तनहुँको साबिक रुपाकोट गाविसमा वि.सं २००८ सालमा जन्मेका रघुनाथ पौडेल जिल्लाको पुरानो र सिनियर कांग्रेस नेता हुन् । वि.सं.२०२३ सालमा लम्जुङ्ग जिल्लाको शान्ती मा.वि. बाट प्रवेशिका परिक्षा उतिर्ण गरेका उनले २०२४ सालमा इन्टर कलेज लम्जुङ्गबाट इन्टरमिडियट तहको अध्ययन पुरा गरि २०३० सालमा सरस्वती बहुमुखी क्याम्पस लैनचौरबाट स्नातक उत्तीर्ण गरेका छन् । वि.सं २०२४ सालमा उच्च शिक्षा अध्ययन गर्दै गर्दा उनी नेपाली कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरे । इन्टर कलेज लम्जुङ्गमा अध्ययन गर्दा स्ववियुको सदस्यमा निर्वाचित पौडेलले सबैभन्दा बढी लोकप्रिय मतका साथ चुनाव जितेका थिए । २०१७ सालमा नेपाली काग्रेसको प्रथम जननिर्वाचित सरकारलाई राजा महेन्द्रले सैन्य शक्तिको आडमा अपदस्त गरेपछि नेपाली काग्रेसको कुन्छामा भएको सशस्त्र युद्धलाई प्रत्यक्ष रुपमा देखेका पौडेल जननिर्वाचित सरकारलाई अपदस्त गरेर राजाले देशमा चालेको प्रतिगामी कदमका विरुद्ध ज्यानको बाजी लगाई देश र जनताकालागि होमिएका व्यक्तित्व हुन् । उनी २०२८ सालमा गण्डकी छात्र समितिको सदस्य बने । सरस्वती क्याम्पस लैनचौरमा स्नातक पढ्दै गर्दा विद्यार्थी राजनीतिमा लागेको कारण २०२९ सालमा जेल परी एक महिनासम्म नेता कृष्ण प्रसाद भट्टराईसँगै केन्द्रिय कारागारमा बसेको अनुभव पौडेलले बटुलेका छन् ।
२०३० सालमा शिक्षण पेशामा जोडिएका उनी निरन्तर १४ बर्षसम्म सोही जिम्मेवारीमा रहेर देशको शैक्षिक क्षेत्रको उन्नयन र देशकै राजनीतिक निकासकालागि लागि परेका थिए । उनीसँग शिक्षकको रुपमा कार्य गर्दा पनि पार्टीको संगठनमा दिलो ज्यान दिएर काम गरेको अनुभव छ । उनले नेपाली काग्रेस प्रतिबन्धित अवस्थामा रहँदा वि.सं.२०३१ सालमा नेपाली काँग्रेस तनहुँ र लम्जुङ कार्य समिति गठन पश्चात ती दस्तावेज बनारसमा महामानव वी.पी. कोइराला समक्ष आफ्नै खर्चमा पुर्याएका थिए । २०३२ सालमा नेपाली कांग्रेसको क्रियाशिल सदस्य लिएका पौडेलले २०३३ साल देखि २०४३ सालसम्म नेपाली काग्रेसको जिल्ला कार्यसमितिको सदस्य भई पार्टीले दिएको विविध जिम्मेवारी निभाएका थिए । २०४२ सालमा नेपाली कांग्रेसले आव्हान गरेको सत्याग्रहमा संलग्न भए पश्चात उनी पञ्चहरुको तारो बन्नपुगे । त्यसैले गर्दा रामशाह मा.वि. आँबुखैरेनीमा प्रधानाध्यापकको हैसियतले काम गर्दा उनलाई घटुवामा पारियो । पञ्चायती शासन व्यवस्थाबाट तथाकथित कार्वाहीमा परे लगत्तै शिक्षण पेशालाई तिलाञ्जली दिएर राजनीतिमा पूर्ण रुपमा सकृय भई पौडेलले काम शुरु गरे । २०४३ देखि २०४८ सम्म नेपाली कांग्रेस तनहुँको सहसचिवको भूमिका उनले इमान्दारिताका साथ निर्वाह गरे । उनले २०४८ देखि २०५३ सम्म नेपाली काग्रेस जिल्ला कार्यसमितिको उपसभापति भएर कार्य सम्पादन गरे । २०५३ देखि २०६७ साल सम्म अविछिन्न रुपमा ३ कार्यकाल सभापतिको रुपमा कार्य सम्पादन गरि उनले नेपाली कांग्रेस तनहुँको संगठनलाई वलियो र धारिलो बनाए । नेपाली काग्रेसको १२ आंै, १३ आंै र १४ औं महाधिवेशनमा महासमिति सदस्य भई कार्य सम्पादन गरेका पौडेल हाल महासमिति सदस्य छन् ।
२०५३ सालमा पहिलो पटक जिल्ला सभापति पदमा निर्वाचित भएपछि नेपाली कांग्रेसका तत्कालिन सभापति गिरीजा प्रसाद कोइरालाको आव्हानमा नेपाली कांग्रेसको अफिस प्रयोजनको लागि व्यास नगरपालिकाको वडा नं ३ मा भवन खरिद गरिएको थियो । पुरानो मोडलको उक्त भवनमा हालको वी.पी. स्मृति भवन बनाइएको छ । उनकै कार्यकालमा तनहूँ जिल्लाको दमौली बजारमा लौहपुरुष गणेशमान र दुलेगौडा बजारमा महामानव वि.पी कोइरालाको शालिक निर्माण गरिएको हो । सँगसँगै तनहुँ जिल्लाको साविक क्षेत्र नम्बर १ मा क्षेत्रीय कार्यसमितिका लागि डुुम्रे बजारमा भवन निर्माण गरिएको छ । वि.सं. २०५२ सालदेखि देशमा ने.क.पा. माओवादीले चलाएको शसस्त्र द्वन्द्वको समयमा पनि नेपाली काग्रेसको संगठनलाई विभिन्न प्रकारका चुनौतिका बावजुद तमाम नेता कार्यकर्ताहरुको संरक्षणका खातिर गासबास, कपास र जिउ धनको सुरक्षाका निम्ती पौडेल निरन्तर खटि नै रहे ।
तनहुँका तत्कालिन समयका ४७ वटै गाविसमा गाउँ कार्यसमिति गठन गरी सो समिति मार्फत पार्टी संगठन विस्तार गरी कार्यसमितिका पदाधिकारीहरुलाई प्रशिक्षण दिई समिति मार्फत विकास निर्माणका गतिविधिहरुलाई अघि बढाउन उनले कुनै कसर बाकी राखेनन् । उनको कार्यकालमा पार्टिलाई नेतृत्व दिदै गर्दा जिल्ला स्तरमा हुने सबै जसो आन्दोलन, प्रशिक्षण, संगठन निर्माणमा उनी आँफै दिन रात नभनी खटिन्थे । वि.सं २००७ साल यता तनहुँ जिल्ला नेपाली कांग्रेसको गढ हो भन्ने स्थापित मानकलाई कायम राख्न उनले पार्टिको जिल्ला सभापतिको हैसियतले दिलोज्यान लगाएर काम गरे । युवालाई उर्जाशिल बनाउन पौडेल अहोरात्र खटिए । युवा कार्यकर्ता माँझ अत्यन्त लोकप्रिय उनले नेतृत्व गर्दै गर्दा जिल्लामा युवाहरुको काग्रेस प्रतिको आकर्षण बढ्दै गएको थियो । जिल्ला कार्यसमितिको सभापतिको तेस्रो कार्यकालको अवधिमा २०६२÷ ६३ को जनआन्दोलनको शुरुवात भएको थियो । त्यस समयमा तनहुँ जिल्लाबाट कांग्रेस सहित अन्य घटकहरुको अगुवाई पौडेलले नै गरेका थिए । स्थानीय तहको निर्वाचन नभएको अवस्थामा राजनीतिक संयन्त्रमा रहेर जिल्लाको विकास गतिविधीलाई अघि बढाउन उनले निर्वाह गरेको भूमिकालाई त्यती बेलाका स्थानीय विकास अधिकारीहरु मुक्त कण्ठले तारिफ गर्दथे ।
१५ बर्षसम्म पार्टीको जिल्ला सभापति भएर पार्टीको सेवा गरेका उनले हालसम्म कुनै पनि किसिमको लाभको पदमा बसेर काम गरेका छैनन् । यद्यपी पार्टी नेतृत्व र अग्रज नेताहरु प्रति उनको कुनै गुनासो छैन । स्थिर र दृढ स्वभावका उनले नेपाली कांग्रेसद्वारा सञ्चालित २०३६ सालको आन्दोलन तथा जनमत संग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा पटक पटक गरी प्रहरी हिरासत र करीब १ वर्ष कारावास जीवन व्यतित गरेका छन् । राजनीतिको अलावा उनले तनहुँ लायन्स क्लब, एमनेस्टी इन्टरनेशनल जस्ता सामाजिक संस्थाहरु स्थापना गरि परोपकारी र समाज सुधारका लागि पहलकदमी समेत चालेका थिए । लायन्स क्लबकै उल्लेख्य आर्थिक सहयोगमा सदरमुकाम दमौलीमा आदिकबि भानुभक्त बहुमुखी क्याम्पसको स्थापना र प्रवद्र्धनमा टेवा पुगेको थियो । क्याम्पस सञ्चालक समिति सदस्यमा रहेर काम गरेका पौडेलको त्यस क्याम्पसलाई अहिलेको अवस्थामा ल्याउन पु¥याउनु उनले खेलेको भूमिका योगदान उल्लेखनीय रहेको मानिन्छ । रेडक्रसका आजीवन सदस्य समेत रहेका पौडेलले तनहुँ रेडक्रसको सभापतिको तहमा काम गर्दा जिल्लामा स्वास्थ्य र सामाजिक विकासका लागि उल्लेखनीय योगदान पु¥याएका थिए । त्रिभुवन उच्च मावि मानेचौकाको सञ्चालक समितिको सदस्य, जिल्ला शिक्षा समिति तनहुँको सदस्य, आदिकवि भानुभक्त क्याम्पस दमौलीको सञ्चालक समितिको सदस्य भई काम गरिसकेको अनुभवको अलावा विभिन्न गैह्र सरकारी संस्था मार्फत अनुसन्धानात्मक कार्य समेत सम्पन्न गरेको अनुभूति उनीसँग छ ।
प्रस्तुत छ पौडेलसँग गरिएकाे कुराकानीको सम्पादित अंश :
राष्ट्रपतिको निर्वाचन पनि सकिएको छ, तनहुँले राष्ट्रपति पाइसकेको छ । तनहुँ १ मा उपनिर्वाचन हुँदैछ । यस सन्दर्भमा आकांक्षीहरुको चर्चा समेत शुरु भएको छ, तपाईको चाहना के हाे ?
राष्ट्रपतिको प्रसङ्ग निकाल्नुभयो । सर्वप्रथम त म राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हार्दिक बनाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । उहाँ राष्ट्रपति निर्वाचित भएर खाली रहेको ठाउँमा चुनाव लड्ने मेरो चाहना छ । म उहाँकै पछि पछि राजनीति गरेको मान्छे हुँ । तनहुँको नेपाली कांग्रेसको संगठन निर्माणमा मेरो कोही नेताको भन्दा कम योगदान छैन । म मेरो पुरा समय तनहुँ जिल्लामा बसेर संगठन निर्माण र विकासका कामहरुलाई निरन्तर रुपमा अगाडि बढाउदै कार्य सम्पादन गरिरहेको छु । मैले पार्टी संगठनलाई पञ्चायतका पालादेखि हालसम्म सबै स्थानीय तहसम्म पु¥याएर पार्टीका वास्तविक कार्यकर्ताको आवाज बोेकेर हिड्ने गरेको हुँदा मेरो कार्यवधि भरि नेपाली कांग्रेसले विचलित हुनु परेन, हार खानु परेन । र कांग्रेसको संगठनलाई एउटा दरिलो मियोको रुपमा तनहुँ जिल्लामा प्रस्तुत गरे । अब उमेर, अनुभव र अवसरका हिसावले यो मेरो निर्वाचन लड्ने पहिलो र अन्तिम प्रयास हो । कामका आधारमा योग्यताका आधारमा र योगदानको आधारमा पार्टीले टिकट दिने हो भने मेरो विकल्प छैन । गुटबन्दी, पैसा र पावरका टिकट दिने हो भने पार्टीका भोलिका दिनहरु अझ अन्धकारमय हुन सक्छन् । अरु साथीहरु पनि अवसर नपाएका हुनुहुन्छ होला । तर अरुको उमेर छ । अन्यत्र पनि स्थानमान हुनसक्छ । त्यसकारण यस पटक मेरो उम्मेदवारी अपरिहार्य हो ।
तपाई ३/३ कार्यकाल तनहुँ कांग्रेसको पार्टी सभापति भइसकेको पुरानो र सिनियर नेता हुनुहुन्छ । पार्टीले तपाईको बारेमा सोचेन भन्ने तपाईको गुनासो छ भन्ने यदाकदा सुनिन्छ, के यो सत्य हो ?
यो शतप्रतिशत सत्य हो । म ३ कार्यकाल मात्रै होइन २०३१ सालदेखि जिल्ला कार्य समितिको सदस्य भएर करिब ५० वर्ष यो पार्टीमा अनवरत काम गरेको छु । राजाको शासनकाल र माओवादीको द्वन्द्वकालमा पार्टीका क्रियाकलापहरु सञ्चालन गर्दै पार्टीलाई जोगाएर राखेको व्यक्ति हुँ म । मैले अहिलेसम्म कुनै लाभको पद पाएको छैन । मेरो जीवनको उत्तरार्धमा मैले यस पटक पनि टिकट पाइन भने मलाई घोर अन्याय भएको ठहरिनेछ । मेरो क्रियाकलाप बारे आदरणीय सभापतिज्यु लगायत सबै शीर्ष नेतालाई जानकारी छ । त्यसैले यसपटक मलाई अन्याय हुँदैन भन्ने कुरामा विश्वस्त छु ।
तपाईको इच्छा र चाहना के हो ? बेला बेलामा प्रदेश प्रमुखको चर्चा समेत सुनिन्छ त ?
मेरो चाहना जागिर होइन राजनीति हो । मैले शिक्षक छाडेर राजनीतिमा आउने थिइन । अहिले पेन्सन खाएर आनन्दसँग बसेको हुने थिएँ ।
पार्टीसँगै रिसाउनु भाको त छैन नि ! गत चुनावमा मन खोलेर प्रचार प्रसारमा पनि त्यति हिड्नु भएन तपाई भन्छन् नि ?
पार्टीसँग रिसाएको छैन । तर मैले अहिलेसम्म लाभको पद नपाएकोमा दुखेसो भने छ । चुनावमा पैसा खाएर हिड्नेहरु भन्दा बढी काम मैले गरेको छु । बढी भोट मैले पार्टीको उम्मेदवारको पक्षमा हलाएको छ । विश्वास नलाग्नेले पार्टीका उम्मेदवारहरुसँग सोधे पनि हुन्छ ।
तपाईसँगै पार्टीका अरु धेरै नेताहरुले समेत अवसर पाएका छैनन्, पार्टीमा धेरै दुःख गरेकाहरुले पनि लाभको पद प्राप्त गरेका छैनन् भन्ने पनि सुनिन्छ त ?
त्यस्तो त मैले धेरै मान्छे देख्दिन । स्थानीय तहमा पनि प्रतिनिधित्व गर्ने अनि सांसदमा पनि इच्छा राख्नेहरुको त लर्को हो । तर म जस्तै पिडित धेरै साथीहरु हुनुहुन्छ जस्तो मलाई लाग्दैन ।
अन्त्यमा तपाईले भन्नैपर्ने केही छ कि ?
पार्टीमा न्याय, विवेक, योग्यता र मूल्यांकनको आधार बनाएर काम गर्ने हो भने इच्छा गरेका सबै व्यक्तिहरुको तुलनात्मक अध्ययन गरेर पब्लिकसँग मत तान्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाएसँगै आगामी उपनिर्वाचनमा पार्टीको विजय सुनिश्चित हुन्छ ।