पाउला त कृषिले निरन्तरता ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • सम्पादकीय

    पाउला त कृषिले निरन्तरता ?

    गाेरा मियाँ

    १३ श्रावण २०७७, मंगलवार

    विश्वभरका मानव प्राणीमा हरेक दिन महत्वकांक्षा बढ्दै जाने गर्छ । सुखका साथ आरामदायी जीवन बिताउने सपना हरकोहीले देख्नु स्वभाविक हो । परिवर्तित समयले हरेक मानव जातिलाई कहाँ कहाँ पुर्याइदिन्छ त्यो सबैले भोग्नैपर्छ । यी सबै कटु सत्य हुन् । सबै विषयका विधि, विधान र नीति हुन्छन् तर मानिसले लत्याएर एक पाइला अघि बढ्न खोजेकै हुन्छ । कसैलाई सफलता र कसैलाई असफलताको भाग्य चिठ्ठा मिलेको हुन्छ । प्रकृतिका विधि, विधान र सैद्धान्तिक नीतिलाई कसैलाई कुल्चन सक्दैन । सुखी राख्नु तथा दुःखी बनाउनु आकाश पाताल चलाउने प्रकृतिको जिम्मा हुने गर्दछ । विगत केही वषएदेखि शहर बजार केन्द्रित हुँदै आएको जनघनत्वले शहरी भूभागलाई ओगटेको छ । यातायात, शिक्षा, स्वास्थ्यको पहुँच हुने भएकाले शहरमुखी बन्न रुचाएका छन् मानिसहरु । कोहीको आफ्नो बास बस्ने घर छ भने अधिकांश परिवार डेराभाडामा लिई बस्दै आएका छन् । ग्रामीण गाउँ बस्तीबाट ठूला ठूला सपना बोकी शहर केन्द्रित हुनेको संख्या बढी मात्रामा छ । व्यापार व्यवसाय लगायत केही पेशा गरी परिवारको जीविकोपार्जन गर्न सक्ने अवसर प्राप्त हुने शहर नै हो । धेरै सुविधा सम्पन्नताले सहज हुने हुँदा जति दुःखकष्ट सहेर पनि शहर बजारमा रमाउनेको कमी छैन । कोरोना भाइरसले विश्वभर धेरै मानिसको ज्यान लिइसकेको छ । अहिलेसम्म पनि कोरोनाको निवारण हुन सकेको छैन । जसले गर्दा नेपालमा यसको सन्त्रास दिनहुँजसो बढ्ने गरेको छ । गत चैत ११ गतेदेखि लकडाउन शुरु भएसँगै भाडामा बस्दै आएकामा अधिकांश मानिसहरु आ आफ्नो गाउँ फर्किएका छन् । सबै व्यवसाय धारासायी भएपछि आफ्नै जमिनमा मिहीनेत गर्दै कृषि पेशातर्फ लागेका छन् । गाउँ फर्किएकाहरु बाँझो जग्गाहरु खनजोत गरी खेती उब्जाउ गर्न लागिपरेका छन् । आफ्नो जनिमा खेतीबाली लगाएर आत्मनिर्भर बनाउनुपर्छ भन्ने सबैमा जोश जाँगर पलाएको छ । अब आउने दिनहरुमा आम नागरिकको कृषि उत्पादनतर्फ मनोबल बढ्दै जाओस् ।