तनहुँ/विसं २०२५ सालमा तनहुँको म्याग्दे गाउँपालिका–२ थानसिङ गाउँबाट छलिमाया विकको परिवार म्याग्दे गाउँपालिका–१ ठूलाचौर आएको थियो । त्यसबेला यहाँ उहाँको र अर्को एक घर परिवारको मात्रै बसोबास थियो । पछि बिस्तारै अन्य केही दलित समुदायका मानिसहरू पनि थपिएपछि ठूलाचौरमा दलित बस्ती नै बन्यो ।
समुन्द्री सतहबाट करीब दुई सय मिटर उचाइमा रहेको यो बस्तीमा शुरु देखिकै मुख्य समस्या भनेको खानेपानी र बिजुली थियो । प्रत्येक चुनावमा राजनीतिक दलको मुख्य प्रतिबद्दता र आश्वासन पनि यिनै कुरामा हुन्थे । तर दलको प्रतिबद्दता कहिल्यै पूरा भएन ।
गाउँमा बिजुली र पानीको आशमा यहाँका स्थानीयवासीले धेरै वर्ष बिताए । बल्लतल्ल बिजुली भने केही वर्ष अगाडी बल्यो, तर पानीको समस्या भने उस्तै । बस्ती केही उचाईमा भएका कारण खानेपानीको मुल नजिकै थिएन ।
छलिमाया विगतको दुःख सम्झदै भन्नुहुन्छ, “बस्ती भन्दा केही पर पानीघट्टा भन्ने कुवामा पुगेर पानीको जोहो गर्नुपथ्र्यो, त्यही कुवामा पनि कहिले पानी सुक्ने र कहिले भल पस्ने हुँदा निकै सास्ती थियो । पानीकै लागि घण्टौ समय खर्चिनुपर्दा अन्य काममा बाधा परिरहेको थियो ।”
तर ५२ वर्षपछि घरमै खानेपानीको धारा पुग्दा ८१ वर्षीया छलिमायालाई सपना जस्तै लागेको छ । “घामपानी नभनी पचासौ वर्ष घण्टौ लगाएर पानी बोकेको दुःखका दिन अब गए,” छलिमायाले भन्नुभयो, “अहिले त घरमै धारा आइपुगेको छ, यो भन्दा खुशी अरु के होला र ।” आफूले जीवनभर पानी बोक्दै छोरानाती हुर्काएको भएपनि अबका पुस्ताले भने सुख पाउने छलिमायाले बताउनुभयो ।
बिहान बेलुका पानीको जोहो गर्दै दिन बित्ने यहाँका स्थानीयवासीको अहिले दैनिकी फेरिएको स्थानीयवासी वीरबहादुर विकले बताउनुभयो । “खानेपानीको जोहो गर्नुपर्दा घरको काम समयै सक्न समस्या पथ्र्यो, केटाकेटी विद्यालय समयमै पुग्न सक्दैनथे,” वीरबहादुरले भन्नुभयो, “विगतमा यहाँका वासिन्दाले भोगेको दुःख अबको पुस्ताले भोग्न पर्दैन, अहिले त गाउँकै मुहार फेरिए जस्तै भएको छ ।”
खानेपानीको माग गर्दै स्थानीयवासी विगतमा पटक–पटक सम्बन्धित निकायमा डेलिगेशन नगएका होइनन्, तर मूलको समस्या देखाउँदै स्थानीयको माग पूरा गर्नेतर्फ सम्बन्धित निकायले ध्यान दिन सकेन । “गाउँकै अगाडी गुणादी खोला पानी बगिरहेको देखिन्थ्यो, तर गाउँ काकाकुल थियो,” वीरबहादुरले भन्नुभयो ।
म्याग्दे गाउँपालिकाको रु ९ लाख २५ हजार, गण्डकी प्रदेश सरकारको रु दुई लाख ५० हजार र स्थानीय उपभोक्ताको रु ६ लाख २५ हजार गरी कूल रु १८ लाखको लागतमा ठूलाचौरका घर–घरमा धारा जडान गरिएको छ ।
तीर्थेखोला हात्तीखोर खानेपानी समितिका अध्यक्ष कृष्ण खनालका अनुसार यहाँका ३७ घरमा धारा जडान गरिएको छ । योजनाबाट यहाँका करीब तीन सय लाभान्वित भएका छन् । योजनाबाट ठूलाचौर दलित बस्तीमा दुई÷दुई हजार लिटरको ट्याङ्की निर्माण गरी लिफ्टिङ प्रविधिबाट खानेपानी पु¥याइएको छ ।
यहाँको खानेपानी समस्या समाधानका लागि विसं २०६७ सालमा बाबुराम खनालको अध्यक्षतामा खानेपानी समिति दर्ता गरिएको थियो, तर पनि योजनाले लामो समयसम्म गति लिन सकेन । पछि विसं २०७४ सालमा प्रारम्भिक योजना शीर्षकमा म्याग्दे गाउँपालिकाबाट रु एक लाख बजेट विनियोजन भएको थियो । उक्त समयमा हिमा खनाल समितिको अध्यक्ष हुनुहुन्थ्यो भने त्यस अगाडी नारायणदत्त खनाल ।
लगत्तै विसं २०७५ सालमा म्याग्दे गाउँपालिकाबाट पुनः योजनाका लागि रु चार लाख बजेट विनियोजन भयो । उक्त रकमबाट खानेपानीको कामले केही गति पायो । त्यसबीचमा समितिको नेतृत्वमा कृष्णराज खनालले गर्नुभयो । योजनाकै लागि विसं २०७६ सालमा पुनः गाउँपालिकाबाट रु चार लाख २५ हजार बजेट विनियोजन भएको थियो ।
सोही वर्षमै गण्डकी प्रदेश सांसद आशा कोइरालाको पहलमा गण्डकी प्रदेशबाट रु चार लाख बजेट विनियोजन भएको थियो । उक्त बजेटबाट दश हजार घनमिटरको खानेपानी ट्याङ्की निर्माण गरिएको समितिले जनाएकाे छ ।