भिजिट भिसामा विदेश जानेहरूको गुनासो सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भिजिट भिसामा विदेश जानेहरूको गुनासो सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

    खबरपुञ्ज संवाददाता

    २ माघ २०८०, बुधबार

    काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती झेल्नु परेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।
      
    उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालयका सचिवहरूसँग बुधबार भएको छलफलमा प्रधानमन्त्रीले त्यस्तो निर्देशन दिएका हुन् ।   
      
    छलफलमा प्रधानमन्त्री प्रचण्डले भिजिट भिसा र श्रम स्वीकृति लिएकाहरूलाई विमानस्थलमा सास्ती दिने गरेको गुनासो आएको उल्लेख गर्दै तत्काल सहज वातावरण सिर्जना गर्न निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।   
      
    प्रधानमन्त्री प्रचण्डले भने “भिजिट भिसामा जानेलाई कागज पुगेन भनेर विमानस्थलबाट फर्काउने र फेरि केही दिनपछि ‘सेटिङ’ मिलाएर पठाउने गरेको गुनासो मैले सुनेको छु, भिजिट भिसामा घुम्न जानेहरूका सम्बन्धमा अध्यागमन कार्यविधिअनुसार गर्नु÷गराउनु होला । जनतालाई हैरानी दिने काम बन्द गर्नुहोला ।”   
      
    प्रधानमन्त्रीले पालिकास्तरसम्म गएर वैदेशिक रोजगारी र भिजिट भिसाबारे चेतनामूलक कार्यक्रम गर्न, राष्ट्र र जनताको हितमा काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।