तनहुँका सागर पाण्डेले पहिलोपटक नाटक हेरेका थिए । सिमसिम पानीमा भिज्दै तनहुँको दमौलीदेखि ४० जना साथीहरुसंगै करिब दुई घण्टाको यात्रा गरी पोखरा थिएटरको गन्धर्व नाटकघर पुगेका थिए । साँझको ५ः३५ बजेको थियो । नाटक घर खचाखच भरिएको थियो ।
पाण्डेसंगै दमौलीबाट गएका दर्शकहरु पनि नाटक हेर्नका लागि बसे । नाटक सुरु भयो । चारैतिर कालो पर्दा, बीचमा एउटा खम्बा राखिएको थियो । त्यो खम्बाको टुप्पोमा त्रिशुल पनि थियो । खम्बाको मुनी एक जना महिला बसेर पूजा गरेको दृष्यले पाण्डे लगायत सबै दर्शकको ध्यान खिच्यो । सबैलाई चासो भयो अब के हुन्छ ? नाटकको सुरुवातमै पाण्डेको पनि मनमा कतुहल्ता भयो । पहिलो पटक नाटक हेर्न पुगेका पाण्डे निकै उत्साहित देखिएका थिए ।
नाटकमा पार्वतीको भुमिकामा सुजिता सिवाकोटी थिइन । उनकै आडमा जामामा सजिएर नाटकका पात्राहरु उभिएका थिए । हातमा लौरो समेत लिएर बसेका उनीहरु हुड्के नाचको हुड्काबाजीसँगै नजिकबाट प्रत्यक्ष संगित बजेपछि सुरु भयो सुनकेशरी । दर्शकहरु निकै उत्साहपूर्वक नाटक हेर्दै थिए । नाटक भन्ने सुनेको तर नाटक घरमा गएर पहिलोपटक नाटक हेरेका पाण्डेलाई निकै चाँसो भयो अब के के हुन्छ । नाटक हेरेपछि उनले भने, ‘पहिलो पटक नाटक हेरे, हलमा गएर चलचित्र हेरेको भन्दा छुट्टै हुँदो रहेछ । यसले हाम्रो नेपाली संस्कार, संस्कृति र मौलिकतालाई झल्काउँदो रहेछ ।’
कर्णाली प्रदेशको प्रचलित लोक कथामा आधारित थियो ‘सुनकेशरी’ नाटक । ‘सुनकेशरी’ले आफ्नो सुन्दरताका कारण भोग्नुपरेको संघर्ष तथा अनुभव नाटक मार्फत आकर्षक ढंगले देखाइएको थियो । रासकोटे राजा साइमल शाही र सिन्जाका विक्रम शाही, नातामा दाजुभाइ भए पनि एकअर्काका कटट्र शत्रुका रुपमा नाटकमा प्रस्तुत गरिएको थियो । उनिहरुको शत्रुताको मुख्य कारण सुनकेशरीको सुन्दरता थियो ।
दुश्मनी र सुन्दरताले भरिएकोे यही नाटकले सुरुमै समर्थनको ताली पायो । कर्णालीको सांस्कारिक मालालगन गाउन सिपालु सुनकेशरी आफ्नो रुप र केशका कारण समेत चर्चामा थिइन् । सोही कारण उनलाई विवाह गर्न चाहने धेरै थिए । ‘सुनकेशरी’का फुपुका छोरा प्रजापति पनि उनलाई मनपराउछन् । संस्कारकै कारण ‘सुनकेशरी’ आफूलाई हक लाग्ने उसको ठहर थियो । यी विषयलाई नाटकमा निकै सुन्दर र आकर्षक रुपमा प्रस्ततु गरिएको थियो ।
‘सुनकेशरी’ भने प्रजापतीलाई मन पराउथिनन् । सुन्दर सुनकेशरीलाई आफ्नो बनाउन खोज्नेमा राजाहरु समेत थिए । छिनासिंहका राजा र रास्कोटका राजा मामाचेला हुन् । उनीहरु पनि ‘सुनकेशरी’ प्रति आर्कषित थिए । सुनकेशरीले दुई मध्ये दाजुलाइ रोज्छिन्, र दरवार जान्छिन् । नाटकमा यसपछि समानान्तर रुपमा दुईवटा यात्राहरु देखिन्छन् । यता उनका फुपुका छोरा प्रजापति भने जसरी पनि आफुले सुनकेशरी पाउनुपर्ने भन्दै तड्पिन्छन् । सुनकेशरीलाई फर्काएर ल्याउने प्रण गर्दै प्रजापति पनि दरबार तर्फ गएको नाटकमा निकै कलात्मक रुपमा प्रस्तुत गरिन्छ । सुनकेशरी आफ्नो सुन्दरताका कारण अनकौं परिस्थितिहरुको सामना गर्नुपरेको नाटकमा देखाइन्छ । फुपुका छोरा प्रजापतिको अर्को यात्रा भने सुनकेशरीलाई जसरी भएपनि फर्काएर घर ल्याउने हुन्छ । यी दुबै यात्राहरु एउटा मिलनविन्दुमा पुगेपछि नाटकको कथा टुङ्गिन्छ ।
कर्णाली प्रदेशको प्रचलित लोक कथामा आधारित नाटक संस्कृतिविद् सत्यमोहन जोशीले लेख्नुभएको हो । ‘सुनकेशरी’ले आफ्नो सुन्दरताका कारण भोग्नुपरेको संघर्ष तथा अनुभव नाटक मार्फत आकर्षक ढंगले देखाइएको छ । नाटकमा प्रयोग गरिएको द्वन्द्वले नाटक हेर्ने दर्शकको ध्यान खिचिरहन्छ । यसको लागि प्रजापतिले गरेको मेहनत नाटकको महत्वपूर्ण अंग हो । प्रजापतिको भुमिका निभाएका खगेन्द्र साउदले दर्शकलाई आफ्नो प्रस्तुती मार्फत ध्यान खिच्न सफल भएका थिए । उनले आफ्नो पात्रलाई जिवन्तता प्रदान गर्न केही जोखिम मोलेका छन् । नाटकमा प्रत्यक्ष संगीतको प्रयोग गरिएको छ । जुन संगीतले दर्शकलाई रमाइलो अनुभुती गराउँदछ । समग्रमा एक युवतिले आफ्नो सुन्दरताको कारण भोग्नुपरेका तितामिठा संघर्ष तथा अनुभवहरुको कथालाई नाटकमा प्रस्तुत गरिएको छ ।
कथाको मुख्य पात्र सुनकेशरी बनेकी परिक्षा लिम्बु, विक्रम शाही बनेका सञ्जिब जंग लिम्बु, साइमल शाही बनेका आर्य सुमन खड्का, हुड्केको पोई बनेका कृष्ण चौधरी, झम्पनको भुमिकामा देखिएका रोशन लोहोरुङ राई, सुनिल राई, नौमतिको भुमिका निभाएकी रिता सैंजु, लालुको भुमिकामा अभिनय गरेका मिलन कार्कीले आफ्नो जिम्मेवारीलाई ध्यान पूर्वक पुरा गरेका छन् ।
यसैगरी पार्वतीको भुमिकामा सुजिता सिवाकोटी, सबिना गिरी, सेनापति बनेृका नोर्देन ख्युङ्वा लामा, राज पुरोहित बनेका रोशन अधिकारी, सैनिक बनेका किसम विर विक्रम, बाज बनेका बलबहादुर राई, कोरसमा रक्षा पाण्डे, अनुजा रेग्मी र अभिषेक राईले अभिनय मार्फत दर्शकलाई सन्तुष्ट पार्न निकै मेहनत गरेका छन् । उनीहरु सबै मण्डला थिएटर नेपालद्वारा सञ्चालित थिएटर ल्याब दशौं व्याचका प्रशिक्षार्थीहरु हुन् ।
नाटकका निर्देशक राजन खतिवडाको सुनकेशरी नाटक पहिलो निर्देशन होइन । उनले थुप्रै नाटकमा काम गरे । तर मन खाएको कारण यो नाटकलाई उनी पहिलो र अन्तिम नाटक भन्छन् । नाटक हेरेपछि उनको कामको प्रशंसा नगरिकन बस्न सकिदैन । कलाकारको लिमिटेसन पनि थियो प्ले बुझ्नलाई, लोक संस्कृतिको चिज बुझ्नलाई । ड्रामाटिक कसरी हुन्छ । एक्टरले के ग¥यो भने ड्रामाटिक हुन्छ के गरे हुँदैन । के गरे आर्ट हो के गरे होइन भनेर बुझाउन उनले खोजे । क्यारेक्टरको युनिक चिज कसरी देखिन्छ भनेर खोजी गरे । जुन कुरा नाटक हेर्दा अनुभुती हुन्छ ।
त्यसोत दर्शकको चाहनालाई ध्यान दिँदै आज भन्दा १० वर्ष अगाडि मञ्चन गर्दाको नाटक र अहिलेको नाटकमा केही परिवर्तन गरिएको बताइएको छ । केही गीत तथा कोरसका मुभमेन्ट थपिएका छन् । अहिले पहिला भन्दा केही चुनौती थपिएको छ । श्रोत साधनको कमीले केही सिमामा नाटकलाई बाध्नु भने परेको आभाष नाटक हेर्दा गर्न सकिन्छ । १ घण्टा २५ मिनेट अवधिको यो नाटक जे सुविधा छ त्यसलाई भरपुर प्रयोग गरेर काम गरिएको छ । नाटक भन्दा फिल्म हेर्न रुचाउने दर्शकका लागि समेत यो नाटकले सन्तुष्टि दिन्छ ।