पोखरा । पुष्पलाल मध्यपहाडी लोकमार्गको रेखांकन फेर्न माग राख्दै पोखरा महानगरपालिकामा धर्ना दिएका छन् । पोखरा महानगरपालिका–१६ का आयोजना पिडित संघर्ष समितिले बुधबार महानगरपालिकाको प्रवेशद्वारमा धर्ना दिएका हुन् ।
चैत १ गतेदेखि लगातार वडा कार्यालय बन्द गराएर आन्दोलनमा उत्रिएको संघर्ष समितिले बुधबार महानगरपालिकामै आएर धर्ना दिएको हो । संर्षमा उत्रिएको पोखरा–१६ का स्थानीयले जनतालाई सुकुम्बासी बनाउने लोकमार्ग आवश्यक नरहेको भन्दै धर्नामा बसे । लोकमार्गले शैक्षिक, धार्मिक, पर्यटकीय क्षेत्र मास्ने स्थानीयको दाबी छ ।
जनतालाई सूचना नदिइ ३० मिटर फराकिलो सडक बनाउन बोलपत्र आह्वान गरेको धर्नामा सहभागी हरिबहादुर थापाले बताए । ‘यो राजमार्गले हामीहरु घरबारविहीन, जग्गाविहीन सुकुम्बासी हुनेछौं’, उनले भने । अधिकांश घर पोखरा महानगरपालिकाको मापदण्ड अनुसार बनेकाले लोकमार्गको मापदण्ड थपिदाँ उठिबास लाग्ने उनको चिन्ता छ ।
लोकमार्गले विकासभन्दा विनाश बढी गर्ने उनको थापाले जिकिर गरे । मध्यपहाडी लोकमार्गको रेखांकन परिवर्तन नभए पोखरा–१६ को अर्मलाकोटदेखि याम्दीसम्मको २५० बढी घरधनी सकुम्बासी बन्ने उनले जानकारी दिए । ‘लोकमार्गलाई परिवर्तन गरियोस् हाम्रो मुख्य माग हो’, उनले सुनाए ।
स्थानीयको विरोधपछि काली खोलादेखि महेन्द्र गुफा हुँदै याम्दी पुलसम्मको सडक निर्माणको काम पुष्पलाल मध्यपहाडी लोकमार्ग योजना कार्यालय कुश्माले रोकिसकेको छ ।
तत्कालीन गण्डकी प्रदेश सभा सदस्य मनबहादुर गुरुङ, पोखरा महानगरपालिकाका तत्कालीन मेयर मानबहादुर जीसी, मादी गाउँपालिकाका तत्कालीन अध्यक्ष वेदबहादुर गुरुङ र वडा अध्यक्षहरूसहित २०७७ फागुन ८ गते बसेको बैठकले भैंसेदेखि याम्दी पुलसम्मको सडक पोखरा महानगरपालिका–१३, १२, ११ र १६ हुँदै लैजाँदा संरचना ध्वस्त हुने र धेरै नागरिकहरु घरविहीन हुन सक्ने भन्दै पुनः नक्सांकन गर्न भौतिक तथा यातायात मन्त्रालयलाई अनुरोध गरेको थियो ।
बैठकले वैकल्पिक रेखांकनस्वरुप भैंसेदेखि उत्तर बेतेनी, ज्याम्दुपुलदेखि साविक सिल्दजुरे हुँदै मेलबोट, गिउजेखोला हुँदै अर्मला आँटीघर, अर्मलाकोट, अर्मलाटारी, ¥याले हुँदै महेन्द्रगुफा–लामाचौर सोझ्याएर याम्दी निकाल्ने गरी नक्सांकन÷रेखांकन गर्न सिफारिस गरेको थियो ।
नेपाल सरकारको मन्त्रिपरिषद्को २०७७ फागुन २६ को बैठकले सोही विस्तृत परियोजना प्रतिवेदनलाई आधार मान्दै भैंसे, ज्याम्दु, मेलबोट, पानीघाट, आँटीघर, अर्मलाकोट, कालीखोला पुल, अमला बिसौनी, लामाचौर, जौबारी हुँदै याम्दी पुलसम्मको ३५ दशमलव ५ किलोमिटर सडक रेखांकन पास गरेको थियो । त्यसपछि पोखरा–१६ वासीले लगातार विरोध गरिरहँदा काम अगाडि बढ्न सकेको छैन ।
पुष्पलाल मध्यपहाडी लोकमार्गले मनपरी रेखांकन गरेकाले आन्दोलनमा होमिएको स्थानीय अमृत थापाले बताए । उनका अनुसार पोखरा–१६ मा पर्ने गरेर एक वर्षअगाडि नै सडकको रेखांकन गरिएको हो । ‘रेखांकन गर्दा जनतासँग कुनै पनि किसिमको सोधपुछ गरिएको छैन । जनताको सहमति पनि लिएको छैन । घरजग्गा धनी र स्थानीय सरोकारवालाको सहमती हस्ताक्षरबिना एकतर्फी रुपमा रेखांकन गरेर हामीलाई सुकुम्बासी हुने अवस्थामा पु¥याइएको छ’, उनले भने ।
तत्कालीन वडाध्यक्ष जीवन आचार्यले २०७८ जेठ २ गते सडक रेखांकनको विषयमा जग्गामा सम्बन्धमा कुनै विवाद नरहेको, मुआब्जा दिनु नपर्ने, क्षतिपूर्तिसमेत न्यून हुने भन्दै राजमार्ग निर्माणको काम अगाडि बढाउन सिफारिस गरेका थिए ।
आर्थिक वर्ष २०६४÷६५ बाट सुरु भएको मध्यपहाडी लोकमार्र्गले २४ जिल्लालाई जोड्नेछ । १ हजार ७५६ किलोमिटर सडक निर्माण हुनेछ । कास्कीमा लोकमार्गको ३५ किलोमिटर दुरी सडक निर्माणको ठेक्का स्वच्छन्द एपेक्स जेभीले पाएको छ । ३ अर्ब ४२ करोड रुपैयाँमा ३ वर्षभित्र सक्ने गरी ठेक्का सम्झौता भएको हो ।