


काठमाडौ । अफ्रिकी देश मोरक्कोमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पले ढालेकाे भवनमा च्यापिएर कम्तीमा ३ सय जनाको मृत्यु भएको समाचार संस्था सीएनएनले लेखेको छ ।
स्थानीय समयअनुसार बिहान ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्र मोरक्कोको मराकेश शहरबाट ७० किलोमिटर टाढा थियो । स्थानीय मिडियाका अनुसार, भूकम्प यति जोडदार थियो कि त्यसको असर मराकेशबाट ३ सय ५० किलोमिटर टाढाको राजधानी रबातमा समेत महसुस गरिएको थियो ।
भूकम्पले ठूल्ठूला भवनहरू ढालेको छ । भग्नावशेषमा फसेकाहरूको उद्धारमा टिम खटाइएको छ । मृत्यु हुनेको संख्या अझै बढी हुनसक्ने अनुमान गरिएको छ ।
अमेरिकाको भूवैज्ञानिक सर्वेक्षणअनुसार, यो १ सय २० वर्षमा उत्तरी अफ्रिकामा आएको सबैभन्दा शक्तिशाली भूकम्प हो । सन् १९०० पछि उक्त क्षेत्रको ५ सय किलोमिटर क्षेत्रमा कुनै पनि एम५ लेभल वा योभन्दा ठूलो भूकम्प आएको थिएन ।