अभिलाषा र अन्तरवार्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    अभिलाषा र अन्तरवार्ता

    मुक्ति नेपाली

    १८ जेष्ठ २०७८, बुधबार

    लोकसेवा न के ? नेपालमा केमा सोर्स फोर्स लाग्दैन र ?

    लिखितमा सम्म हो नत्र त कि पैसा पेल्नुपर्छ कि आफ्नो मान्छे हुनुपर्छ । आसपासका मान्छेले त्यसै भनेको सुन्दै हुर्केको मलाई जागिर खान अब यी दुई कुरा जुटाउनु पर्छ कि भन्ने पनि भयो ।

    पैसा दिएर जागिर किन खाने ?

    के जतिपनि सरकारी कर्मचारी छन् ति कुनै न कुनै रुपमा अनैतिक तरिकाले त्यहाँभित्र घुसेका हुन् ?

    घुस खुवाएर जागिर खाएकै कारण सरकारी कर्मचारी यतिसारो भ्रष्ट छन् ?

    पैसा खुवाएर वा आफ्नो मान्छे भएकाले मात्रै जागिर खाने भएको भए रत्नराज्यलक्ष्मी क्याम्पसका मेरा सहपाठीहरु जो मरीमरी लोकसेवाको तयारी किन गरिरहेका छन् ?

    उसो भए त्यत्रो बलिदानपूर्ण इतिहास निर्माण गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्र कसका लागि हो त?

    लिखितमा नाम निस्केको केही दिनसम्म मेरो मस्तिष्कमा यिनै प्रश्नहरु अनुत्तरित भए ।

    उतिबेला सर्वसुलभ फोन त थिएन अहिले जस्तो इमेल इन्टरनेटको त के कुरा ? म माथिका यि प्रश्नको गतिलो उत्तरको खोजीमा थिए ।

    काठमाडौमा हामीलाई सिकाउनुहुने डाक्टर हुनुहुन्थ्यो मुकुल उपाध्याय, लगभग जागिरको १५ वर्ष गुजारीसक्नुभएको उहाँ नै लोकसेवाको अन्तरवार्ताको गाइड बन्न सक्ने भरपर्दो मान्छे ठाने । म उहाँकै डेरासम्म  पुगेर आफ्ना मनका भडास पोखे ।

    “हाम्रोजस्तो परिक्षा प्रणालीमा लिखितले नै धेरै महत्व राख्छ ।तपाईँले लिखितमा सबैभन्दा राम्रो गर्नुभयो भने स्वतः अगाडी आउनुहुन्छ तर लिखितमा प्रतिस्पर्धिको भन्दा कम अंक आएमा  छनौटमा आउने सम्भावना पनि कम हुन्छ । दुई सिटको लागि छ जनाको नाम लिखितमा निकाल्नु भनेको अत्यान्तै प्रतिस्पर्धात्मक अवस्था हो । धेरै जनाको प्राप्ताङ्क जुधेर नै चार जनाको नाम निकाले हुने ठाउँमा छ जनाको आएको हुने नै भयो।सोर्सफोर्स पैसा आदि इत्यादि कुरा कहिल्यै लोकसेवाको परिक्षा नदिनेले भन्ने कुरा हुन् तपाई ढुक्क भएर तयारीमा लाग्नुस् ।अझ मेहनेत गर्नुस् यसैलाई मिसन बनाउनुस् यसपालि नभए अर्कोपालि हुन्छ” । डाक्टर मुकुलको यो कुराले नै मनमा बिझाईरहेको काडो निस्केजस्तो भयो ।

    लोकसेवाको प्रकृति, अन्तरवार्ताको तयारी देखि विभागीय संरचना र कृषि तथा पशुपन्छी सम्बन्धि बुलेटिनहरु मैले डा मुकुलबाट पाएँ र सोही अनुसारको तयारी पनि शुरु गरे।

    मान्छेलाई पिर सधै हुनेरहेछ । अस्तिसम्म लोकसेवामा भनसुन गर्ने मान्छे छैनन् भन्ने पिर, आजबाट मेरो लिखितमा कम नम्बर आएको भए त अन्तरवार्ताले खास महत्व राख्दैन अनि सिफारिस नभइएला भन्ने पिर ।लाग्छ मान्छे पिरैपिरको भारीले थिचिएर मर्छ ।

    बैशाख २१ गते वाग्लुङमा हुने अन्तरवार्ताको लागि काठमाडौंबाट उतातिर १८ गते नै लागे । बन्दको मौषम थियो कतिखेर, कहाँ, कसले बन्द गर्थ्यो थाहै नहुने ।कता बन्दमै परिन्छ कि जस्तो । कुश्मामा बन्दको भिक्टिम भएर आफन्तकै सहयोगमा २० गते नै वाग्लुङ पुगे ।

    २१ गते अन्तरवार्ताको दिन सबै साथीहरु तम्तयार भएर अन्तरवार्ता दिन आएका । आएका मध्ये चिनजान भयो अनिल कुमार महतो, प्रताप पौडेल र राजेश पाण्डे अनि अरु समुहमा नाम निकाल्ने साथिहरु राजु गौतम अनि प्रकाश पुन सबै सबैको साथी सबै सबैका दुश्मन आयामहरु कति धेरै हुदा रहेछन् ।लोकसेवामा समावेशीताको अभ्यास भर्खर शुरु भएको थियो अहिले झै सबैको एकै पेपरमा परिक्षा हुन्थेन । समावेशीको छूट्टै, खुलाको छुट्टै ।

    दुईटै समुहमा नाम निकाल्ने २ जना थिए राजेश पाण्डे र प्रताप पौडेल । बाँकी सबैका लागि खतराका घण्टी पनि त यिनै दुई जना लाग्थे । यिनलाइ पनि त हामीसंग डर नै लाग्थ्यो होला नि ! युद्धमा मलाई फलानासंग डर लागेको छ कसले भन्छ र ! मैले पनि त कसैलाई यि दुईजनासंग व्यापक डर लागेको छ भनिन । थपक्क एकठाउँमा बसेर यिनका कुरा सुन्दैगर्दा यिनीहरुको अगाडी अन्तरवार्तामा पछारिने अनुमान भने टुप्पासम्मै पुग्यो ।अन्तरवार्ताको पालो आयो । भित्र छिरे, राम्रै भएजस्तो लाग्यो ।विषयगत भन्दा प्रशासनिक कुरा धेरै सोध्दारहेछन् । लोकसेवाको पहेँलो फारम भर्नेबेलाको अनुभवले राम्रो काम गर्यो । समग्रमा अन्तरवार्ता सकियो,राम्रै भयो तर मनको एक कुनामा रहेको डर सकिएन।धौलागिरिको यात्रा लगभग समाप्त हुने मनस्थिति तयार हुन थाल्यो ।एकजना अन्तरवार्तामा अनुपस्थित भएका कारण नतिजा १५ दिनपछि आउने या कहिले आउने निश्चित भएन।

    अनिश्चितताको निश्चितता संगै रात्रीबसको टिकट काटे, बसमा चढ्दानचढ्दै समाचार आयो प्रधानमन्त्री प्रचण्डद्धारा राजिनामा । भोलीदेखि राष्ट्रिय स्वाधिनताको लागि आन्दोलनको घोषणा ।मेरो मनमा पनि आन्दोलन चल्न थाल्यो ।धौलागिरि कि काठमाडौं ? सरकारी कि प्राइभेट ?

    (सरकारी जागिरको १२ वर्ष पुगेको अवसरमा १२ श्रृङखला प्रस्तुत गर्ने उद्देश्य बमाेजिम रचना गरिएकाे चौथो श्रृङखला)