तनहुँ : रुपा गाउँपालिकामा अवस्थित रुपाकोट रिसोर्टले पाँच वर्षभित्र एक हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । छ वर्ष पूरा गरी सातौ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शनिबार आयोजित कार्यक्रममा रिसोर्टका सञ्चालक पुष्पराज अधिकारीले एक हजार जनालाई रोजगारी सिर्जना गर्ने गरी पूर्वाधार निर्माणलाई जोड दिइएको जानकारी दिनुभयो ।
त्यसका लागि विभिन्न प्रोजेक्ट निर्माण गर्न लागिएको अधिकारीले बताउनुभयो । सोही ठाउँमा स्वीङ पार्क, होटल व्यवस्थापन कलेज, रुपाकोट टुर्स एण्ड ट्राभल्स कम्पनी लगायतका प्रोजेक्ट सञ्चालनमा आउने अधिकारीले बताउनुभयो । “रुपाकोट रिसोर्टले अहिले एक सय जनालाई प्रत्यक्ष रोजगारी दिएको छ, एक हजार रोजगारी सिर्जना गर्ने हाम्रो लक्ष्य हो,” उहाँले भन्नुभयो ।
रिसोर्टमा ४२ कोठा रहेकामा २५ कोठा थप हुँदैछ । दुई वनुभयोा रेष्टुरेन्ट, स्पा, साउना, मेडिटेसन हल, योगा हल, जिम हल, स्विमिङ पुलसहित पाँच तारे होटलमा चाहिने सम्पूर्ण सेवा पर्यटकलाई प्रदान गरिने अधिकारीले जानकारी दिए । थप संरचना निर्माण भइसक्दासम्म रिसोर्टमा रु एक अर्ब १० करोड लगानी हुनेछ ।
अधिकारीका दुई छोराले हाल रिसोर्टको व्यवस्थापकीय जिम्मेवारी निभाइरहनुभएको छ । जेठो छोरा सुशील अधिकारी रिसोर्टको प्रबन्ध निर्देशक हुनुहुन्छ भने कान्छो छोरा मनिष अधिकारी कार्यकारी निर्देशकको भूमिका हुनुहुन्छ ।
सञ्चालक अधिकारीको भनाई उहाँकै शब्दमा
मलाई जहिले पनि चुनौति मन पथ्र्यो, अलिकति कम्फर्ट भएपछि म चाँही रिस्की जोनमा जान पराउँथे । म अङ्ग्रेजी साहित्य पढेको मान्छे, नेपालमै पनि मेरो जीवन धेरै राम्रो हुन सक्थ्यो । बीचमा परराष्ट्र सेवामा पनि जान्छु जस्तो लागेको थियो किनभने त्यतिबेला अङ्ग्रेजी राम्रो चाहिन्थ्यो । अहिले दुईजना त मेरो समकालिन साथी राजदूत हुनुहुन्छ । पछि मैले संयोगवश सोल्टी होटलमा जागिर पाए । त्यो मेरो लागि होटलको क्यारियर जस्तै भयो, सोल्टीबाटै मैले धेरै कुरा सिके । म सँधै भन्ने गर्छु साधारण गाउँले केटोबाट महत्वाकांक्षी व्यवसायीमा रुपान्तरण गरायो । सोल्टीबाटै मलाई देश विदेश घुम्ने अवसर पनि मिल्यो । मैले सोल्टीबाट जे सिक्यो बेल्जियम रहँदा त्यसलाई उपयोग गर्ने मौका मिल्यो । त्यसबाट हामीलाई केही आर्थिक आर्जन भयो । त्यसपछि म रुपाकोट फर्किए, रुपाकोट मेरो जन्मिएको ठाउँ हो । यहाँका रुखका पात झर्दा, पालुवा पलाउँदा मैले मेरो बाल्यकाल सम्झिन्छु । विदेशमा लामो समय बसेपछि नेपाललाई मैले कहिल्यै बिर्सिन । म विश्वका जुनसुकै ठाउँ पनि जान सक्थे, मेरो शैक्षिक योग्यताका कारण । तर मैले त्यसबेला बेल्जियम रोजेको थिएँ । मैले जहिले पनि नेपालको बारेमा सोच्थे । नेपाल कसरी फर्किने त भन्ने बारेमा पनि म सँधै सोचिरहन्थे । नेपाल फर्किने एउटा योजना बनाउन थाले । सन् २००० मा नेपाल फर्किए, त्यसैको परिणाम स्वरुप आजको रुपाकोट रिसोर्ट हो । रुपाकोट फर्किएर आउँदादेखि नै यो ठाउँ हराभरा हुन सक्छ भन्ने सोच पहिल्यैदेखि म मा थियो ।
भनिन्छ तिमीले जे चाहन्छौ, त्यो चाहेको चीज पाउँदैनौ, तर जे चीज तिमीले चाहिन्छ भनेर लाग्छौ त्यो चीज अवश्य पनि पाइन्छ भन्ने मैले अनूभुति गरे । जङ्गललाई मङ्गल बनाउनु र खरबारीलाई घरबारी बनाउन त्यतिबेला निकै चुनौतिको काम थियो । तर म चुनौति मन पराउने मान्छे, हिम्मत कहिल्यै हारिन । रुपाकोट हरेक चीजले भरिपूर्ण छ, यदि कमी छ भने हाम्रो सोचाइ र महत्वाकाङ्क्षाको कमी छ ।
स्वीङ पार्क प्रोजेक्ट छिट्टै शुरु गर्दैछौ । २० रोपनी क्षेत्रफलमा स्वीङ पार्कसँग्ै झरना, स्वीमिङ पुल, रेष्टुरेन्ट लगायत निर्माण गर्ने योजना छ । त्यसका लागि इन्भेष्टमेन्ट बैङ्कसँग ऋण सम्झौता भइसकेको छ । हामीले १८ औं शताब्दीको पहिचान झल्किने वल्र्ड भिलेज पनि निर्माण गर्दैछौ । ७३ रोपनी क्षेत्रफलमा निर्माण हुने वल्र्ड भिलेजमा त्यस शताब्दीका पहिचान झल्कने विभिन्न संरचना बनाउँदैछौ ।
हाम्रो उद्देश्य भनेको एक हजार रोजगारी सिर्जना गर्नु हो । यसबीचमा कोभिडका कारण धेरै समस्या बनायो । रुपाकोट रिसोर्टमा होटल व्यवस्थापन कलेज स्थापना गर्ने लक्ष्य राखेका छौ । पाँच तारे होटलका लागि जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित होटल व्यवस्थापन कलेज स्थापना गर्न लागेका छौ । बेल्जियमबाट फर्किदा हामीले धेरै कुरा लिएर आएका छौ, सबैभन्दा ठूलो कुरा आत्मविश्वास र सम्बन्ध लिएर आएका छौ । त्यही सम्बन्धले हामीलाई होटल व्यवस्थापन कलेज सफल बनाउन सहयोग गर्छ । रुपाकोट रिसोर्ट छ वर्ष पूरा भएको छ । यसबीचमा हामीले धेरै आरोह अवरोह पार ग¥यौ । भूकम्प, नाकाबन्दी, कोभिड झेल्दै रुपाकोट रिसोर्ट आज यहाँसम्म आइपुगेको छ ।