हाम्रो तीन जनाको संसार, दुईजना छोरा र म हामी तिनैजनाको बसाई काठमाडौंमा थियो । नेपाल पत्रकार महासङ्घको चुनाव लड्न गृह जिल्ला तनहुँमा चैत १८ मा आएको म गण्डकी प्रदेशबाट उपाध्यक्षमा निर्वाचित भएपछि पनि छोराहरुसँग भेट भएको थिएन । छोराहरुसँग जितको खुशी बाँड्न पहिलो प्राथमिकता थियो । यतिका दिन उनीहरुबाट टाढा बस्दा म निक्कै आत्तिएको थिए । कोभिडको दोश्रो चरणको भ्याक्सिन कोभिसिल्ड लगाउने मेरो पालो ९ गते थियोे । मैले सिभिल अस्पताल नयाँ बानेश्वरमा पहिलो चरणको खोप लगाएको थिएँ । दोश्रो खोप लगाएपछि मलाई रिङ्गटा लाग्ने र वाकवाकी लाग्ने भएको थियो, पहिलो खोपको असर भने केहि थिएन । वैशाख १५ गतेदेखि काठमाडौंमा लकडाउन हुँदै थियो, दुवै छोराहरु लकडाउनमा दमौलीमा रहेको घरजाने भन्दै थिए । उनीहरु घर नगएको धेरै भएको थियो,मैले भिडमा कोरोना सर्छ अलिपछि जाउँला भनेर टारे ।
वैशाख १४ गते ठूलो छोरा सौगात अफिस सकेर कोठामा आइपुग्दा बेलुका करिब ६ बजेको थियो । उसले आउने बित्तिकै फेरि भन्यो ममी आजै घर जाम ! मैले फेरि भने प्रेस कार्ड छ गाडी खोजेर सुरक्षित तरिकाले अर्को दिन जाने ! म त्यो दिन प्रेस कार्ड नवीकरण गर्न पत्रकार महासङ्घ गएको थिए ।
वैशाख १५ गते बिहान सवारी जामका कारण काठमाडौं छाडेर बाहिरिने नागरिकले पाएको सास्ती हेर्दै चिया बनाउदै थिएँ ठूलो बाबु नुहाउन गयो, चिसो पानीमा नुहाएको भनेर कराए । त्यो बिहान उसले खानासँगै दही पनि खाएको थियो । दिउँसो खाजा खाने बेलासम्म सौगातले खोक्न शुरु गरिसकेको थियो, तीन बजेतिर ममी ज्वरो आयो छाम्नु त भन्यो मैले चिसोपानीमा नुहाएको र दहि किन खाएको भन्दै सिटामोल खान दिए । १७ गते बिहान सानो बाबु सौरभ निदाइरहेको थियो, म बिउँझेको थिए तर उठेको थिइन । ठूलो छोरा सौगातले १ ग्लास तातोपानी पियो अनि बाथरुम जान ढोकाखोल्न खोज्दा उ त्यही ढल्यो । म उठाउन गएँ, छोराको शरीर पसिनाले निथु्रक्क भिजेको थियोे, निक्कै चिसो थियोे । हामीले सोच्यौ ज्वरो निको हुन पसिना आयो!तर फेरि ज्वरो आयो खोकी त छँदै थियो ।
घर फर्कने गाडीबारे ४÷५ जनासँग कुरा भएको थियो मैले सबैलाई २÷४ दिनपछि जाउँला भने मेरो मनमा छोरालाई कोरोना भयो की भन्ने थियो । सानोबाबुलाई अनलाइन कक्षा लिन आग्रह गर्दै हनहनी ज्वरो आएको ठूलो छोरालाई पैदल हिडाउँदै सिनामंगलस्थित केएमसि अस्पतालमा पिसिआर दिन पुगे । अस्पतालमा पिसिआर दिनेको लाइन थियो सबै खोकिरहेका थिए । १५ सय तिरेर पिसिआर दिएर हामी घर फर्क्यौ, बाटोमा छोरा हिँड्न सकिन भन्दै थियो । आफ्नो सवारीसाधन नभएका हामीलाई हिँडेरै कोठामा पुग्नुपर्ने बाध्यता थियो । रिपोर्ट बेलुका ४ बजेतिर पोजिटिभ आयो । मलाई ठूलो ढुङ्गाले टाउकोमा थिचेजस्तो भयो, पैताला भासिएजस्तै भयो । ठूलो छोरालाई केही हुँदैन तिमी नआत्तिनु है बाबू भन्दै अङ्गालोमा लिए उस्ले हजुरलाई सर्छ भन्यो । मैले तिमीहरु बिनाको जिन्दगी किन चाहियो र मलाई भने उ केही बोलेन । सानो छोरा सौरभ र म फेरि पिसिआरका लागि पैदल केएमसि अस्पताल तिर लाग्यौं । अस्पतालमा ज्यान भएपनि ध्यान घरमा एक्लै रहेको ठूलो छोरामा थियोे । मेडिकलमा ठूलो बाबुको लागि १४ दिनलाई पुग्ने भिटामिन सि, डि, जिन्क खोकीको , एजिथ्रो लगायतका औषधि किने । पक्कै पनि सौरभ र म पनि पोजिटिभ हुन्छौं भन्ने थियो हामीलाई पनि त्यही औषधि किन्यौ । पिसिआरको ३ हजार बुझाएपछि मसँग भएको पैसाले पुगेन, सानो छोरा सौरभले १५ सय तिर्दै मैले केही पर्छकी भनेर मसँग भएको पैसा ल्याएको थिएँ भन्यो । कहिलेकाही मैले दिएको पैसा उस्ले जोगाएर राखेको रहेछ । फार्मेसीवालाले अक्सिमिटर लैजानु भनेको थियो त्यतिबेला हामीसँग त्यो किन्ने पैसानै पुगेन । एक चाइनिज साथीले १५ बट्टा औषधि दिँदै यो औषधि खाएपछि ठिक हुन्छ भने हामीले त्यो औषधि पनि खायौ । तनावले मेरो शरीर फत्रक्क गलेको थियोे, सानो बाबुले केही प्रतिक्रिया दिएको थिएन । सानो बाबू र म पनि कोभिड पोजिटिभ भएको रिपोर्ट आयो । मेरो सिङ्गो संसार पोजिटिभ भयौं । जस्तोसुकै परिस्थितिमा पनि लड्ने म एकाएक कम्जोर भए, दशैमा कोभिडबाट दाजु दिपक विष्टलाई गुमाएको सम्झे । बाबुहरुले घर जाम भनेको सम्झे, हाम्रो आँशु र खुशी साक्षी त्यो घर दुई महिना अघि मर्मत गरेको त्यो घरमा अब हामी फर्कन पाइएला या नपाइएला त्यो सम्झे, आफूले तिर्नुपर्ने ऋणसम्झे । मलाई रातभर निन्द्रा लागेन केही मन मिल्नेलाई आफ्नो अवस्था सुनाउँथे केही हुन्न नआत्तिउ भन्दा पनि जिन्दगी उपहार पाएजस्तै हुन्थ्यो । आफूले पैसा लिनुपर्नेहरुलाइ फोन गरेर लिनुपर्ने पैसा मागे, कसैले दिएनन् । सिङ्गो परिवार कोरोनासँगको लडाइँ लडिरहदा आफ्नै पैसा पनि भिख मागेजस्तो गरि माग्दा मन निकै दुख्यो । डिजिटल घडीबाट हेर्दा ठूलो छोराको अक्सिजन लेभल घट्दै जान थाल्यो घडीको भर लागेन । अक्सिमिटरको लागि पत्रकार महासंघ केन्द्र गुहारे तर कसैले ल्याइदिएनन् । अवस्था जटिलबन्दै थियो घोप्टो परेर सुत्ने, वृथिङ एक्सर्साइज गर्ने गयौ । ठूलो छोराले टाउको उठाउनु समेत नसक्ने भयो । एक प्रियमित्रले अक्सिमिटर पठाइदिनुभयो ९० सम्म झरेको अक्सिजन लेभल बढाउने अनेकौं उपाय गर्थ्यो सौगात । म आफ्नो पीडा लुकाएर उनीहरुलाई हामी युद्धमा होमिएका सिपाही हौ अन्तिमसम्म लड्नुपर्छ र हामी तिनैजनाले जित्नुपर्छ भन्थे, उनीहरु हस् भन्थे । विभिन्न परिस्थितिसँगको लडाइँले हामीलाई मजबुद बनाएको थियो । सौगातलाई निमोनिया भयो कि भन्ने चिन्ता थियो मलाई तर छोरा अस्पताल जाने कुरा गरेपछि डराउँथ्यो । अस्पतालमा पुगेपछि नफर्किएका घटना र समाचारको छाप नराम्रो परेको थियो । म तातोपानीको बाफ, दाल, उमारेको गहुँ र गेडागुडीको सुप, बेसार, टिमुर, ज्वानो, अदुवा लसुन मह,कागती मिसाएर प्रसस्त झोलिलो खानेकुरा बनाउँथे उनीहरु खान मन गर्थेनन् म जबरजस्ती खुवाउँथे । ठूलो बाबुलाई ज्वरो, खोकी, खानाको स्वाद हराउने भएको थियो । कान्छो र मलाई श्वास फेर्न अप्ठ्यारो वाकवाकी त्यस्तै लक्षण थियो । उनीहरुको अगाडि म केही नभएको जस्तो गर्थे उनीहरु मलाई वाहुबली भन्थे । ठूलो छोरा घोप्टो परेर सुत्थ्यो मैले जबर्जस्ती खुवाउँथे । सामाजिक सञ्जाल मृत्युमय थियो हामीले त्यता ध्यान दिएनौ । आफू रहे संसार रहन्छ र हामीले यस लडाइँ जित्नु छ भन्दै हामीले दुई हप्ता भन्दा बढी कोभिडसँग लड्यौ । अन्तमा कोरोनाको नयाँ युके भेरियन्टले हार्यो हामीले जित्यौ, जिन्दगी पुनः पायौं तर यो बीचमा कयौं साथीहरू र आफन्तले ज्यान गुमाए । पत्रकार महासंघ गण्डकी प्रदेशका साथीहरू, हामीलाई काठमाडौंदेखि गाडी ब्यबस्था गरि घरसम्म ल्याइदिनुहुने राजेन्द्र न्यौपाने, खानेकुरादेखि अस्पताल जान परे भन है हामी छौ भन्दै मेरो सिङ्गो संसारको स्वास्थ्यलाभको कामना गर्दै उर्जा दिने सम्पूर्ण प्रियमनप्रति आभारी छौ । निको भएपछि हाम्रो परिवार अहिले दमौलीस्थित घरमा स्वस्थलाभ गरिरहेका छौ । कोभिडले गलाएको शरीरलाई फेरि चलायमान बनाउँदैछौ । म आफै गत वर्ष भएको प्याङकृयाटाइटिस भएर सुगरको बिरामी तर कोरोना विरुद्धको भ्याक्सिनले मलाई कोभिड जित्न सजिलो भयो, ठूलो छोराले भ्याक्सिन लगाएको थिएन कुनैपनि रोग नभएको उसलाई निक्कै गाह्रो भयो । सबैलाई भ्याक्सिन लगाउन अनुरोध गर्दै कसैलाई प्लाज्मा आवश्यकता परे हामीलाई सम्झनुहोला । कोभिड महामारी भाइरसजन्य संक्रमण हो संक्रमित हुनु अपराध होइन त्यसैले अमानवीय व्यबहार कसैलाई नगरौ र निको भएकालाई सम्मानपूर्वक बाँच्न दिउँ ।