तनहुँ/तनहुँको म्याग्दे गाउँपालिकाले कृषकलाई बाँदर भगाउने उपकरण प्रदान गरेको छ । गाउँपालिकाले बाँदर प्रभावित क्षेत्रका कृषकलाई निःशुल्क रुपमा उक्त उपकरण प्रदान गरेको हो ।
गाउँपालिकाका सात वटै वडाका कृषकलाई ९० वटा उपकरण वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो । गाउँपालिकाका सबै वडामा बाँदर आतङ्क बढेको र कृषकले बाँदर नियन्त्रणका लागि गाउँपालिकासँग आग्रह गरेपछि स्याङ्जाबाट ल्याएर कृषकलाई वितरण गरिएको नागिलाले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त उपकरणको मूल्य रु दुई हजार पाँच सय रहेको छ ।
“बाँदरले खेतीबाली नष्ट गरिदिएर कृषकलाई दुःख दिने गरेको छ, यहाँका कृषक बाँदर आतङ्कबाट आजित छन्,” नागिलाले भन्नुभयो, “बाँदर भगाएर खेतीबाली जोगाउन यो उपकरणले सहयोग पुग्ने विश्वास लिइएको छ ।” नागिलाले वितरण गरिएको उक्त उपकरण कृषकले सामूहिक रुपमा प्रयोग गर्नेछन् ।
नागिलाले उपकरण प्रदान गरिएका सबै कृषकलाई यसको प्रयोग गर्ने तरिकाबारे प्रशिक्षण दिइएको जानकारी दिनुभयो । “सबैलाई अहिले वितरण गर्न सकेनौ, वितरण गरिएका उपकरण कृषकले पालैपालो प्रयोग गर्न सक्छन्,” उहाँले भन्नुभयो, “प्रयोग गर्न सजिलो भएका कारण कृषकले सहजै उक्त उपकरण पड्काउन सक्छन् ।”
उक्त उपकरणमा केरा तथा विभिन्न फलफूल पकाउन प्रयोग गरिने ‘क्याल्सियम कार्बोहाईड’ र पानीको मिश्रण राखेर पछाडिबाट ग्यास लाइटरको सहायताले आगो लगाएपछि ठूलो आवाजमा पड्किदा बाँदर भाग्ने बताइएको छ । गाउँपालिकाले निःशुल्क उक्त उपकरण प्रदान गरेपछि यहाँका कृषक खुशी भएका छन् । म्याग्दे गाउँपालिका–१ का कृषक एककुमार श्रेष्ठले बाँदर आतङ्क नियन्त्रणका लागि उक्त उपकरण उपयोगी हुने बताउनुभयो । “बाँदरले बारीमा पसेर सबै बाली नष्ट गरिदिन्छ, बाँदर नियन्त्रण गर्न नसक्दा हैरान भइसक्यो, गाउँपालिकाले उपकरण निःशुल्क दिएको छ, अब यसले बाँदर नियन्त्रण गर्न सकिनेमा विश्वस्त छौ ।” श्रेष्ठले भन्नुभयो । श्रेष्ठले यस प्रविधिको बारेमा समाचारमा सुनेको भएपनि गाउँपालिकाले निःशुल्क वितरण गरेपछि खुशी लागेको बताउनुभयो । “बाँदर नियन्त्रणका लागि उपकरण बनेको छ भनेर सुनेका त थियौ, गाउँपालिकाले नै दिएपछि यहाँका कृषक खुशी छन्,” उहाँले भन्नुभयो ।
म्याग्दे गाउँपालिका–५ का कृषक राजन आलेले गाउँपालिकाले प्रदान गरेको उपकरणले कृषकलाई कृषि क्षेत्रमा लाग्न हौसला मिल्ने बताउनुभयो । “बाँदरले बाली खाइदिएर कृषकलाई तनाव बनाएको छ, अब यो उपकरणले बाँदर नियन्त्रणमा आउँछ की भन्ने आशा जगाएको छ,” उहाँले भन्नुभयो । उक्त उपकरण पड्काउन सजिलो भएकाले सबै कृषकले सजिलै यसको प्रयोग गर्न सक्ने आलेले बताउनुभयो ।
म्याग्दे गाउँपालिका–२ का कृषक बुद्धिबहादुर मगरले बाँदरले दुःख दिएपछि दिनभर बारी कुरेर बस्नुपर्ने बाध्यता रहेको बताउनुभयो । गाउँपालिकाबाट पाएको उपकरणले बाँदर भाग्ने भएपछि अब भने सहज हुने आशा पलाएको उहाँले बताउनुभयो ।