परिवर्तित समयले हरेक मानिसलाई विभिन्न भोगाई भोग्न बाध्य बनाउँछ । एउटा मान्छेको शरीरले तीन हजार विमारको भार बोक्न र धान्न सक्छ भन्ने धार्मिक ग्रन्थमा उल्लेख भएको पाइन्छ । वर्षेनी नयाँ नयाँ स्वरुपमा मानव शरीरमा भाइरसको प्रवेश हुने गर्दछ । स्वास्थ्यलाई विमार गर्ने मात्र होइन की ज्यानै लिने खालका भाइरसले विगतदेखि हालसम्म संसारका सबै मानिसलाई आक्रान्त बनाएको छ । चार दशक अगाडीको एउटा कालखण्ड गुज्रिसकेको छ । सामानय झाडाबान्ता हुँदा हैजा आयो भन्ने आशंकामा काँडे रुख काटेर गाउँ गाउँमा भाजो हाल्ने चलन नै थियो । त्यसो गर्दा रोग नियन्त्रणमा आउने बूढापापाको भनाई थियो । उतिबेला खास के रोग लाग्यो किटान गर्ने न डाक्टर थिए न जाँच गर्ने साधन । नाडी छामेर, धेरैथरीका रुखका बोक्रा सिलौटामा पिनेर वैद्यहरुले उपचार विधि बनाई विरामीलाई ठकि पार्ने गर्दथे । यद्यपि आफूले उब्जाउ गरेका शुद्ध खाना, स्वच्छ हावा र परिश्रम गरी बगाएको पसिनाबाट निरोगी बन्न ठूलो मद्दत पुग्ने गर्दथ्यो ।
विगतदेखि वर्तमानसम्मको बीचमा अनेकौ थरीका नामधारी रोगले संसारभरका धेरै मानिसहरुको ज्यान लिइसकेको छ । कोभिड १९ अहिले विश्व महामारीको रुपमा फैलिएको छ । उपचार विधि र सतर्कता अपनाउँदा समेत नियन्त्रणमा नआई नेपालमा यो रोगको संक्रमण झनै बढ्दो अवस्थामा छ । सरकारले चार महिनाको लकडाउन अन्त्य गरेपछि झन् कोरोना संक्रमित थपिने क्रम बढिरहेको छ । यस्तो भयावह स्थितिमा सरकारले मात्र नभई हरेक नागरिकले आफू, घरपरिवार र समाजलाई सुरक्षित बनाउनु सबैको कर्तव्य हो । भीडभाड नगरी, हिँडडुल र अति आवश्यक किनमेल गर्दा सामाजिक दूरी कायम गर्दै सुरक्षित सामग्री प्रयोगमा जोड दिऔ ।