बुबाकाे सम्झनामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    बुबाकाे सम्झनामा

    विकास खनाल

    ३ भाद्र २०७७, बुधबार

    यो छोरा बढ्ला कमाइ गर्ला दुधभात देला मलाई बुढो भइ बसौँला पलेटी कसौँला आशिष दिउँला तलाई भनेर हरेक आमाबाबुले आफ्ना छोराछोरीसँग अपेक्षा राखेका हुन्छन, सानामा आफूले थाङ्गना धोएर, को खाई को खाई गर्दै खुवाएर, रुँदा फकाएर, माया गरेर हुर्काएको छोराछोरीहरुले पछि हुर्किएर आफूलाई दूधभात अर्थात् मिठो पोषिलो खानेकुरा देलान, माया गरेर राख्लान भन्ने आशा जो सुकै आमाबुबालाई हुन्छ । बुबाको हात समातेर तोतेबोली बोल्दै लरबरिएका पाइला चाल्दै अगाडि बढेका जुनसुकै छोराछोरीको दायित्व आफू ठूलो भएपछि वृद्धावस्थामा पुगेका बुबाआमाको सेवा सत्कार र सम्मानसँगै बुढेसकालको सहारामा अर्पण गर्न सक्नुमा पर्दछ । कर्तव्यको यो जीवन स्वरुपमा बुबाआमाको महत्व धेरै छ । एउटा बच्चाले सफा र फोहर जान्दैन, लगाएको लुगामै पनि दिशापिसाब गरिदिन्छ र ती सबै फोहरहरुलाई सफा गर्दै बुबाआमाले छोराछोरीहरुलाई नुहाइधुवाई पुनः सफा कपडा लगाइदिन्छन् र त्यसरी हुर्केको बच्चाले भविष्यमा ठूलो भएर आफ्ना बुबाआमाको ख्याल राख्दछ, माया दिन्छ अनि सम्मान पनि । हाम्रो संस्कारले हाम्रो जिम्मेवारीलाई एकदमै सहज र सरल तरिकाले ब्याख्या गरिदिएको छ । हाम्रो आमाबुबा प्रतिको जिम्मेवारी हामीले वहाँहरूको हामीप्रतिको लगाव र प्रेमले झन प्रगाढ बनाउँदछ ।

    आजको दिनलाई कुशै औंशी, पितृतर्पणी औंशी तथा गोकर्णी औंशीका रुपले चिनिन्छ । औशीका दिन अर्थात् बुबाको मुख हेर्ने दिन बुबाको भौतिक उपस्थिति हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, सहितका मिठामिठा परिकारसँगै कपडा आदि उपहार दिने तथा परदेशमा हुने छोराछोरीले फोनबाटै भए पनि कुरा गरी सम्मान सद्भाव प्रकट गर्दछन् र आर्शीवाद लिने चलन छ । त्यस्तै भौतिक रूपमा अस्त भइसकेका बुबाहरुलाई छोराछोरीहरूले तस्वीर हेरेर अथवा विभिन्न शक्तिपीठ तथा पवित्र तीर्थस्थल पुगेर स्नान गरी पितृहरुको नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गरेर सम्झना गर्ने चलन छ । आमा धर्ती हुन् भने बुबा आकाश हुन् । तरपनि जति आमाको बारेमा व्याख्या हुन्छ, जति महत्व दर्शाउछौँ बुबाको कमै देखिन्छ । धार्मिक शास्त्रहरूमा पनि आमाको महत्व र महिमा जति गाइएको पाउछौँ त्यति बुबाको पाउँदैनौँ । हाम्रो जीवन सजाउन दिनरात नभनी अहोरात्र खटेर हामीलाई कर्म दिने तथा सुरक्षा दिने बुबाको मुख हेर्ने दिन आज । सन्तानका लागि कति प्रिय र मूल्यवान् शब्द बुबा, सन्तानलाई संघर्ष गर्न सिकाउने बुबा, घर खर्च र सन्तानको खुशीका लागि अनि परिवारमा सुख दिन लागिपर्ने वृद्ध बुबा, सन्तानको खुशी नै आफ्नो सफलता र आफ्नो जीवनी सम्झने उही बुबा, हो उनै बुवाको आफ्नो परिवार, समाजप्रति देखाइएको दायित्व र योगदानलाई कम मूल्यांकन गरिँदैछ आज । यही योगदानलाई माथि उकास्न र संस्कृतिको विकास गर्न लाग्नुपर्ने भएको छ अहिलेको सन्ततिले । आज एक दिन फेसबुकका भित्ताहरूमा फोटा पोष्ट्याएर मात्रै होइन, हरेक दिन हरेक क्षण हामीले बुबाआमालाई आदर गर्न सक्नुपर्दछ । अहिले कैयौं वृद्धावस्थामा पुग्नुभएका बुबाआमाहरू वृद्दाश्रममा पुग्न परेको छ । शरीरमा तागत हराएपछि, छाला चाउरिएपछि, स्मरण शक्ति हराएपछि, आँखा कमजोर भए पछि, कान नसुन्ने भए पछि र लौराको सहारामा जीवन गुजार्न बाध्य हुनुपरेपछिको अत्यन्तै सेवा र सत्कार चाहिने अवस्थामा उल्टै आश्रममा बस्नुपर्दाको अवस्था ज्यादै दुर्भाग्यपूर्ण छ, नाजुक छ । नेपालमा खासगरी काठमाडौं उपत्यकाका नेवार समुदायमा चलेको आमाको मुख हेर्ने र बुबाको मुख हेर्ने चलन कालान्तरमा सबैले अपनाएको पाउन सकिन्छ । सनातन मान्यता अनुसार आज एक दिन मात्रै मुख हेरेर वा मिठामिठा खानेकुराहरू खुवाएर सन्तानको कर्तव्य पूरा हुँदैन । सधैंभरि बुबाआमाको ईच्छा अनुसार कार्य गर्ने र आफ्नो क्षमता अनुसार आफ्नो सेवा एवं कर्तव्य पूरा गर्ने हो भने बल्ल सन्तानको दायित्व पूरा भएको मानिनेछ । आजको दिनलाई कुशेऔशी पनि भनिन्छ । स्वर्गका राजा ईन्द्रले भगवान विष्णुलाई स्वर्गबाट कुश दिएको दिनको रूपमा स्मरण गर्दै यश दिन कुश घर घरमा भित्र्याउने चलन चलेको मान्यता रहिआएकोछ । बुबाले गरेका माया, त्याग समर्पणलाई सम्झँदै मनाइने यस दिनमा फेरि एक पटक स्वर्गीय बुबाको सम्झना अनि उहाँले सन्तान प्रति पुर्याउनु भएको महत्वका बारेमा पुनर्ताजगी गराउने काम गर्याे । जीवित हुँदा बुबाको आवश्यकता महत्व र गरिमाका बारेमा घनिभुत रूपमा सोच्न र बुझ्न नसकिरहेको म अहिले अभावमा आवश्यकता खड्केको महशुस राम्रै रूपमा भएको छ । आफ्नो अनुभव, बुबा नहुँदाको घर र अभावको खड्कोले साँच्चिकै हरेक सन्तानलाई पिरल्दो रहेछ । हरेक सन्तानले आफ्ना बुबालाई अत्यन्तै ईमानदारीपुर्वक पालनपोषण गरौं, सबै सबै बुबाहरूमा सम्मान र आदर टक्रयाउँदछु ।