सुस्केराको लम्वेतानले जीवन नै निरर्थक बनाए जस्तो । लाग्दछ, यही सोचका बीचमा सुस्केराको निकटता धेरै नै छ । सोचको चेतनासँग तादात्मयता नमिल्दा निम्ताएको यो पल सधैभरि रहिरहनेछ र अमूल्य पलहरु यहि नै धुमिल हुनेछन् । रातको त्यो अँध्यारो सधै रहिरहन्छ झै लाग्ने पलमा सोचको त्यो दरिद्र्रताले साँच्चै निरर्थक बाहेक केही नभए जस्तो । अत्यासलाग्दो पलमा सार्थकता थप्ने प्रयत्न जीवनमा देखिने महत्वकांक्षाले ठूलो प्रभाव पारेको हुँदो रहेछ । प्रकृतिको नियमनलाई समेत बुझ्न नसक्ने र त्यसको व्यावहारिक कार्यन्वयनमा तत्परता नदेखाउनु त्यसको कारक बन्दो रहेछ । दिन र रातको दैनिकी झै जीवनको दैनिक पनि स्थिर हुन नसक्ने सत्यतालाई ढाकछोप गरिरहँदा त्यसले पार्ने प्रभावले जीवनको अमूल्यतालाई नै धुमिल बनाईदिने रहेछ । वातावरणीय सन्तुलन र असन्तुलनको निरन्तरताले जीवनको सोचमा पार्ने प्रभावलाई चिर्न सक्ने हैसियत नराख्दा कहिल्यै संसार नै जितेझै आभाष हुने र कहिले खण्डहर हुने सोच मानव जातिको मस्तिष्कमा जरा गाडेर बसेको हुँदो रहेछ ।
पृथकतामा रम्न कत्तिको सहज हुन्छ, भन्ने कुरा समेत सोच्न सक्ने ल्याकत नराख्ने हैसियतमा आम मानव जाति रहेको हुँदो रहेछ । उज्यालो मात्र हुँदैन भने झै जीवनमा पनि सधै खुशी र सुख प्राप्त हुदैन, त्यसले कालरात्रीको पनि सामना गर्नुपर्ने हुन्छ, यही यथार्थविहिनतामा अल्झेको जीवनले नैराश्यता, अपूर्णता शिवाय अन्य केही दिन सक्ने रहेनछ । आदिमकालदेखि नै सृष्टिको निरन्तरतामा प्रकृतिले आफ्नो गति निरन्तर रुपमा अगाडी बढाइरह्यो । प्रकृतिको यो निरन्तरतामा आम सजिव र मानव जातिले आफ्नो भूमिका प्रदान गरेतापनि त्यस भित्र जीवनको अर्थ भेटियो कि भेटिएन भन्ने कुराको बहस हुन सकेन । यहि नै जीवनको प्रश्न बनिदियो । यसकै उत्तरमा घोत्लिएको जीवनमा नैराश्यता शिवाय अन्य उपलब्धि हुन सकेन । आम होइन, खास बन्नका लागि पृथक कार्ययोजना र सोचको आवश्यकता पर्दछ, सोच एकातिर कर्म अर्कोतिर अनि आशा र अभिलाषा फरक राख्दा झन् झन् जीवनमा नैराश्यताले बास गरिदियो । जीवनका प्राप्ति र आवश्यकता के भन्ने कुरामा कहिल्यै घोत्लिन नसक्दा सतही सोचले उच्च महत्वकांक्षाको विजारोपण गरिदियो ।
आवश्यकताको पूर्णता के भन्ने कुरामा सोच्ने ल्याकत नराख्दा, संसारमा सबैभन्दा सर्वश्रेष्ठ प्राणीको उपमा पाएको मानव जातिले जीवनको औचित्य कति पुष्टि भयो भन्ने हेक्का राख्न सकेन । व्यक्ति केन्द्रित सोच र भौतिक सम्पति प्राप्ति नै जीवनको मुख्य उपलब्धताले जरा गाडेको मस्तिष्कले म भित्रको म लाई सोच्ने जरुरी ठानेन । धर्तीमा जन्मेपछि हरेक सजिव प्राणीको आफ्नो आफ्नो भूमिका र जिम्मेवारीता रहेको हुन्छ, त्यो जिम्मेवारीता र भूमिका मानव जातिको अव्वल नै रहने भयो । तर त्यो जिम्मेवारीता कति बहन भयो ? भूमिकाको खोजी कति भयो ? मानव जातिको उद्देश्य कति पूर्ण भयो ? यसको लेखाजोखा सायद कसैले गर्लान् ? वातावरणीय प्रभावको पनि कुनै निश्चित गति हुँदैन, वायुमण्डलमा बहने हावाको पनि कुनै निश्चित मात्रा हँुदैन, जन्म र मरणको पनि कुनै समान हुँदैन भने जीवनमा सधै समान परिणाम खोज्नु मानव जातिका सबैभन्दा कमजोर पक्ष हो । कमजोरी सबैमा हुन्छ, तर त्यसलाई ग्रहण गर्ने सोच कस्तो हुन्छ भन्ने कुराले जीवनमा ठूलो प्रभाव पारेको हुन्छ । हामी त्यहि प्रभाव र अभावमा अल्मलिईरहेका छौ । यहि हेक्काविहिन जीवनमा घिस्रिनेहरु केही सन्तुष्ट र खुशी देखिएतापनि त्यसले जीवनको अर्थ भने दिन सक्दैन । जो जीवनको गहिराईमा पुगेर अर्थ खोज्न थाल्दछ, उनीहरु भौतिक रुपमा सम्पन्न र खुशी हुन सक्दैन, किनकी त्यो बाटो हिँड्न त्यति सहज हुँदैन, कमैले मात्र त्यस भित्रको पटाक्षेप औल्याउने दुस्साहस गर्दछन् ।
सकारात्मक र नकारात्मक पाटो सृष्टिको हरेक जीव, प्राणी, वस्तुमा पाईन्छ । फरक यति मात्र हो कि कुन पक्ष सकारात्मक हो र कुन पक्ष नकारात्मक हो । यहि पक्षको उचित मूल्यांकन गर्न नसक्दा आम मानव जातिहरु जीवनको मान्यता भन्दा बाहिर रहने गर्दछन् । एक पक्ष देखिँदै गर्दा अर्को पक्ष पनि लुकेको हुन्छ, देखिने पक्ष मात्र सक्षम र सवल हुन सक्दैन, देखिने पक्ष र आकारको लागि लुकेको पक्ष र आकारले महत्वपूर्ण भूमिका खेल्दछ, यहि एकमात्र सत्य हो । तर त्यो सत्यतालाई बुझ्न नसक्दा हामी एकपाखे बनिरहेका छौ, त्यहि एकपाखे सोचले जीवनमा सकारात्मक पक्षलाई ढाकिदियो । आम प्रवृत्ति यहि बनिदियो ।
रथ चल्नका लागि दुवै पांग्राको आवश्यकता पर्दछ, देखिएको पाखोको अस्तित्व नदेखिएको पाङ्गोको महत्वपूर्ण भुमिका हुन्छ, यहि नियम सृष्टिको हरेकतामा लागु हुन्छ, । म भित्रको म मा भएको त्यो पक्ष पनि त्यही हो, तर एक पक्षको मात्र उठान गरिरहँदा अर्को पक्षको भूमिका नजरअन्दाज गरिदिँदा आईपरेको समस्याले जीवन बन्धक वनेको हुन्छ, जसको हेक्का कमैलाई मात्र हुने रहेछ ।
जीवनका सार्थकता खोज्ने कार्यमा म भित्रको दुवै पक्ष नियाल्न नसक्दा नै हामी यति धेरै जीवनको वास्तविक मूल्य, मान्यता र सिद्धान्त बाहिर छौ । न्याय, समानता र आवश्यकता खोजी गर्ने कर्ममा बिर्सिएको अर्को पाटोको जवसम्म हामीले पहिचान गर्न सक्दैनौ, जीवनको परिभाषा र म भित्रको म प्राप्त गर्न सकिदैन ।