलका लागि प्रशिध्द रहेको छ । साच्चै भन्ने हो भने रेडिङ चिन्हाउने यहाँका विहार (चर्च)र सन्तमहन्त ( पादरी )हरु नै हुन् । बेलायतकै प्रशिध्द तीर्थस्थल भएका कारण st Benedict ले अाफ्नो जीवनको अधिकाँश समय यहींका मठहरुमा बसेर हरेक साँझ विहानमा पूजा र प्रार्थना गरेका थिए । यसका अतिरक्त उहाँले हरेक साँझमा साथीहरु सङ्ग वैठक गरेर रेडङअबेको अार्थिक तथा भेोतिक सुधारमा बढी समय दिएका थिए । अहिले पनि यहाँका धर्मगुरुहरुले राम्रा कार्यहरुलाई निरन्तरता दिईरहेको पाउँदछेों ।
रेडिङ नाम रहनाका कारण
अाठेों शताब्दी पूर्व देखि नै रेडिङमा रेडा वंशका मानिसहरु बसोबास गर्दथे । रेडिङअबे नै उनीहरुको प्रमुख प्रशासनिक एवं धार्मिक केन्द्र थियो । इङ्लगैण्डको अधिन रहनु पूर्व रेडा वंशका सामन्तहरुले यहाँ भुरेटाकुरे राज्यमा सामन्तको प्रतिनिधित्व गर्दै शासनसत्ता चलाएको अनुभूति मिल्दछ ।उनीहरुलाई पुरानो अङ्ग्रेजी भाषामा Readingum वा Readingas भन्ने गरिन्थ्यो । readingas को वास्तिवक अर्थ रेडा वंशधरका ब्यक्तिहरु भन्ने बुझाउँछ । मध्य युगमा अाएर यसलाई Readinge , Redding र अहिले अाएर Reading भन्ने गरिएको पाउँदछेों ।
पुरानो अङ्ग्रेजी भाषामा reada को वास्तविक अर्थ रातो भन्ने बुझाउँछ । तत्कालीन समयमा यहाँका अादिवासीहरुको कपालो रङ्ग रातो थियो भन्ने गर्दछन् । यसका अतिरिक्त तिनै अादिवासीहरुले रातो रङ्गको गेरुवस्त्र धारण गरेर गर्ने भएकाले पनि उनीहरुलाई राता (reada) जाति भन्ने गरिएको हो भन्ने अनुमान गर्न सकिन्छ । तिनै राता (reada ) जातिहरु बसोबास गर्ने स्थान भएकाले प्रारम्भमा यस स्थानलाई रेडल्याण्ड र उनीहरुले स्थापना गरेका विद्यालयहरुलाई रेडल्याण्ड विद्यालय भन्ने गरिन्थ्यो । यही कारण reading शब्दको उत्पति रेडा र रेडल्याण्ड शब्द अपभ्रंश भई हुन अाएको हो भन्न सकिन्छ। त्यही बेला देखि रेडा समुदायहरुले स्थापन गरेको यस रेडिङ शहरलाई विद्यालयहरुको भूमि तथा शिक्षाको पुञ्जस्थल भनेर चिनाउने गरिन्छ । प्रथम विश्व युध्द र द्वीतिय विश्व युध्दको समयमा यहाँका विद्यालयहरुलाई यहाँका वासिन्दाहरुले अस्पतालको रूपमा प्रयोग गरेका थिए । यसबाट यो प्रष्ट हुन्छ कि रेडिङ पुरानो अङ्ग्रेजी शब्दबाट परिवर्तित हुँदै अाएको संस्करण रहेछ भनेर बुझ्न सकिन्छ ।
रेडिङ निवासीहरु शिक्षा प्रेमी थिए । विद्या धनम् सर्व धनम् प्रधानम मान्दथे । त्यसैले यहाँका वासिन्दाहरुले रेडिङमा विद्यालयहरुको स्थापना गर्नमा अाफ्नो जग्गा जमिनको साथसाथै नगद धन पनि प्रशस्त सहयोग गरेको इतिहास भेटिन्छ । शिक्षा प्रेमीहरुको समुहको कारण पनि यो शहर एक महान शिक्षणकेन्द्रको रुपमा स्थापित हुँदै गयो । रेडा जातिहरुले सञ्चालन गरेको विद्यालयलाई रेडल्याण्ड प्राथमिक विद्यालयको नामले संवोधित गरियो । यसैले reading शब्दको उत्पति रेडल्याण्ड शब्द अपभ्रंश भई हुन अाएको हो भन्न सकिन्छ ।
अर्को तर्फ अङ्ग्रेजी भाषामा reading भन्नाले पढीरहनु अर्थात अध्ययन गरी रहनुलाई पनि जनाउँछ । यहाँ विशाल अध्ययनशालाहरु ( गुरुकुल ; गिर्जाघर , मदरसा) भएकाले यस स्थानलाई रिडिङ भन्ने गरियो ।कालान्तरमा त्यही रिडिङ शब्दको शब्दोच्चारणमा हुँदै अाएको परिवर्तनले यस स्थानलाई अहिले रेडिङ भनेर उच्चारण गरिन पुगेको हो। यस्को प्रत्यक्ष उदाहरण यहाँ रहेको खण्डहर रिडिङअबेलाई पनि लिन सकिन्छ ।
रेडिङ अबे
प्राकृतिक , धार्मिक, साँस्कृतिक, राजनैत्तिक र शैक्षिक केन्द्रको धरोहर रेडिङ अबे वर्कशायर काउण्टीमा पर्दछ । अाठेों शताब्दीमा पूर्व नै इङ्गल्याण्डले रेडिङलाई अाफ्नो अधिनमा ल्याई सकेको इतिहास बताउँछ । ईङ्लैण्डले रेडिङलाई अधिनमा ल्याउन पूर्व रेडिङ शहरमा यहाँका सामान्तहरुले शासन गरेको ऐतिहासिक वर्णनहरु पढ्नमा पाईन्छन् .। सन ११२१ मा अाएर यहाँका सन्त राजा हेनरी प्रथमले वेनेडेक्टिन अबे(मठ)को रुपमा स्थापना गरेका हुन्। यहाँका मठाधिशहरु द्वारा लिखित हस्तलिपि ग्रन्थहरु पनि यहाँका अबेमा सजायर राखिएका थिए । ज्ञानको थलो अबेलाई राजा हेनरीले अाफ्नो प्रायश्चित गर्ने थलोको रुपमा विकास गरेका हुन् । राजा हेनरीको मरणोपरान्त सन ११३५मा यसै स्थानमा समाधिस्थ गरिएको थियो । रेडिङ अबेलाई त्यो समयको सबैभन्दा धनी र शक्तिशाली मठको रुपमा हेर्ने गरिन्थ्यो पनि । यहाँका सन्तहरुको निर्देशनमा यहाँको प्रशासन चल्ने गर्दथ्यो । सन १५३९ मा भएको भिषण युध्दले बर्कशायरको प्रशासनिक केन्द्र मानिने रेडिङ अबेको भेोतिक संरचना लगभग पुरै ध्वस्त हुन गयो । राजा हेनरी अाठेोंको अादेशमा सन्त ह्युकुक फरिङ्गटनलाई मृत्युदण्डको संजाय दिए पछि त रिडिङअबेको अवस्था अझ दयनीय बन्दै गयो । केही समयको अन्तरालमा नै रेडिङअबे पुरै बन्द हुन पुगेको कुरामा हामी इतिहास साक्षी रहेको पाउँदछेों ।सार्वजिक रुपमा हेर्नको लागि खुल्ला गरिएको ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको यस रेडिङअबे (मठ)को अवशेषको संरक्षकत्व यहाँको स्थानिय नगरपालिका र केन्द्रीय सरकार दुबैले ग्रहण गरेको पाउँदछेों ।
वीर सैनिकहरुको समझनामा सिंहको सालिक
सन १८७८ देखि १८८०को समयमा अङ्ग्रेज र अफगानिस्तानी बीचको युध्दमा ६६ अेों बर्कशायर रेजिमेण्टका ३२९ जना सैनिकहरुले वीरगति प्राप्त गरेका समझनामा बर्कशायर काउण्टी स्थित रेडिङ शहरको फोरवरी गार्डेनमा मैवान्डको युध्दको झझल्को दिने गरी एउटा ठूलो सिंहको मूर्ति स्थापना गरिएको छ । देशका लागि मरीमेटने देशभक्तहरुको समझनामा स्मारक बनाउने बेलायतीहरुको पहिले देखिको परम्परा अनुकरणीय छ । तर हाम्रो नेपालमा वास्तविक सहिदलाई सहिद घोषणा गर्न लाज लाग्ने र ऐतिहासिक एवं पुरातात्विक महत्वका वस्तुहरुको अस्तित्व नामेट नै गर्ने परम्परा दु:खादायी छ किन नभन्ने ? हाम्रै अगाडि हाम्रा पार्टीका नेताहरुले जनयुध्दको नाउँमा नेपाल एकीकरणका अभियानका राष्ट्रिय विभूतिहरु एवं शहिदहरुको शालिक ढाल्ने र अाफ्नो धर्म संस्कृति मेटाउन शोल्टी होटल पुगेर होलीवाईन कार्यक्म उद्घाटन गर्ने अनि होलीवाईनमै रमेको देख्दा हामी स्वयंलाई लाज लागेर अाएको छ ।
रेडिङ विश्वविद्यालय हिजो र आज
सन १८९२मा क्राईष्ट चर्च , अक्सफोर्डको उपशाखाको रुपमा स्थापना भएको रेडिङ विश्वविद्यालय अहिले सार्वजनिक विश्व विद्यालयको रुपमा सन्सारभर ख्याति कमाएको छ । देश विदेशका विद्यार्थिहरु यस विश्वविद्यालयमा विविध विषयमा अध्ययन एवं अनुसन्धान गर्न अाउने गर्दछन् । राजा जर्ज पाँचेोंले यहाँ अध्ययन तथा अनुसन्धान गर्न अाउने विद्यार्थीहरुलाई विश्वविद्यालय स्वयंले डिग्री प्रदान गर्ने अनुमती प्रदान गरे तव यस विश्वविद्यालयले अाफ्नो कार्यक्षमता अकल्पनीय हिसावले वृध्दि गर्यो । अध्ययन एवं अनुसन्धान क्षमताको अाधारको कसेोटीमा राखेर हेर्दा अाज बेलायतमा सञ्चालित १५४ वटा शैक्षिक संस्थाहरुमध्ये यस विश्वविद्यालयले अाफुलाई १९ अेों स्थानमा राख्न सफल भएको छ । राज्य प्रथम विश्व युध्द र द्वीतिय विश्व युध्दको चपेटामा परेको समयमा यस शैक्षिक संस्थाले बिट्रिस सरकारलाई अफ्नो भवन अस्पतालको रुपमा प्रयोग गर्न दिएको सत्य इतिहास छर्लङ्ग देख्न पाईन्छ । बर्कशायरको रेडिङमा अवस्थित उक्त युनिभर्सिटि अहिले पनि युध्द सङ्ग सम्बन्धित भूमिगत सुरुङमार्गहरु भेटिन्छन् । अफगानिस्तानका युध्दमा खटिएका घाईते भएका सैनिक जवानहरुलाई यहीं ल्याएर सघन उपचार गरिएको हुनाले यस विश्व विद्यालयको प्राङ्गण भित्रै रिडिङ युध्द स्मारक घडी धराहरा बनाईएको छ जुन धराहराको परिरुप हरवर्ट मरयोनले गरेका थिए ।

थेमस र केननेट नदीहरु सङ्ग रेडिङ शहरको साईनो
थेमस र केनेटको मिलन बिन्दु रेडिङ सेण्टर नजिकै पर्दछ । अाज भन्दा धेरै वर्ष पहिला देखि यहाँका वासिन्दा र थेमस नदीको गहिरो सम्वन्ध गाँसिएको छ । कतिपय अङ्ग्रेजहरुका ठूलाठूला बस्तीहरु पनि यिनै दुई नदीका किनारमा स्थापना गरिएका छन् । मन्दधारमा बग्ने यिनै नदीहरुमा यहाँका वासिन्दाहरुले अाफ्ना अत्यावश्क सामानहरु अोसारपसार गर्दथे । थेमस नदी र यसका सहायक नदीहरु नै जलमार्ग र डुङ्गा नै यातायातको प्रमुख साधन मानिन्थ्यो । अाजको सन्दर्भमा यातायतका साधनमा रेल , ट्रक , लरी , हवाई जहाजहरुको प्रयाप्त पहुँच भएता पनि सामान ढुवानीका लागि अझै पनि यहाँका वासिन्दाहरु जलमार्गलाई नै बढी प्रयोग गर्न रुचाउँछन् । पानी मानव जीवनको अमूल्य प्राकृतिक सम्पति हो । हामी हाम्रा गण्डकी , कोशी , कर्णाली , गङ्गा र सरस्वतीलाई जति पवित्र मान्दछेों बेलायतीहरु पनि त्यति नै थेमस नदीलाई ईश्वरको वरदानको रुपमा सम्झने गर्दछन् । मध्य युग देखि नै बेलायतीहरुले थेमस र यस्का सहायक नदीहरुमा प्रशस्त क्यानल बनाएर अावस्यक सामान ढुवानी गर्न सकिने जलमार्गहरु तयार गरेका थिए । यहीकारण नदीका किनार- किनारमा बेलायती नागरिकहरुको बाक्लो बस्ती रहन गएको होला भनी सहजै अनुमान गर्न सकिन्छ ।
रेडिङका सङ्ग्रहालय र पुस्तकालय
हाम्रै घर अागनमा भेटिने प्राकृतिक जल तथा स्थल सम्पदा, हाम्रा पूर्वजहरुले परापूर्व काल देखि अनुशरण गर्दै अाएका धार्मिक , साँस्कृतिक , राजनैत्तिक प्रणालीहरु हाम्रा अाफ्नै मेोलिक परम्परामा अाधारित जीवनशैली , कृषि व्यवसायमा प्रयोग हुने परम्परागत तथा अाधुनिक कृषि अेोजार र खेती गर्ने तेोर तरिकाहरु , अाफ्ना सुरक्षाका लागि बनाईएका हात हतियार , अाफु बसोबास गरेका थातथलोहरुका चित्रकला , ऐतिहासिक , पुरातात्विक एवं दूर्लभ र उपयोगी बस्तु तथा सामाग्रीहरुलाई सङ्ग्रह गरी संरक्षित गर्नु नै सङ्ग्रहालयको मूल ध्येय हो । स्कटल्याणेड, वेलस , अायरल्याण्ड र ईङ्गल्याण्ड हरेक शहरहरुमा सङ्ग्हालय र पुस्तकालय देख्न पाई्न्छ । हाल इङ्गल्याण्डके बर्क शायरमा पर्ने रेडिङ शहरका पनि यहाँका स्थापित टाउनहल , रेडिङ विश्वविद्यालय, अार्ट ग्यालरी , क्याभरसम चर्चफेटे र प्रकृति प्रदत्त खुल्ला संग्रहालयहरुले प्रतिनिधत्व गर्दै अाईरहेका छन् । नेपाली समाजमा भने सङ्ग्रहालय स्थापना गर्नमा सरकार र जनसमुदाय दुबैले त्यति चासो लिएको देखिएन तर बेलायतका हरेक टोल मठ मन्दिर , चर्च , शैक्षिक संस्था , क्लव जनसमुदायहरु सङ्ग्रहालय स्थापनाका साथ साथै अध्ययन गर्नेहरुको लागि पुस्तकालयको व्यवस्थापन गर्नमा सक्रियता देखाएको पाईयो । सङ्ग्रहालय प्रति यहाँका जनसमुदायमा रहेको चासोले हामीलाई पनि हुटहुटी जगायो । हामीले हाम्रा दाजुभाईलाई सङ्ग्रहालय एवं पुस्तकालयका महत्व बारेमा जानकारी दिई उत्प्रेरित गर्नु पर्दछ भन्ने महसुस गराएको छ ।
रेडिङ शहर र व्यासनगर दमौलीबीचका समानता
रेडिङ युनाईटेड किङ्डमको बर्कशायर जिल्लाको एउटा शहर हो भने दमेोली नेपालको तनहुँ जिल्लाको सदरमुकाम एवम् एउटा स्थानीय नगरपालिका हो । दमेोली सेती , मादी ,व्यास , साँगे र छाब्दी नदीहरुको बेनीमा अवस्थित छ भने रेडिङ थेमस र केनेट नदीको सङ्गममा रहेको छ। दुवै ठाउँ सरस्वतीले बास गरेक थलाहरु हुन् । जसरी देमेोली महर्षि वेदव्यासको जन्म एवं तपोभूमिका कारण प्रशिध्द छ त्यसरी नै रेडिङ शहर पनि राजा हेनरी प्रथम र महन्त stbenedict लगायतका अादर्श पुरुषहरुको तपोभूमि र कर्मभूमिका कारण प्रशिध्दि कमाएको थलो हो । जसरी दमेोलीको व्यासगुफामा बसेर महर्षि वेदव्यासले चार वेद , अठार पुराण , अठार उपपुराण र अनेकेों स्मृति ग्रन्थहरुलाई लिपिबध्द गर्ने र महाभारत जस्ता ग्रन्थको रचना गर्ने काम गरेका थिए त्यसरी नै यहाँका महन्तहरु द्वारा हस्तलिखित ग्रन्थहरु यहाँका मठहरुमा सजाएर राखेको ईतिहास भेटिन्छ । यसकारण पनि व्यासनगरको दमेोली र बर्कशायरको रेडिङशहर धर्म, संस्कृति र शिक्षाका ज्ञानकेन्द्रहरु हुन भन्न बल मिलेको छ ।
क्षत्री समाज यु के
क्षत्री समाज यु के.ले फार्नबरोमा राखेको वार्षिक कार्यक्रममा भागलिने सुअवसर मेरो अाफ्नै कान्छो मामाका छोरा राजेन्द्र सापोटाले मिलाउनु भयो । फार्नबोरो पुग्ना साथ सर्वप्रथम युके समाजका अध्यक्ष टेक बहादुर जिसी सङ्ग भेट भयो । उहाँहरु सङ्को सेोहार्द वातावरणमा भएको कुराकानीले हामी जुन ठाउँमा जहाँ पुगे पनि अाफ्ना हकहीतकालागि सङ्गठित हुनु पर्दछ भन्ने वोध गरायो । क्षत्री समाजका अतिरिक्त यहाँ गुरुङ समाज , मगर समाज , ब्रिटिश गोरखा भूतपूवर्व सैनिक समाज लगायत अन्य समाजहरु पनि सक्रिय रहेका पाईन्छन् ।
ग्रेटर रेडिङ नेपलिज कम्युनिटिज सोसाईटी
यहि श्रावण १८ गतेका दिन ग्रेटर रेडिङ नेपलिज कम्युनिटिज समाजले राखेको ब्राईटन टुर्स प्रोग्राममा हामी पनि सहभागी अवसर जुर्यो । भ्रमणको संयोजन समजका अध्यक्ष भीमसेन खड्का गरेका थिए पनि यसलाई थप प्रभावकारी बनाउन समाजका कोषाध्यक्ष सरोज थापा , समाजका सल्लाहाकार वरिष्ठ अभिवक्ता देवेन्द्र श्रेष्ठ , प्राध्यापक बुदिबहादुर पाठक झापा , कोपिला खड्का , जिअारएनएस सोसाईटीका कार्य समितिका सदस्य उमेश निरेोला, समाजसेवी नरजङ्ग गुरुङ, सुप्रिया , सरोज , श्वेता पाठक, कमला ढकाल , बिनु खड्का र बुध्दि पाठकज्यूहरुले कार्यक्रमको सहजीकरण गरेका थिए । सात समुन्द्र पारीको युके निवासी नेपालीहरु एक-अापसमा मिलेर सन २००३ देखि हाल सम्म तीर्थ यात्रा , पिकनिक, पर्यटकीय भ्रमण, नेपाली तीज गीत एवं नाच ,रेडिङ भलिवल , रेडिङ हकी र रेडिङ फुटवल कप जस्ता विविध प्रतियोगिताहरु कोरोनाको कहरले विश्वलाई पिडा दिईरहेको समय बाहेक अरु वर्षहरुमा निरन्तर कार्यक्रम सञ्चालन गर्दै अाएको पाईयो ।
अन्त्यमा बेलायतको भ्रमणका अध्ययनले हाम्रा पूर्खाहरुले अप्नाएका धर्म, संस्कृति , संस्कार , रीतिरिवाजहरु हाम्रा अमूल्य सम्पदाहरु हुन भन्ने पुष्टी गरेको छ । विभिन्न समयकालमा हाम्रा पूर्वजहरुले अप्नाएका मार्गहरुलाई यथोचित स्थानमा सङ्ग्रह गरी हामीले वर्तमान र भावि पुस्तामा हस्तान्तरण गर्नु पर्ने पाठ सिकाएको पाउँदछेों ।