शुक्लागण्डकी : नगर लगानी सम्मेलनदेखी आयोजना बैंकसम्मको नीति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बजार

    शुक्लागण्डकी : नगर लगानी सम्मेलनदेखी आयोजना बैंकसम्मको नीति

    खबरपुञ्ज संवाददाता

    १० असार २०७९, शुक्रबार

    दुलेगौँडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९÷०८० मा नगर लगानी सम्मेलन गर्ने भएको छ । शुक्रबार ११ औँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख खुमबहादुर विक (राजु) ले शुक्लागण्डकी नगरपालिकाको लगानी सम्मेलन आयोजना गरी देश विदेशमा रहेका लगानीकर्तालाई आकर्षित गर्दै निजी साझेदारी अवधारणा अनुसार नवप्रवर्तनशील उद्योगको स्थापना मार्फत रोजगारी सिर्जना, आयआर्जन बृद्धी एवम गरिवी निवारणमा जोड दिइने बताए ।

    सुकुम्बासीका लागि कानुन अनुसार लालपुर्जा वितरण गर्ने उनले बताए । उनले भने, ‘शुक्लागण्डकी नगर क्षेत्रभित्र बसोबास गर्ने भुमिहिन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुले आफुले भोग चलन गर्दै आएको जमिनको लालपुर्जा वितरण गर्ने कार्य प्रचलित कानुन बमोजिम शिघ्र सम्पन्न गरिनेछ ।’

    नगरपालिकाले आयोजना बैंक तयार पर्ने नीति लिएको छ । ‘पुर्वाधार विकासलाई व्यवस्थित गर्न वडाहरुबाट प्राप्त योजना सहित नगरपालिकाको सम्भावित बृहत रुपान्तरणकारी योजनाहरु समेटेर नगरपालिकाको आयोजना बैंक तयार गरी प्राथमिकताका आधारमा क्रमश कार्यन्वयन गर्दै लगिनेछ’, नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गर्दै उपप्रमुख विकले भने ।

    वित्तिय शुसासन र सार्वजनिक उत्तरदायित्व अभिवृद्धीका लागि आवश्यक विधि र उपकरण परिचालन गर्दै बेरुजु घटाउदै लगेर शुन्य बेरुजु कायम गर्ने नीति अवलम्बन गर्ने उल्लेख गरिएको छ । आगामी पाँच बर्षमा नगरपालिकाको उपयुक्त स्थानमा अन्तरािष्ट्रयस्तरको क्रिकेट रंगशाला स्थापना गर्ने कार्य आरम्भ आगामी आर्थिक बर्षदेखी सुरु हुने जनाईएको छ ।

    स्वास्थ्यतर्फ सुत्केरी पोषण प्रोत्साहन कार्यक्रम सुरु गरिनेछ । ‘सुत्केरी आमाहरुको पोषण र स्वास्थ्यलाई मजबुद बनाउन सुत्केरी पोषण प्रोत्साहन कार्यक्रम कार्यन्वयन गरिनेछ । साथै सुत्केरीका लागि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराईनेछ’, नीति तथा कार्यक्रममा उल्लेख छ । दुलेगौँडा स्वास्थ्य चौकिलाई प्रसुती तथा बाल अस्पतालको रुपमा स्तरोन्नती गरिनेछ ।

    नगरपालिकाले आफ्नै भुउपयोग नीति बनाउने उल्लेख छ । बाँझो जमिनलाई उत्पादनमुलक क्षेत्रमा प्रयोग गरी कृषि उत्पादन तथा उत्पादकत्व बढाउन प्रोत्साहन गर्दै कृषिको विविधिकरण र व्यवसायिकरणमा जोड दिने उपप्रमुख विकको भनाई छ । नगर यातायात सञ्चालन, उत्पादनमा आधरित कृषि अनुदान लगायतका नीति अवलम्बन गरिने उल्लेख छ ।

    ६० बर्ष उमेर पुगेका एकल पुरुषलाई एकल महिला सरह भत्ता उपलब्ध गराई शुक्लागण्डकी नगरपालिकामा सामाजिक सुरक्षाको दायरा विस्तार गरिने उल्लेख छ । उपप्रमुख विकले ११ औँ नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम शुक्रबार नै पारित भएको छ ।

    नगर प्रमुख कृष्णराज पण्डितले आगामी आर्थिक बर्षका लागि एक अर्ब २२ करोड १६ लाख ३१ हजार ८२० रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका छन् । पण्डितले नगरसभामा प्रस्तुत गरेको अनुमानित बजेको आयतर्फ समानिकरण अनुदान संघतर्फ १६ करोड ३१ लाख रुपैयाँ, राजस्व बाँडफाड संघतर्फ १२ करोड ९८ लाख ९० हजार रुपैयाँ, शसर्त अनुदानमा चार करोड १० लाख ९० हजार रुपैयाँ उल्लेख छ । यस्तै, प्रदेशको समानिकरण अनुदान एक करोड ९९ लाख ८८ हजार रुपैयाँ, राजस्व बाँडफाड प्रदेशतर्फ एक करोड ६४ लाख ६३ हजार रुपैयाँ, प्रदेश समपुरक अनुदानमा ७० लाख रुपैयाँ उल्लेख छ ।

    शुक्लागण्डकी नगरपालिकाले आगामि आर्थिक बर्षमा १५ करोड ८२ लाख ५० हजार रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको छ । सामाजिक सुरक्षा भत्तामा २५ करोड रुपैयाँ, गरिवसँग विश्वेश्वर कार्यक्रममा ६ लाख रुपैयाँ, सडकबोर्ड नेपालबाट ६० लाख रुपैयाँ, घर जग्गा रजिष्ट्रेशन शुल्क दुई करोड ९४ लाख ४० हजार ८२० रुपैयाँ र जनसहभागिताबाट तीन करोड रुपैयाँ आम्दानी हुने नगर प्रमुख कृष्णराज पण्डितले नगरसभामा प्रस्तुत गरे ।

    यस्तै, व्ययतर्फ विषयगतमा २४ करोड ९५ लाख ३१ हजार ८२० रुपैयाँ अनुमान गरिएको छ । शसर्तमा ४१ करोड ९ लाख रुपैयाँ, प्रदेश समपुरकमा ७० लाख रुपैयाँ, वडागत सिलिङमा नौ करोड ७६ लाख रुपैयाँ प्रस्तुत गरिएको छ । यस्तै, गरिवसँग विश्वेश्वर कार्यक्रममा ६ लाख रुपैयाँ, सडकबोर्ड नेपालबाट ६० लाख रुपैयाँ, चालु खर्चमा १७ करोड रुपैयाँ, सामाजिक सुरक्षा भत्तामा २५ करोड रुपैयाँ र जनसहभागितमा तीन करोड व्यय अनुमान गरिएको छ । बजेटमाथि छलफल भएपछि पारित गरिनेछ ।