तनहुँ : तनहुँको भीमाद नगरपालिका–९ भाटडाँडाका रुद्रबहादुर क्षेत्रीले धान गोडमेल सकिसक्नुभयो । युरिया मल हाल्नलाई नजिकका बजार भीमाद र दुलेगौडा धाउनुभयो । उहाँलाई सात किलो युरिया आवश्यक थियो तर कतै पनि पाउनुभएन । यतातिर नपाएपछि काठमाडौबाट मगाएको उहाँले बताउनुभयो ।
‘धेरै चाहिएको पनि होइन, सात किलो जति हो । त्यति मल खोज्दै कता कता पुग्ने हो ?,’ उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘सजिलै मल त कहिल्यै नपाईने भो ।’ उत्पादन बढाउने हो भने किसानलाई सरकारले सहजै मल उपलब्ध गराउनुपर्ने उहाँ बताउनुहुन्छ ।
यसपाली समयमै पानी प¥यो । अध्ययन र रोजगारीको शिलाशिलामा शहर झरेका धेरै कोरोना सङ्क्रमणबाट सुरक्षित हुने ठान्दै गाउँ फर्किए । खेतबारीमा काम गर्ने युवा जनशक्ति अभाव भएन । तसर्थ किसानले बेलामै धान रोपे । जेठ अन्तिमतिर रोपेको धान पसाउने बेला हुन लाग्यो । तर, मलको अभाव बेस्सरी छ । ‘धान पसाउन आट्यो । मल राख्नलाई बजारमा कतै पाईदैन । सरकारले के हेरेर बस्याछ कुन्नी’ रुद्रबहादुरले भन्नुभयो ।
यो तनहुँको मात्र समस्या नभई राष्ट्रिय समस्या हो । हरेक वर्ष किसानले मलको अभाव खेप्दै आएका छन् । बेलैमा मल नहुँदा रािष्ट्रय रुपमै उत्पादनमा ह्रास आउछ । तर, जहिले यही समस्या दोहोरिन्छ ।
व्यास नगरपालिका–११ पोल्याङका किसान राजेन्द्र पौडेल धान र तरकारी खेतीमा हाल्नलाई युरिया मल नपाउँदा चिन्तामा हुनुहुन्छ । ‘खेतबारीमा दुई पटक मल राख्ने बला भयो, कहीँकतै पाइँदैन । एक पटक समेत मल नहाल्दा खेती बिग्रिने डर भयो,’उहाँले भन्नुभयो ।
उहाँलाई ५० किलो मल आवश्यक छ । बजारमा ५ किलो पाउन समेत धौ धौ परेको उहाँले बताउनुभयो । लुकीछिपी भारतबाट ल्याएर कहीकतै व्यापारीले चर्को मूल्यमा किसानलाई बेच्ने गरेपनि मलको कारोबार गर्ने कृषि सामग्री कम्पनी लिमिटेड तनहुँ शाखा र मातहतको सहकारीमा भने नपाइएको पौडेलले बताउनुभयो ।
‘गोडमेल गरेपछि समयमै मल राख्दा उत्पादन राम्रो हुन्थ्यो । उत्पादन बढी भए किसानलाई हौसला थपिन्छ । बेलामा मल नपाएपछि उत्पादन हुँदैन, त्यसपछी कहाँबाट कृषिमा लाग्ने जाँगर चल्छ र,’ पौडेलले भन्नुभयो ।
यो तनहुँको मात्र समस्या नभई राष्ट्रिय समस्या हो । हरेक वर्ष किसानले मलको अभाव खेप्दै आएका छन् । बेलैमा मल नहुँदा रािष्ट्रय रुपमै उत्पादनमा ह्रास आउछ । तर, जहिले यही समस्या दोहोरिन्छ । समृद्धिका लागि कृषि नारामै सीमित भएको पौडेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘नारामा कृषिलाई प्राथमिकता दिईन्छ । न बेलामा बीउ पाइन्छ, न मल । उत्पादित वस्तुको बजार ग्यारेण्टी छैन् ।’
समयमै मल उपलब्ध गराएमा सहुलियत दिन नपर्ने उहाँले बताउनुभयो । वर्षेनी किसानलाई मलको अभाव हुने भएपछि सरकारले समयमै प्रकृया पु¥याएर खरिद गर्नुपर्ने पौडेलको सुझाव छ ।
कृषि सामग्री कम्पनी लिमिटेड तनहुँले अघिल्लो आर्थिक वर्षको अन्तिम चौमासिकमा युरिया ५२०.३५० मेट्रिक टन र डिएपी ४८९. १ मेट्रिक टन विक्री गरेको जनाएको छ । कम्पनीमार्फत् तनहुँका ७८, लमजुङका ३६ र गोरखाका ४ सहकारीले मल विक्री गर्दै आईरहेका छन् । किसानले चैते धान रोपेदेखि असारे धान रोप्ने बेलासम्म विक्री भएको मलको परिणाम हो यो । धान रोप्ने बेलामा डिएपी र गोड्ने बेलामा युरिया मल हाल्ने गरिन्छ ।
अहिले किसानलाई धानमा हाल्न आवश्यक युरिया अभाव भएको कम्पनीका प्रमुख बलबहादुर पन्थले बताउनुभयो । वर्षेनी मलको अभाव हुँदै आएपनि पन्थले यसपाली भने लकडाउनका कारण मल अभाव भएको जानकारी दिनुभयो । ‘दुई महिनादेखि युरिया मल कत्ति पनि छैन, मल खरिदको प्रकृया शुरु हुनेबेला लकडाउन भयो । समयमा टेन्डर प्रकृया हुन पाएन । त्यसैले आउन ढिलाई भएको हो,’ उहाँले भन्नुभयो । उहाँका अनुसार प्रकृया पु¥याएर मल ल्याउन अझै तीनदेखि पाँच महिना समय लाग्नेछ । मल आउदासम्म युरियाको सिजन सकिन्छ । अबको दुई महिनामा किसानाले धान थन्क्याउने बेला हुन्छ ।
जहिले अभाव हुने भएकाले रासयनिक मलको विकल्प खोज्नुपर्ने किसानहरु बताउँछन् । तर, धान खेती गर्दा बढी उत्पादन लिन रासायनिक मल नभई नहुने माटो तथा मल परीक्षण प्रयोगशाला पोखराका वरिष्ठ माटो विज्ञ सुनिल पाण्डेले बताउनुभयो ।
‘धान खेतीमा प्राङ्गारिक मल मात्र हालेर हुँदैन, रासायनिक मल पनि चाहिन्छ,’ उहाँले भन्नुभयो, ‘धानलाई आवश्यक नाइट्रोजन रासायनिकको तुलनामा प्राङ्गारिक मलमा कम हुन्छ ।’
कृषि ज्ञान केन्द्र तनहुँका अनुसार जिल्लामा १२ हजार २ सय ३० हेक्टर क्षेत्रफल धान खेती योग्य जमिन छ ।