दमौली । तनहुँको ऋषिङ गाउँपालिकाले विद्यालय जॉदा डेढ घण्टा पैदल हिँड्नुपर्ने विद्यार्थीलाई मासिक एक हजार उपलब्ध गराउने भएको छ । गाउँपालिकाको आइतबार सम्पन्न एघारौ गाउँसभाले घरदेखि विद्यालयसम्म जॉदा डेढ घण्टा हिँड्नुपर्ने विद्यार्थीलाई रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
छात्रावास कार्यक्रम मार्फत् एक विद्यार्थी बराबर एक हजार सहयोग गर्ने निर्णय भएको प्रवक्ता विजय दरैले जानकारी दिए ।
गाउँसभाले वडा नम्बर २ र वडा नम्बर ५ को कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको छ । आफ्नै भवन नहुँदा सेवा प्रवाहमा असहजता भएपछि भवन निर्माण गर्न लागिएको हो ।
यसैगरी स्थानीय तहमा लगातार तीन वर्ष सेवा गर्ने कर्मचारीलाई ग्रेडको व्यवस्था गर्ने निर्णय गाउँसभाले गरेको छ । स्थानीय तह हुनुभन्दा पहिले स्थायी भएका कर्मचारीलाई एक तह बढुवा गर्ने निर्णय पनि सभाले गरेको प्रवक्ता दरैले बताए।
सभाले सञ्चालनमा रहेका खानेपानी, सडक कालोपत्र लगायतका विकास निर्माणका काम यथाशीघ्र सम्पन्न गर्न ताकेता गर्ने निर्णय गरेको छ ।