तनहुँ / म्याग्दे गाउँपालिका–६ छिर्दीबेसीका हरिबहादुर थापाले वर्षभरलाई खान पुग्ने गरी धान रोप्नुभयो । सङ्गोलमा बसेका चार भाई मिलेर करिब २५ रोपनी खेतमा रोपेको धान असार अन्तिम साता परेको अविरल वर्षासँगै म्याग्दे र छिर्दीखोलामा आएको बाढीपहिरोले बगाईदियो । कतै बगर आएर पुरिदियो ।
अधियाँ रोप्न दिएको खेतमा पनि क्षति पुगेको छ । हरिबहादुरका अनुसार १५ रोपनी बगरले पुरेको छ । १० रोपनी जतिमा खोलाले कटान गरेको छ । त्यहाँ अझै खोला बगिरहेको छ । हिलोले पुरेको केही खेत रोपेको उहाँले बताउनुभयो । ‘हिलोले पुरेको खेतमा खनजोत गरेर फेरी रोप्यौ । बगरले पुरेको खेत यसपाली रोप्ने सम्भावना छैन्,’ उहाँले भन्नुभयो, ‘एक दुई जनाले बगर फालेर सकिदैन । धेरै बगर थुप्रिएको छ ।’ उहाँले गोड्ने बेलाको धान बाढीपहिरोले बगाइदिएपछि चिन्ता थपिएको बताउनुभयो । ‘बीउ छ । अझै पन्छाएर रोपौला भन्ने लक्ष्य छ । रोपिएन भने त अर्को वर्ष परिवारलाई खान पुग्दैन,’ उहाँले भन्नुभयो, ‘अधियाँमा खेती गरेकालाई पनि मर्का परेको छ ।’
शुक्लागण्डकी–८ ढोरफिर्दीका ओमबहादुर केसीको खेतमा अझै पनि खोला हिँडिरहेको छ । बराहाखोला पसेर साढे दुई रोपनी खेतमा रोपेको धानको रोपो नै बगाएको उहाँले बताउनुभयो । ‘अझै पनि खोला हिँडिरहेको छ,’ उहाँले भन्नुभयो । धानको बीउ राख्न ढिलाई भएपछि रोपो बगाएको खेतमा पुनः रोपाई नगरेको उहाँले सुनाउनुभयो ।
असार अन्तिम सातादेखि हालसम्म पनि निरन्तर अविरल वर्षा भईरहेको छ । वर्षापछिको बाढीपहिरोले तनहुँमा ६ सय हेक्टर क्षेत्रफलमा लगाएको धान नष्ट भएको प्रारम्भिक अनुमान छ । बाढी पहिरोले तनहुँका धेरै खेतलाई बगर बनायो । मानो रोपेर मुरी उब्जाउने समयमा किसानले बगाएको पसिना बगरमा मिसियो, बाढीले बगाएको छ ।
प्रारम्भिक अनुमान अनुसार जिल्लाभर ६ सय हेक्टर क्षेत्रफलमा लगाईएको धान खेतीमा क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र तनहुँले दिएको जनाकारी अनुसार सबैभन्दा धेरै म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र भिमाद नगरपालिकामा लगाईएको धान खेतीमा पुगेको छ । व्यास नगरपालिका, भानु नगरपालिका र बन्दीपुर गाउँपालिकामा पनि क्षति पुगेको जनाईएको छ ।
प्रारम्भिक अनुमान अनुसार जिल्लाभर ६ सय हेक्टर क्षेत्रफलमा लगाईएको धान खेतीमा क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र तनहुँले दिएको जनाकारी अनुसार सबैभन्दा धेरै म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र भिमाद नगरपालिकामा लगाईएको धान खेतीमा पुगेको छ । व्यास नगरपालिका, भानु नगरपालिका र बन्दीपुर गाउँपालिकामा पनि क्षति पुगेको जनाईएको छ ।
तनहुँमा १२ हजार २ सय ८५ हेक्टर धान खेतीयोग्य जमिन छ । धान खेतीका जिल्लाका ढोरफिर्दी, तनहुँसुर, सेपाबगैंचा, चुँदीफाँट, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगे फाँट उपयुक्त मानिन्छ । यहाँका किसानले रामधान, सावित्री, मकवानपुरे १, सुख्खा २, सुख्खा ३ र ६ लगाय जातका धान लगाउने गर्दछन् ।
खोलाले कटान गरेको, रापो बगाएको र बगरले पुरेर करीब रु ९ करोड बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । बाढीले बगाएको कतिपय स्थानमा किसानले बाढी पन्छाएर पुनः रोपाइँ गरेका छन् । रोपाइँमा ढिला हुँदा उत्पादन घट्ने निश्चित छ । तर, ढिलै भएपनि छिटो पाक्ने जातका धान रोपाइँ गर्न उहाँको सुझाव छ ।
यतिबेला जिल्लाका स्थानीय तहहरु बाढीपहिरोबाट किसानलाई भएको क्षति सङ्कलन गर्दै छन् । बाढी र पहिरोका कारण बगरमा परिणत भएका खेतलाई बन्दीपुर गाउँपालिकाले भने प्रति रोपनी रु दुई हजारका दरले क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ ।
स्थानीय सरकारले बालीनालीमा हुने क्षति व्यहोर्नलाई बजेट विनियोजन गर्नुपर्ने बताउनुहुन्छ कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख तिवारी । प्रदेश र सङ्घीय सरकारले भन्दा स्थानीय सरकारले तत्काल राहत दिन सक्ने उहाँको भनाई छ । त्यसका लागि बजेट विनियोजन गर्नुपर्ने उहाँले बताउनुभयो ।
नेपालमा गत आर्थिक वर्षमा मात्रै झण्डै रु ५७ अर्बको खाद्यान्नका सामग्री आयात भएको छ । एकातिर खाद्यान्न आयातको दर वर्षेनी बढिरहेको छ, अर्कोतिर हरेक वर्षामा बाढी पहिरोले किसानले लगाएको खेती पुर्ने समस्या दोहोरिएको छ । खेतीबाली संरक्षणका लागि वैज्ञानिक र प्राविधिक उपाय खोज्नतर्फ कृषक तथा सम्बन्धित सरोकारवाला निकायको ध्यान जान आवश्यक देखिन्छ ।