बाल दिवस र बालबालिका
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    बाल दिवस र बालबालिका

    रमेश सुवेदी

    २९ भाद्र २०८०, शुक्रबार

    बालबालिकाहरूको नाममा मनाइने दिवसलाई ‘बाल दिवस’ भनिन्छ । नेपालमा बि स २०२१ साल बाट दिवस मनाउन थालिएको भए पनि २०६३ साल देखी यो दिवस भदौ महिनाको २९ गते मनाइन थालिएको छ । विसं २०२१ सालको भाद्र ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बालदिवस २०६३ सालमा आएर भाद्र २९ गते मनाउन सुरु गरियो । इतिहासलाई फर्केर हेर्दा नेपालमा बालदिवसमा रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भ्रमण गर्ने क्रममा भारतमा महात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाउने गरेको र भारतका प्रभावशाली राजनेताद्वारा समाजसेवामा सक्रियताका साथ लागेको देख्नुभयो । तत्काल भारतबाट फर्केपछि रत्नराज्य लक्ष्मीदेवी शाहद्वारा आफ्नो जन्म दिनपारी विसं २०२१ भाद्र ४ मा नेपाल बाल सङ्गठन स्थापना गरी आफ्नै जन्म दिनमा बालमन्दिर मार्फत टुहुरा अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको दिनलाई नै राष्ट्रिय बाल दिवसको घोषणा गरी सो समयदेखि नियमित रूपमा बालदिवस मनाउन थालिएको पाइन्छ । भाद्र ४ का दिनलाई राष्ट्रिय बालदिवसको रूपमा देशले ४२ वटा बालदिवस मनायो । देशमा लोकतन्त्रको स्थापना पश्चात यसको पूरानो संरचनामा केही फेरबदल भयो परिणामस्वरुप देशमा स्थापना भएको लोकतन्त्रले बाल दिवसका मितिलाई पनि परिवर्तन ग रयो । बाल दिवसलाई बालबालिकाको आफ्नो दिवसको रूपमा मनाउने अवधारणाको साथ संयुक्त राष्ट्रसङ्घ बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई नेपालले १४ सेप्टेम्बर १९९० अर्थात २९ भदौ २०४७ मा अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रूपमा आत्मसाथ गरी सोही दिनलाई राष्ट्रिय बालदिवसको रूपमा मनाउने निर्णयअनुसार नै २०६३ सालदेखि भदौ २९ गते मनाउन थालिएको हो ।

    सरकारको तर्फबाट बालदिवसको अवसरमा मूल नारा तय गरिन्छ अनि सो विषयमा केन्द्रित कार्यक्रमहरू भव्यताका साथ गर्ने गरिदै आएको छ । तर पनि बालअधिकारका कुरा भने नारामा मात्रै सीमित देखिएका छन् । यस वर्षको नारा “बालबालिकामा लगानी ः सुनिश्चित भविश्यको थालनी“ रहेको छ । वर्ष फेरिन्छ अनि वर्षसँगै नारा पनि फेरिन्छ तर बालबालिकाको अवस्था भने जहाँको तहीँ । बालअधिकारको सुनिश्चितता, बालसंरक्षण र बालबालिकाको विषयहरु त अहिलेसम्मका नाराहरूमा समेटिएका नै छन् तर नारामा भनेजस्तै गरी बालबालिका चाहिँ किन समेटिँदैनन् ?के दिवस मनाउनका लागि मात्र नारा बनाइने गरिएको हो त ? बाल दिवस औपचारिकतामा मात्रै सीमित भइरहेको । बालबालिकाका निम्ति चाहिने आधारभूत हक र अधिकार संविधानको दफामा मात्र त सीमित छन । भन्ने जस्ता आवाज पनि उठेको पाइन्छ। यीनै प्रश्नको उत्तर सम्बेदन गर्नका लागि हामी सबै ले सोच्नु पर्र्ने देखिएको छ ।

    दिवसलाई कसरी मनाइयो भन्दा पनि दिवसले बालअधिकारका क्षेत्रमा कस्तो परिवर्तन ल्याउन सफल भयो भन्ने महत्वपूर्ण हो । बालबालिकाको क्षेत्रमा विगतभन्दा तुलनात्मक रुपमा सुधारहरू देखिए पनि गुणात्मक र सङ्ख्यात्मक हिसाबले हेर्दा अझै पनि गाँस–बाँस–कपास लगायत शिक्षा, स्वास्थ्य, सरसफाई, पोषण जस्ता आधारभूत आवश्यकताबाट बालबालिका वन्चित रहेको पाइन्छ् ।
    मुख्य कुरा बाल दिवस कहिले मनाइन्छ भन्दा पनि बालबालिकाले वास्तविक रुपमा उनीहरुले प्राप्त गर्नुपर्ने अधिकार पाए कि पाएनन भन्ने प्रश्न महत्वपुर्ण हो। बालबालिकाले उचित स्याहार संरक्षण सहितको पालनपोषण, शिक्षा, स्वास्थ्य, पौष्टिक आहार प्राप्त गरेका छन कि छैनन्। उनीहरुले समान सहभागिताको अबसर पाएका छन कि छैनन्। बाल दिवस मनाइरहँदा यी सबै बिषयको विश्लेषण हुनु आबस्यक छ। बाल दिवस मनाउने तरिका कस्तो हुनुपर्दछ बाल दिवस कसरी मनाउनु पर्दछ भन्ने प्रश्न आम रूपमा उठिरहेको विषय हो। बालबालिकाहरुले आफ्नो दिवस बारे आफै बुझ्ने र कार्यक्रम तय गरेर संचालन गर्ने अवस्था सृजना गर्नु पर्दछ। कार्यक्रम तर्जुमा गर्दा बालबालिकाहरुसंग बसेर कार्यक्रमको उद्धेश्य, सन्चालन प्रक्रिया र सहभागिता हुने तरिका बारे छलफल गरि निष्कर्ष निकाल्नु पर्दछ। हामीले बाल दिवस मनाउन थालेको ५८ बर्ष पूरा भैसकेको छ। बाल दिवस मनाइ रहदा हरेक बालबालिकाले बाल दिवसमा आयोजना हुने कार्यक्रममा सहभागिताको अबसर पाउनु पर्दछ। उमेर, रुचि र क्षमता अनुसार सरल र सहज भाषामा अन्तरक्रिया गर्न पाउनु पर्दछ। बाल दिवस मनाउने क्रममा बाल अधिकारका बिषयमा भएका राम्रा काम, उपलब्धि र चुनौतीका बिषयमा छलफल गरिनुपर्छ। राज्यका विभिन्न निकाय स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारद्वारा गरिएका प्रतिबद्धता पूरा भए नभएको पनि समिक्षा गरिनुपर्छ।

    अन्तमा,
    बालबालिकासम्बन्धी ऐन २०७५ ले अठार बर्ष उमेर पूरा नगरेको व्यक्तिलाई बालबालिका भनी परिभाषित गरेको छ । बाल अधिकार बालबालिकाको जन्मसिद्ध वा नैसर्गिक अधिकार हो । सामाजिक सुरक्षा, शिक्षा दीक्षा, माया, स्नेह, शान्ति, समझदारी, बालमैत्री वातावरण, पोषिलो खानपान आदि बालबालिकाको नैसर्गिक अधिकार हो । अझ भन्नुपर्दा बाल अधिकार अन्तर्गत बाल बचाउ, बाल विकास, बाल संरक्षण, बाल सहभागिता जस्ता महत्वपुर्ण विषय पर्छन् । बाल अधिकारका कुरा दस्तावेज र नारामा सीमित देखिएका छन् । नेपाल सरकारले बालबालिकाको थुप्रै हकको प्रत्याभूति गरे पनि कार्यान्वयनको पाटो फितलो भइदिँदा कयौं बालबालिका अधिकारबाट बञ्चित भएका छन् । अझै पनि सवारी साधनमा, होटल तथा रेष्टुरेण्टमा, केही उद्योग धन्दाहरुमा बालबालिकाले सस्तो मूल्यमा श्रम बेच्न तथा हिंसा दुरवर्््यवहार भोग्न बाध्य छन् । कतिपय बालबालिकाले सडकमै दिनरात बिताएका छन् ।बालबालिकालाई उनीहरुको पढाई र अन्य व्यवहारमा अरुसंग तुलना नगरौं । हरेक बच्चा आफैंमा बिशेष हुन्छन् । केवल उनीहरुमा भएको क्षमता पहिचान गरी त्यसलाई उजागर गर्न प्रोत्साहन गरौं ।आज बाल दिवसको अवसरमा मात्रै नभई म, तपाईं, सम्बन्धित निकाय र सरकार बालअधिकारप्रति सदैव संवेदनशील हौँ । वर्षमा एक दिनमात्र पर्ने बाल दिवसका नारालाई वर्षैभरि मनाऔँ र व्यवहारमा लागू गरौँ । उनीहरूको सुन्दर भविष्य निर्माणप्रति गम्भीर हुँदै जिम्मेवार र उत्तरदायी बनौँ ।
    राष्ट्रिय बाल दिवस २०८० को सम्पूर्ण बालबालिकालाई हार्दिक शुभकामना !