


ललितपुर, १७ साउन । भित्ता भरी झ्याउ अनि पानी भरिएर पोखरी जस्तो बनेको पाटन दरवार स्क्वायर नजिकैको ‘सौगा हिटी’ रोटरी न्यातपोलाको अग्रसरतामा सरसफाइ र रङरोगन गरिएको छ ।
ललितपुर महानगरपालिका प्रहरी, सौगाल टोल सुधार समिति र मङ्गलबजार प्रहरी चौकीको सहकार्य तथा रोटरी न्यातपोलका प्रविन महर्जनको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।
“हिटीमा करिब ३ फिट पानी जमेको थियो”, महर्जनले भने, “पहिलो चरणमा हिटीको पानी निकालियो, स्टील ब्रस र प्रेसरपम्पले सफा गरेपछि हिटी रङ्गरोगन गरिएको हो । आवश्यक रङ केएनपी नेरोल्याकले सहयोग गरेको थियो ।”
यो केवल सफाइ मात्र नभई सांस्कृतिक सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र संस्कृतिक सम्पदा संरक्षण गर्ने अभियान रहेको क्लबका अध्यक्ष बिष्णुकान्त घिमिरेले बताए ।
अध्यक्ष घिमिरेले भने, “यस वर्ष हामीले सांस्कृतिक सम्पदा संरक्षण, बालबालिका लक्षित सहयोग र किसानसँग सहकार्य गर्ने गरी विभिन्न योजना बनाएका छौँ, सौगा हिटी सरसफाइबाट यसको सुरुआत भएको छ ।”
रोटरी न्यातपोलको योजनामा आफ्ना पुर्खाले सिर्जेको सम्पदा संरक्षणको हिस्सा बन्न पाउँदा खुसी लागेको ललितपुर नगर प्रहरीका प्रमुख सिताराम हाछेथुले बताए ।
खानेपानी व्यवस्थापन गर्न १६औँ शताब्दीमा तत्कालिन राजा सिद्धिनरसिंह मल्लका भाइ रिद्धिनरसिंह मल्लद्वारा निर्माण गरिएको सौगा हिटी कलात्मक शिल्पकौशलको उत्कृष्ट उदाहरण पनि हो । विसं २०२२ मा तत्कालिन राजा महेन्द्रले हिटीको जिर्णोद्वार गराएका थिए ।