मानव जातिले कुनै न कुनै धर्म विश्वभर मान्ने गरेको पाइन्छ । धर्म संस्कृतिले हरेक मानव जगतलाई कुबाटो र कुसंस्कारतर्फको आपराधिक गतिविधिहरु रोक्ने काम गर्दछ । नेपालमा बहुजाति, बहुभाषी र बहुसंस्कृतिले भरिपूर्ण साझा फूलबारी हो । धार्मिक रीतिरिवाज आ–आफ्नो तरिकाले मनाउने गरेतापनि हरेक धर्मप्रति सबैको सदाचारिता उत्तिकै महत्वपूर्ण रहेको छ । अधिकांश नेपालको भूभागमा आदिवासीहरुको जनघनत्व रहेको छ । थुप्रै मौलिक पहिचान बोकेका आदिवासीहरु नै बढी छन् । भेषभूषादेखि हस्तकला र कलाकौशलतामा समेत जनजातिहरुले पहिचान बनाइसकेका छन् । संयुक्त राष्ट्रसङ्घले सन् १९९४ मा आदिवासी जनजातिका आधारभूत मानवअधिकार संरक्षण र सम्बद्र्धनका लागि विश्व आदिवासी दिवस मनाउने घोषणा गरेपछि संसारभरका आदिवासी जनजातिहरुले यस दिवस मनाउँदै आएका छन् । नेपालमा पनि आदिवासी जनजातिको अधिकार र मुद्दालाई उठान गर्ने दिनका रुपाम प्रत्येक वर्ष ९ अगष्टका दिन यस दिवस विभिन्न कार्यक्रमसाथ मनाउने गरिन्छ ।
विश्वका कुल जनसङ्ख्याको पाँच प्रतिशत रहेका आदिवासीहरुले १५ प्रतिशत भाग ओगटेका छन् । तनहुँ जिल्लामा पनि आदिवासीहरुको बाहुल्यता बाक्लै छ । विगत वर्षहरुमा निकै तामझामका साथ आदिवासी दिवस मनाउने गरिएपनि कोरोना जोखिमका कारण यस वर्ष सामान्य रुपमा मात्रै दिवस मनाउने तयारी छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसाथ गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रबद्र्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, लैङ्गिक विभेद तथा सबै प्रकारका जातीय विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागिताभूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प नेपालको संविधानले गरेको छ । संवैधानिक र कानूनी रुपमा प्राप्त आदिवासी जनजातिका सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक अधिकारको व्यवहारमा प्रयोग र रक्षा गर्दै थप अधिकारको सुनिश्चितताका लागि शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक माध्यमबाट अघि बढ्ने प्रेरणा आजका दिनबाट सबैले लिनुपर्ने अहिलेको आवश्यकता हो ।