“जागिर पहिलो अनुभव”
काठमाडौबाट म र पन्ध्र दिनभित्र जिल्ला पशुसेवा कार्यालय म्याग्दीमा हाजिर हुन जानुहुन सिफारिस गरिएको लोक सेवाआयोगको रजिस्ट्री चिठी संगसंगै घर आइपुग्यौ ।काठमाडौं छिरेसंगै र मोबाइल किनेसंगै चिट्ठीपत्र लगभग हराएको अवस्थामा लोकसेवाबाट आएको चिठीले मेरो भविष्य बोकेर आएको थियो । खरदारको नै किन नहोस् हाम्रो परिवारमा अब कम्तिमा पनि २० वर्ष म यो र यहीँ प्रकृतिका कार्यालयमा बिताउछु । खै काठमाडौको निजी केनलक्लबमा झै मेहनेतका साथ काम गरेर बिताउछु कि सेवाकेन्द्रमा कहिलेकाहीँ झुल्कने कर्मचारीहरु झै बिताउछु या कुर्चीमा निदाएर बिताउछु ।धेरै कुराहरु असरल्ल मनमा छरिए ।
सदरमुकाम बाहेक अरु ठाउँमा त मोबाईल टिप्दैन ।
अधिकाँश स्थानमा गाडी जादैन ।
हाकिमलाई “म पढ्ने मान्छे सदरमुकाममै राखिदिनु काम पनि सिकिन्छ मेरो पढाई पनि पुरा हुन्छ” भन केही सजिलो हुन्छ ।म्याग्दी पुग्नेबेलासम्म मलाई आएका सुझावहरु ।
अकाश कत्रो छ ? मलाई कसैले सोध्यो भने मैले दिने जवाफ भनेको पूर्व पश्चिम उत्तर दक्षिणका डाँडाका क्षितिज भन्दा भित्रको भाग ।
जिल्ला पशुसेवा कार्यालयले के काम गर्छ ?
पशुवस्तुको उपचार गर्ने काम । जागिर खाने बेलासम्म मैले थाह पाएको काम । जसलाई चलनचल्तीको भाषामा भेट्नरी भनिन्थ्यो । त्यहाँ पशु ल्याए उपचार गर्दिने, कृषकले ल्याउन नसके त्यहाँका प्राविधिक घरमा पुगेर उपचार गर्दिने । पशुसेवा कार्यालय मेरो आकाश मनपाङ्देखि खोरादी सम्म, माछापुच्छ्रे देखि राङरुङ सम्मको आकाश थियो ।
तत्कालिन जिल्ला पशुसेवा कार्यालय विकासे अड्डा हो भन्ने कुरो मलाई कसले भनिदियोस्?
“म्याग्दी उस्तो काम जुने जिल्ला हैन, हा.टा गर्न टन्नै पाईन्छ । टन्न पढ्न पनि पाइन्छ जागिरको यो पदमा टेकेर अफिसरमा फड्को मार्नुपर्छ” ।त्यहाँ पुग्नुअघी पाइएका सुझाव
केहि दिनको बेनी बसाईपछि शुरुवाती कर्मचारलाई विकट क्षेत्रमा पठाउने प्रचलन अनुसार मलाई पशुसेवा केन्द्र ताकम र राजेश पाण्डेलाई पशुसेवा केन्द्र घार पठाउने निर्णय भयो। मैले तत्समयमा उठान नगरेको तर मनमा नलाएको एउटा मुख्य प्रश्न भर्खर नियुक्ति पाएका कर्मचारीलाई विकटक्षेत्रमा पठाउदा उनीहरुको कार्यसम्पादनबाट आम मानिसमा पर्ने सुविधा असुविधाको मुल्याङ्कन कसले गरेको छ ? संगसंगै कर्मचारीको मनोगत अवस्थाको विश्लेषण कुन तालुकदारले गरे होलान् ? के दूरदराजका सेवाग्राहीले जहिल्यै दक्ष कर्मचारीबाट सेवा पारउन बञ्चित हुनुपर्ने हो ?
दरवाङ सम्म बसमा अनि ३ घण्टा पैदल म्याग्दी नदीको किनारैकिनार ।
अघिल्लो असोजदेखि पानी नपरेको मौसम, कच्ची बाटो, असारको पहिलो हप्ता । मनसुन ढिलो गरि आउने रे ! चौबिस सिटे बस मान्छे किर्तिपुर रत्नपार्क चल्ने लाउडामा भन्दा धेरै । बन्द प्याकेटमा प्याक भएर सुरुङतिर हिडे जस्तो ।मैले देखेको आकाश अलि फराकिलो थियो । आकाश हेरे अझ उराठ लाग्यो ।
दरवाङ पुगेर बसबाट झर्दा बसको सिसमा आफ्नो प्रतिविम्ब देखेर झण्डे तर्सिन । अनुहार कपडा, झोला, केही बाकी थिएन धुलोले ।
ताकम पश्चिमी म्याग्दीको पढेलेखेका मान्छे भएको बाहुन गाउँ । कृषि पेशा भएको, सायद पश्चिमी म्याग्दीमा सबैभन्दा धेरै शिक्षकहरु भएको गाउँ । म जानु भन्दा अगाडी नै सो गाउँको बखान बेनीतिर धेरैले लगाएका थिए ।समाजशास्त्रको स्नातक विद्यार्थी, भेट्नरीको जागिर २४ वर्षे युवाकाल, कौतुहलित मानसिकता । आफुले भोगेको भन्दा फरक भुगोल तथा भाषिक लवज मेरा लागि हर चिज नौला लाग्नु नै थियो ।दरवाङ बजारमा ताकम जाने बाटो र लाग्ने समय बारेमा सोधे, बाटोमा पर्ने गाउँको बारेमा सोधे । नयाँ आउनुभएको भन्ने सबैलाई थाह भयो । तनहुँको मान्छे म्याग्दी खासै टाढा हैनन त भुगोलले न त भाषा, संस्कार र संस्कृतिले मात्र पायक र थोरै लवजको मात्रै न हो फरक त ।
गाउँलेको पँधेरोको नजिकै विदेशी डिजाइनको पुरानो सेवाकेन्द्र भवन, कृषिका मधेसी मुलका २जना सिनियर कर्मचारीहरु । पुलिस चौकी २/४ वटा सानासाना होटल, दुईवटा खाद्यान्न पसल मेरो पहिलो दृष्यमा ताकमको केन्द्र बजार ।
एकजना स्थानीय कार्यालय सहयोगी घरको काम सकिवरी सेवाकेन्द्र आउने, सेवाग्राही आउदा आफ्नो दक्षता अनुसारको सेवा दिने जाने ।
ताकम पुगेपछि काठमाडौंमा छुटेका एकजोडी पिलपिलाउदा आँखाको खुब याद आयो । आफ्नो मोबाइलमा झै सार्वजानिक टेलिफोनबाट गफ गर्न नपाईने, चाञ्चलिक उमेर नयाँ परिवेश ।मैले मेसो नपाएको कार्यालयले खटाएको एउटा कार्यक्रमको लागि जानुपर्ने भयो । बिम, मराङ, मल्कवाङ, कुहिने, भेडीखाल्टा ।म भन्दा ५/७ वर्ष जेठा कार्यालय सहयोगी तारा दाई ।मेरै गाउँबाट जागिर शुरु गरेका ।हाम्रो वरीपरीको परिवेश थाह पाएका मान्छे चिन्ने, त्यहाँका रैथाने कार्यालयको काम जान्ने । सजिलो हुने भयो।काठमाडौंको निरन्तर ३ वर्षको बसाईले उकालो ओरालो सबै विर्साईदिएछ । उसैपनि चैतमा मकै रोपेर भारत छिर्ने असारमा घर फिर्दा मकैको बोटलाई देखाएर “ये लम्मा पात क्या चिज हे माँ” भनेर आमालाई सोध्ने जाति वीर गोर्खाली न हुँ । ठाउँका नाम जस्तै मेरोलागि हर कुराहरु नयाँ थिए । कठिनाईं तारा दाईसंग मेरो हिडाई नै नपुग्ने उकालो त ठिकै ठिकै हो ओरालोमा घुँडा दुखेर पाएको सास्ती अहिलेसम्म मैले भोगेको सबैभन्दा पिडादायक क्षण थियो । कार्यालयले तोकेको काम मैले गर्ने भन्दा अवलोकन र सहयोग गरे, तारा दाईले सम्पन्न । काम सम्पन्न भएपछिको प्रतिवेदन लिएर बेनी हिडे । पानी पर्न थालेको बाटो विग्रेको कारण दोस्रो दिनमा मात्रै पुगे ।दुखेका घुँडा, एक्लो यात्रा, म्याग्दी नदीको धमिलो स्वरुप र शिरमाथिको साँघुरो आकाश । कलात्मक भुगोल सहयोगी र सह्रदयी स्थानीयवासी मलाई कोही राम्रो लागेनन् केही राम्रो लागेनन् । राम्रो र नराम्रो त आँखाले देख्ने रैनछ ।मनले हेर्ने रहेछ ।
बेनी आउनु, होटलमा बस्नु, मेरा लागि “चार आनाकी मुर्गी आठ आनाकी मसला“ हुने पक्का भयो ।मेरो उमेर भन्दा आफ्नो जागीर धेरै भएको धाक लगाउने सहकर्मी साथीहरु, कुनै कुराको वार्गेनिङ नहुने बेनी बजार,बेनी जाने आउने बाटो खर्च, होटल खर्च ताकमको होटलमा बसाई, कार्यक्रमको लागि गाउँ गाउँ घुम्दा हुने खर्च सबै हिसाब गरे मेरो तलब भन्दा दुई हजार बढी खर्च मासिक आउने निश्कर्ष निस्क्यो । संगसंगै काठमाडौं, राम्रो कमाई सुखद जिन्दगी क्याम्पसका साथीभाई, महलको आडमा झुपडीको वासको लागि बसाईँ सरेका बाबुआमा, भर्खर पढ्दै गरेका भाईबैनी । एक एक गरी मानसपटलमा घुम्न थाले ।
मलाई गाउँमा जादा भ्रमण आदेश भरेर पैसा कुम्ल्याउन पाइन्छ कसैले भनेनन्। न त हाकिमको अगाडी कान माथीको कपाल कन्याउदै जिउ हजुर गरेमा बिदा नलिई कार्यालय छाड्न पाईन्छ नै भने । त न कुनै संगठनको पदाधिकारी भएर ठूलो स्वर गरेकै भरमा कार्यालयको अनियमितता छोप्न मुखमा टालो आउने नै कसैले सिकाए ।थोरै तलब र धेरै कमिसनको लोभमा काठमाडौंका साहुजीहरुले पालेका विदेशी कुकुरलाई भ्याक्सिन र उपचार गरिरहेको एउटा केटोले यी चाउचाउजस्तै बटारिएका मान्छे र हिड्ने र जिउने त्यस्तै बाटो कसरी बुझ्नु ? ठूलो दुःखले लोकसेवा पास गरेर आएको यो जागिरलाई राजिनामा ठोक्ने बिचार गरे ।