आज ३८ औँ बिपी स्मृति दिवस देश तथा विदेशमा विविध कार्यक्रम गरि मनाईँदै छ । विकासको योजना बनाउँदा झुपडीमा बस्ने किसानलाई सम्झेर बनाउनुपर्छ भन्ने मूूल मान्यता राख्ने बिपीले आफ्नो लडाइँ यहाँको गरिबीसँग छ भन्ने गर्दथे । जीवनभर आन्दोलन नै आन्दोलन, जेल, प्रवासको जीवन, पञ्चायती दबाब, अस्थिर परिवेश तथा राष्ट्रको अस्तित्व खतरा जस्ता अप्ठ्रो परिवेशमा त्यसलाई सहज, सरल र सुधार तथा समाधान निकाल्नुपर्ने बाध्यताको समयमा उनी देखा परे । निकै चुनौतिपूर्ण परिस्थितिलाई पार लगाउन उनको नेतृत्वदायी भूमिका सफल रहेको कारण बिपी हरेक नेपालीको मनमुटुमा बस्न सके र आफूलाई इतिहासमा एक सफल व्यक्तित्वको रूपमा स्थापित गराए । जीवनमा विचार, वाणी र व्यवहार तिनै कुराले आफूलाई दुरुस्त राख्ने तथा ईमानदार प्रयत्न नै सफलताको कसी हो भन्ने दृष्टिकोण बोक्ने बिपी नेपालका जननिर्वाचित प्रधानमन्त्री हुन् ।
२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रद्वारा चालिएको शाही कदम पछि आफ्ना सहयोगी गणेशमान सिंह सहित थुनामा रहेका बिपी ८ वर्षको जेल जीवनपछि २०२५ साल कात्तिक १४ गते रिहा भए । बिपी जेलमा रहँदा उनको अनुपस्थितिमा नेपाली काङ्ग्रेसको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका सुवर्ण शमशेरले केही नरम नीति लिए । राजालाई भक्तिपूर्वक सहयोग गर्ने वक्तव्य दिँदा आलोचनामा परेका तथा आत्मसमर्पणको आरोप लागेपनि त्यही नरम नीतिका कारण जेलमा रहेका तथा निर्वासमा रहेका नेताहरूलाई क्षमादान दिलाउनमा त्यसले सहयोग ग¥यो । बिपी जेलबाट छुटेपछि दुईजनाबीच कसरी अगाडी बढ्ने भन्नेमा विवाद भयो । सुवर्णको नरम नीतिमा बिपी सहमत हुन सकेनन् र सशस्त्र सङ्घर्षको आवश्यकता महशुससँगै भारत पसे र २०२९ सालबाट भारतमै बसेर सशस्त्र सङ्घर्ष सञ्चालन गरे । सङ्घर्षका क्रममा विराटनगर बम काण्ड, विमान अपहरण काण्ड, हरिपुर काण्ड लगायतका ठाउँमा सानाठूला घटना घट्न पुगे । धेरै जनाले शहादत प्राप्त गरे । परिवर्तनको आवश्यकता महशुस गरेर गरिएको सङ्घर्षले सफलता पाउन नसक्ने जस्तो देखियो । सङ्घर्षकै समयमा राजा महेन्द्रको देहावसान र युवराज वीरेन्द्रको राज्याभिषेक सम्पन्न भयो । वीरेन्द्रबाट केही सुधार र परिवर्तन होला भनेर बिपीले कुनै विरोध र अवरोध गरेनन् । तर सुधारको सट्टा उल्टै काङ्ग्रेसलाई जनसम्पर्कबाट टाढा राख्ने र पञ्चायतलाई सुदृढ पार्ने काम गरियो । सुवर्ण शमशेरको सिफारिसमा श्रीभद्र शर्मालाई संविधान सुधार सुझाव आयोगको सदस्य बनाइएपनि त्यसले सहज वातावरण ल्याउन सकेन । त्यसबेला नेपालमा मात्रै नभई भारतमा पनि परिस्थिति असहज बन्दै गएका कारण भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले आपतकालिन स्थितिको घोषणा गरेकी थिइन् । त्यसैबेला सिक्किमलाई भारतमा गाभियो भने बङ्गलादेश पाकिस्तानमा समेत अस्थिरता बढ्यो । छिमेकी देशको अस्थिरताको असर एकातिर नेपालमा प¥यो भने बिपीलाई पनि भारतबाट सङ्घर्ष गर्न अप्ठ्यारो भयो । प्रजातन्त्र पुनस्र्थापनाको सङ्घर्षकै बेला पञ्चायती पक्ष भने सुधारको सट्टा दमनको नीति तर्फ उन्मुख भइरह्यो । देशको असहज परिस्थिति र राष्ट्रिय अस्तित्व सङ्कटमा पर्ने खतरा बढिरहेका बेला बिपीले सशस्त्र सङ्घर्षको आन्दोलनलाई परिवर्तन गर्ने विचारसँगै मेलमिलापको नीति अगाडी सारेर नेपाल फर्कने सोच बनाए । त्यसबेलाको परिस्थिति असहज भएको र विभिन्न गम्भीर मुद्दाहरू बिपीमाथि लगाइएकाले उनलाई नेपाल फर्कन सहज थिएन । तरपनि सबै जोखिम उठाउँदै उनी नेपाल फर्के । भारतमा लामो समयसम्म बस्दा उनले भारतीय आन्दोलनमा समेत काम गरेका तथा अन्तर्राष्ट्रिय सम्पर्क समेत स्थापित गरेकाले बिपीलाई विश्वमाझ चिनाउन र चिनिन सजिलो थियो । राजालाई पञ्चायती निरङ्कुशताबाट प्रजातन्त्रको पक्षमा उभ्याउने उद्देश्यले अगाडी ल्याएको मेलमिलाप नीति तथा प्रजातन्त्र प्राप्तिको लडाइँलाई उचाइमा पु¥याउन चनाखो भएर राजनीति गर्नुपर्ने उनले ठाने । यस हिसाबबाट उनले आफूलाई देशभक्त राष्ट्रवादी नेताको रूपमा स्थापित गर्दै देशमा परेको असहज र जटिल परिस्थितिलाई समाधान गर्न बिपीले हिंसात्मक आन्दोलन छाडी मेलमिलापको नीति ल्याए । उनको मेलमिलापको नीतिलाई सम्पूर्ण देश विदेशमा रहेका नेपालीहरूले उच्च मूल्याङ्कन गर्दै अहिले पनि उनीप्रति श्रद्धा र सम्मान अर्पण गर्दै आएको छ । विसं १९७१ साल भाद्र २४ गते जन्मेका नेपाली राजनीतिका शिखर पुरुष विशेश्वरप्रसाद कोइरालाको विसं २०३९ साल साउन ६ गते आजकै दिन ६८ वर्षको उमेरमा दुखद निधन भएसँगै उनको सम्झनामा हरेक वर्ष स्वदेश तथा विदेशमा नेपाली काङ्ग्रेसले विविध कार्यक्रम गरि स्मृति दिवस मनाउँदै उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै आइरहेको छ । बिपीले देखाएको असल मार्गनिर्देशनमा हिँड्न सकेमा मात्रै उनीप्रतिको सच्चा श्रद्धासुमन हुनेछ, अस्तु ।