बिरुवा उत्पादनको ‘हब’ बन्दै तनहुँ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • फिचर

    बिरुवा उत्पादनको ‘हब’ बन्दै तनहुँ

    कृष्ण न्याैपाने

    ३ श्रावण २०७७, आईतवार

    तनहुँ/ तनहुँ जिल्ला बिरुवा उत्पादनको हबको रुपमा विकास भइरहेको छ । गण्डकी प्रदेशका एघार जिल्लामा रहेका डिभिजन वन कार्यालयमध्ये तनहुँले सबैभन्दा बढी बिरुवा उत्पादन गर्ने गरेको छ ।

    डिभिजन वन कार्यालय तनहुँले जिल्लाका विभिन्न स्थानमा रहेका नर्सरीमा बिरुवा उत्पादन गरेर जिल्लाभित्र र बाहिर वितरण गर्ने गरेको कार्यालयका प्रमुख केदार बरालले जानकारी दिनुभयो । “कार्यालयले उत्पादन गरेका बिरुवा जिल्लाभित्रका सर्वसाधारणलाई त निःशुल्क वितरण गरि नै रहेको छ, तर यो वर्ष भने जिल्ला बाहिर पनि वितरण गर्न सफल भयौ,” बरालले भन्नुभयो, “त्यसकारण तनहुँ बिरुवा उत्पादनको हबको रुपमा विकसित भइरहेको छ ।”

    डिभिजन वन कार्यालय तनहुँले यो वर्ष ८ लाख ८८ हजार बिरुवा उत्पादन गरेको छ । सङ्घीय सरकार, प्रदेश सरकार, तनहुँ जलविद्युत आयोजनाको आर्थिक लगानीमा कार्यालयले ११ स्थानमा बिरुवा उत्पादन गरेको छ । बिरुवा उत्पादनका लागि तनहुँ जलविद्युत आयोजनाले पनि वन कार्यालयलाई आर्थिक सहयोग गरेको छ ।

    बरालका अनुसार तनहुँ जलविद्युत आयोजनाले ४ सय १६ हेक्टर वन क्षेत्र डुबानमा पार्ने भएकाले आयोजनाले उक्त रुख काटे बापत बिरुवा रोपण गर्नुपर्ने प्रावधान रहेको छ । “प्रति रुख काटे बापत २५ बिरुवा उत्पादन गरेर संरक्षण गर्नुपर्ने दायित्व आयोजनाको हो, तर आयोजनाले उक्त काम आफैले नगरेपछि वन कार्यालयलाई पैसा प्राप्त भएको थियो,” बरालले भन्नुभयो, “उक्त रकमबाट ५ लाख ३० हजार बिरुवा उत्पादन भएको छ ।”

    डिभिजन वन नर्सरीमा सङ्घीय सशर्त अनुदानमार्फत् ५० हजार, प्रदेश सरकारमार्फत् १ लाख, वन विभागबाट ९० हजार, व्यास सव डिभिजन नर्सरीमा सङ्घीय सशर्त अनुदानमार्फत् ६८ हजार, तनहुँ जलविद्युत आयोजनामार्फत् ५० हजार, म्याग्दे सव डिभिजन नर्सरीमा सङ्घीय सशर्त अनुदानमार्फत् ५० हजार, तनहुँ जलविद्युत आयोजनामार्फत् ५० हजार, ऋषिङ सव डिभिजन नर्सरीमा तनहुँ जलविद्युत आयोजनामार्फत् ५० हजार, भीमाद सव डिभिजन नर्सरीमा तनहुँ जलविद्युत आयोजनामार्फत् ५० हजार, शुक्लागण्डकी सव डिभिजन नर्सरीमा तनहुँ जलविद्युत आयोजनामार्फत् ५० हजार, भानु सव डिभिजन नर्सरीमा तनहुँ जलविद्युत आयोजनामार्फत् ५० हजार, विमलनगर सव डिभिजन नर्सरीमा तनहुँ जलविद्युत आयोजनामार्फत् ५० हजार, आँबुखैरेनीमा तनहुँ जलविद्युत आयोजनामार्फत् ३० हजार, देवघाट सव डिभिजन नर्सरीमा तनहुँ जलविद्युत आयोजनामार्फत् ५० हजार र निजी नर्सरी शुक्लागण्डकीमा तनहुँ जलविद्युत आयोजनामार्फत् एक लाख बिरुवा उत्पादन गरिएको छ ।

    उत्पादन भएका बिरुवामध्ये जिल्लाभित्र ३ लाख ८४ हजार ९ सय र जिल्ला बाहिर ३४ हजार १ सय वितरण गरिएको छ । कार्यालयमा अझै ४ लाख १९ हजार बिरुवा वितरण गर्न बाँकी छ ।

    कार्यालयले जिल्ला बाहिर पोखरा महानगरपालिकालाई २ हजार ७ सय ५०, डिभिजन वन कार्यालय कास्कीलाई २ हजार ६ सय, डिभिजन वन कार्यालय स्याङ्जालाई ७ हजार, डिभिजन वन कार्यालय नवलपुरलाई ३ हजार ७ सय, डिभिजन वन कार्यालय गोरखालाई १० हजार ५ सय बिरुवा वितरण गरेको छ । त्यस्तै धादिङलाई ३ हजार, पर्वतलाई १ हजार, लमजुङलाई २ हजार र वन विभागलाई १ हजार ५ सय ५० बिरुवा वितरण गरेको छ ।

    कार्यालयबाट चाँप, रुदाक्ष, नारेश्वर, तेजपात, बेल, कुरिलो, कल्कीफूल, पिपल, सुगन्धकोकिला, रुख कटहर, ज्याकराण्डा, श्रीखण्ड, गुलाब, जामुना, गुलमोहर लप्सी, अम्बा, टाँकी, अमला, ड्रागन फ्रुट, बडहर, सिसौ, अशोक, बकाइनो, खयर, मेगो स्टीन चिउरी, टिक, ल्यागरस्ट्रोमिया लगायतका बिरुवा वितरण गरिएको छ ।

    कार्यालयले जिल्लाका विभिन्न सामुदायिक तथा निजी वनमा वृक्षारोपणका लागि समेत बिरुवा वितरण गर्ने गरेको छ । जिल्लालाई हरियाली बनाउन र वन हराभरा बनाउन बिरुवा वितरणलाई अभियानकै रुपमा अगाडी बढाइएको डिभिजन वन कार्यालयले जनाएको छ । जिल्लाका कूल क्षेत्रफलमध्ये ८२ हजार ५ सय ४९ हेक्टर वनले ओगेटेको छ । जिल्लाभर ६ सय १७ वटा सामुदायिक वन र ४ सय ४८५ वटा कबुलियती वन रहेको छ ।