केही नेवार समुदायमा भाइटीका लगाएसँगै सकियो तिहार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    केही नेवार समुदायमा भाइटीका लगाएसँगै सकियो तिहार

    खबरपुञ्ज संवाददाता

    १ मंसिर २०७७, मंगलवार

    काठमाडौ : प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयाका दिनसम्म मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आज दोस्रो दिन किजापूजा गरेसँगै समाप्त भएको छ ।

    नेवार समुदायको केही समूहमा कात्तिक शुक्ल द्वितीयामा सूर्योदय भएका दिन नै भाइटीका लगाउने कुल परम्परा रहेकाले त्यस समूहका दाजुभाइले आज दिदीबहिनीबाट टीका लगाएका हुन् । नेवार समुदायका केही समूहका दिदीबहिनी र  दाजुभाइले श्रद्धा, र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिएका छन् । 

    दिदीबहिनीलाई पूजा गर्नाले  अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ । यसैगरी दिदीबहिनी एवं दाजुभाइ नहुनेले भाइटीकाका अवसरमा दर्शन गर्ने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर आज पनि बिहानदेखि नै खुला छ । यमपञ्चक भने सोमबार नै सकिएको हो ।
         
    यसपटक पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माणपछि तिहारमा पहिलो पटक खुलेको हो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाका अवसरमा मात्र खुल्छ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गएर पूजा, दर्शन गरी टीका लगाउने गर्छन् । पाँच वर्षपछि खुलेको बालगोपालेश्वरमा आज पनि भक्तजनको भीड लागेको छ ।
     
     यसैगरी जयबागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् डा गोविन्द टण्डनले बताउनुभयो । भाइटीकाका अवसरमा आज पनि सरकारले सार्वजनिक बिदा दिएको छ ।

    सोमबारदेखि नेपाल संवत्अनुसारको नयाँ वर्ष ११४१ पनि सुरु भएको छ । एक हजार १४१ वर्षअघि शङ्खधर साख्वाले नेपाल संवतको सुरुआत गरेका थिए ।