इतिहास र संस्कृति दुबै राष्ट्रको पहिचान र गौरवताका कडीहरु हुन् । जस्ले विगतको इतिहास बुझदैन उस्ले वर्तमान बुझ्दैन र जस्ले वर्तमानलाई बुझ्दैन उस्को भविष्य पनि अन्धकारमय नै रहन्छ । इतिहासको गहिरो अध्ययन बिना बर्तमान र भविष्यको गोरेटो निर्धारण गर्न सकिंदैन । यस्तै परिस्थिति सृजना भएको छ मिर्लुङकोटको इतिहास निर्माणमा । इतिहासले मिर्लुङ्को हिंजो अस्तिको कस्तो स्थिति थियो भन्ने बारेमा स्पष्ट पार्दछ । मिर्लुङ्मा सेनवंशीहरुको राज्य थियो भन्ने विषयमा मिर्लुङ निवासीहरुको एउटै आवाज आउँछ । तनहुँबाट निर्वासित राजकुमार मिर्लुङको चुचुरोमा पुगेर चारैतिर नजर दौडाए । मिर्लुङकोट स्वयंममा प्राकृतिक, सांस्कृतिक, धार्मिक र जैविक विविधताको अनुपम भण्डार थियो नैे । दक्षिणतर्फ फर्केर रहेको मिर्लुङको उत्तरतर्फ अवस्थित अन्नपूर्ण , लमजुङ र बौद्ध हिमालका हिमश्रृङखलाहरु, तनहुँ लमजुङ, कास्की र गोरखाको विभिन्न महाभारत पर्वत श्रङृखलाहरु र मादी, मस्र्याङ्दी, रिस्ती, पिस्ती, नाउँदी, पाउँदी कस्र्याङदी र चुंदी खोलाले बनाएका वेसी तथा टारहरुका अनुपम दृष्यहरुले राजकुमार धर्माङ्गद सेनलाई मन्त्रमुग्ध बनायो । मिर्लुङका सुन्दर प्राकृतिक भण्डार देख्न पाउँदा राजकुमार अत्यन्तै हर्षित भए । अन्ततः तनहुँबाट खेदिएका राजकुमार धर्माङ्गद सेनले लमजुङको यात्रालाई बिट मार्दै मिर्लुङमा एक स्वतन्त्र ठकु¥याई स्थापना गरेका थिए । मिर्लुङको यही रमणीय स्थानमा ंसेनवंशका कुन कुन व्यक्तिहरुले कुन कुन समयमा शासन गरे यस बारेमा लिपिबद्ध इतिहाँस भने भेटिंदैन तथापि तनहुँका राजा भृङ्गी सेनका वंशजहरुले मिर्लुङकोटमा शासन गरेका थिए भन्न सकिन्छ । तनहुँकोट राज्य स्थापना भएको १८ वर्ष पछि वि.सं.१६२८मा मिर्लुङकोटमा एउटा स्वतन्त्र राज्य स्थापना भएको अनुमान गर्न सकिन्छ । मिर्लुङकोट राज्य स्थापना भए पछि क्यामिनकोट, मिर्लुङकोट, ज्यामरुककोट, रुपाकोट, चोकचिसापानीकोट पुुर्कोट लगायतका थुमथुमे राज्यहरुको अस्तित्व समाप्त हुन पुगेको थियो ।
मिर्लुङकोटको भौगलिक स्थिति
सालाखाला मिर्लुङकोटको पूर्व पश्चिम लम्बाइ ३० किलोमिटर र उत्तर दक्षिणको लम्बाइ १५ किलोमिटर रहेको रहेको छ । यसरी ४५० वर्ग किलोमिटर क्षेत्र भित्र फैलिएको मिर्लुङकोट राज्य ८४ डिग्री १३ मिनेट ३६ सेकेण्ड देखि ८४ डिग्री ० मिनेट ३४ सेकेण्ड पूर्वि देशान्तर र २८ डिग्री ०५ मिनेट देखि २८ डिग्री ०५ मिनेट ५४ सेकेण्ड उत्तरी अक्षाँसमा रहेको छ । समसितोष्ण हावापानी रहेको ठाउँ मिर्लुङकोट बस्नलाई अति नै सुन्दर ठाउँ मानिन्छ । हिमाच्छादित ठाउँ नभएता पनि बेलाबखत मिर्लुङकोटमा हिउँ पर्ने गरेको कुरा बूढापाकाहरुको मुखबाट सुन्नमा पाइन्छ । मिर्लुङकोट राज्य साविकका मिर्लुङकोट गाउँपालिका, सतिश्वाँरा गाउँपालिका, क्यामिन गाउँपालिका , रिस्ती गाउँपालिका, रुपाकोट गाउँपालिका, चोक चिसापानी गाउँपालिका पुर्कोट गाउँपालिका र बसन्तपुर गाउँपालिकाका क्षेत्रहरुमा समेत फैलिएको थियो । रिस्ती कलेस्ती , पाउँदी, फाउँदी ,चुँदी खोला, कस्र्याङ्दी खोला र मस्र्याङदी नदीले बनाएका बेसी तथा टारका भूभाग कृषि उपजका पकेट क्षेत्रहरु मानिन्छन् । बेसी तथा टारहरुमा औल लाग्ने गर्दथ्यो । औलको प्रकोपबाट तत्कालीन समयमा गाउँका बस्तीहरु गुल्जार हुन पुगेका हुन । औल नियन्त्रण भए पछि गाउँका बस्तीहरु उजाड हुने र बेसी तथा टारहरुमा तिव्र गतिमा आवादी बढ्दै गईरहेको पाउँदछौं । भौगलिक दृष्टिले मिर्लुङकोटलाई निम्न क्षेत्रमा विभाजन गर्न सकिन्छ ।
१, महाभारत पर्वत श्रृङ्खला
गलेखामकोटको सिसाघाट मादीबेसी पूर्वको दुलहीपानी देखि लमजुङको तार्कुघाट सम्म फैलिएको महाभारत पर्वत श्रृङखलामा मिर्लुङकोट राज्य स्थापित भएको थियो । गुरुङ (तमु) जातिहरुको बाहुल्यता रहेको यस क्षेत्रमा अहिले पनि ब्राह्मण क्षत्री, मगर, मियां, दरै र कुमालहरुको बस्ती देख्न पाइन्छ । मिर्लुङ्गको अग्लो भूमि नै मिर्लुङकोट हो । भूगोलका हिसावले समुन्द्र सतह देखि मिर्लुङकोटको सबै भन्दा होचो भूभाग कलेस्ती दोभान ३३० मिटर उचाईमा पर्दछ भने यसको सबै भन्दा अग्लो भूभाग मिर्लुङकोट १६५४ मिटर उचाइमा पर्दछ । यही पर्वत श्रृङ्गखलाको १५३९ मिटरको उचाइमा रानी धर्मावतीले रानीपोखरी र चौतारो निर्माण गर्न लगाएकी हुन भन्ने किंबदन्ती रहेको छ ।यस पछिको सबै भन्दा अग्ला चुचुराहरुमा चोकचिसापानी, रुपाकोट, पुर्कोट र क्यामिनकोट रहेका छन् ।
बन्दिपुर पहाडकी रानी हो भने मिर्लुङकोट पहाडको महारानी हो भन्ने विषयमा धर्मराजा थापाले आफ्नै शव्दमा लमजुङको “ बतासे डाँडा सामुन्ने मिर्लुङकोट, , परेवाको भाले चुरो जस्तो परेवा डाँडा , (कुन्छा) हिमचुली—बरचुलीसंग सँग नजर फैलाएको जिता तान्द्राङ सेतो गुलाफी बादलको मन्तिर विकासको मूल फुटाउने आग्रह गरी तपस्यामा निमग्न भइरहेको ऋषि जस्तो देखिन्थ्यो । ” भनेर प्रशँशा गर्नु भएको छ ।
२, मस्र्याङ्गदी मादी, कलेस्ती रिस्ती, फाउँदी र चुँदी खोलाहरुले बनाएका बेसी तथा टारहरु ।
रिस्ती खोलाले बनाएको रिस्तीफाँट , मादी नदीले बनाएको सत्रसयफाँट, दुलहीपानी बोटेटार, कलेस्ती फाँट कलेस्ती खोलाले बनाएको बिर्ताफाट, गजैंडे फाँट कलेस्ती माडी , कुमालटार, पोख्रेल फाँट, चुँदी खोलाले बनाएको चन्द्रावती र चुँदी फाँट फाँउदी खोलाले बनाएका मान्टे हटिया र फाउँदी फाँट, मस्र्याङदी नदीले बनाएको बोटेटार, लौराखटार , ढकालटार, बाइसजँंगार, रानीपानी, बडहरे फाँट, चिती फाँट , कालीमाटी, रामपुर र फाउँदीखोलाले बनाएको फाँट तथा टार र बेसी भूभागहरु पर्दछन् ।
मिर्लुङ् नाम रहनाको कारणहरु
मिर—लुङ (ठूलोढ्ङ्गा)बाट मिर्लुङ
यहाँको स्थानीय मगर भाषामा मिर भनेको ठूलो र ल्हुुङ भनेको ढुङ्गा भन्ने जनाउँछ । पोखरीछापा शिद्धथान नजिकमा ठूलो ढुङ्गा रहेको छ । त्यही ठूलो ढुङ्गा अर्थात “मिर ल्हुङ्ग” रहेको स्थानलाई स्थानीय मगर भाषामा मिर ल्हुङ्ग भन्न थालियो । कालन्तरमा दुवै शव्दलाई एकै चोटी सम्वोधन गर्दा मिरलुङ उच्चारण गर्दा गर्दै मिर्लुङ् भन्न थालिएको हो भन्दा अत्युक्ति नहोला ।
मर लु शव्दबाट मिर्लुङ्
देब बस्न्यातको तनहुँसुर र सेरोफेरो पुस्तक अनुसार “ पाल्पाली राजा मणि मुकुन्द सेनको शेष पछि उन्को बृहत पाल्पा राज्यलाई पैतृक सम्पती सरह विभाजन गरियो । मुकुन्दंसेनका जेठा पुत्र माणिक्य सेनले पाल्पामा , वुटवलमा विनायक सेनले, लोहाङ्गसेन मकवानपुरमा ,खड्गसेनले मदरियामा, भृङ्गसेनले तनहुँमा, कुवेर सेनले रामनगरमा पाल्पाको केन्द्रीय शासन स्वीकार नगरी स्वतन्त्र राज्य घोषित गरेका थिए । यस समयमा तनहुँका राजा भृङ्गसेनका जेष्ठ पुत्र हम्बिरसेनले पनि रामसेनको निधन पश्चात ऋषिङ्गको पहाडी खण्डलाई स्वतन्त्र राज्य घोषणा गरी त्यहाँका शासक भएका थिए । भृङ्गसेनको मृत्यु पश्चात जेठा छोरा भएका कारण ऋषिङ्गका राजा हम्विरसेनले तनहुँका राज्यको दावी गरे भने तनहुँको राज्यमा बाबा संगै बसेका उनकै सहोदर भाई धर्माङ्गद सेनले पनि दाजु ऋषिङ्गको राजा भएका कारण तनहुँ आफुले पाउनु पर्ने दावी गरे । दुबै दाजुभाइमा तनहुँ राज्यको प्रभुसत्ता दावा रहेकोमा धन, जन, र सैनिक शक्तिको आडमा हम्बिर सेनले भाइ धर्माङ्गद सेनलाइ तनहुँबाट हटाउन सबै शक्तिको प्रयोग गरे । यही बेला हम्वीरसेनले भाई धर्माङ्गद सेनलाई हप्काउँदै यस देशको राजा “तँ “न” “हु”ँ बरु “मर“ “लु“ अर्थात मरी जा भनेका थिए । दाजु हम्विर सेनले बाँच्नु भन्दा मरेस भनी गाली गरेको “ मर लु ” शव्दलाई “ तँ ” मिरलुङ गइ बस भनेको अर्थ लगाई मनमोहक “रिमै लुङ ”मा गइ स्वतन्त्र ठकु¥याई स्थापना गरेका हुन । हम्विर सेनले भाइ धर्माङगद सेनलाई “मर लु ” भनेको र राजकुमार धर्माङ्गद सेन जीवन मरणको दोसाँधमा तनहुँबाट विस्थापित भइ बसेको ठाउँ कालान्तरमा “मर लु ” शव्दाँशबाट मिर लु हुँदै मिरलुङ हुन गएको धेरै सम्भावना देखिन्छ ।
नामको सट्टा प्रयोग हुने “तंँ” शव्द तंँ, तिमी, तपाई र हजुरको तुच्छार्थ अनादरवाची सर्वनाम हो । “त”ँ तिमी भन्दा सानोलाई मायाँले तथा रिसको झौंकमा सम्वोधन गरिने शव्द हो । “न ”ः— न अकरण शव्द हो । न क्रियापदको अगाडी पछाडी बीचमा शव्द संगै जोडिएर लाग्ने गर्दछ । “न” ले होइन , छैन, हुन्न भन्ने बुझाउँछ । साथै यसले निषेध वा रोकावट भन्ने पनि जनाउँछ । “हुँ” ले अहँकार जनाउँछ “हँु” कसैलाइ तर्साउन वा हप्काउन बोलिने शव्द हो । यहाँ ऋषिङ्गका राजा हम्वीर सेनले आफ्नो सहोदर भाइ धर्माङ्गद सेनलाई तनहुँको राजा हुन खोजेको रिसको आवेगमा हप्काउँदै “तँ”ँ “न “हुँ” भनिएको हो । जस्को शव्दार्थ “तंँ” नहुनु अर्थात “तंँ” राजा हुन पाउँदैनस भन्ने बुझाउँछ । धन जन, र सैनिक शक्तिको निर्बलताको कारण आफु राजा हुन नसकेकोले दाजु हम्वीर सेनको अगाडी तनहुँ राज्यको दावा त्याग गर्दै भाइ धर्माङ्गद सेनले राजा हुन नपाउँदाको झोंकमा “ल” “म” “जुङ ”( हुन्छ म जुङ ) गएँ भनी हिंडें । ( यहाँ “ल ”ः— ले हो , हुन्छ भनी जनाउँछ । “म” ः—म भनेको आत्मा हो जो सत्चित आनन्द स्वरुप रहन्छ । म निर्मल पवित्र , शुद्ध ब्रह्म स्वरुप हो । “जुङ ः— गुरुङ भाषामा जुङ पर्वतीय शिखर मौजा , कुनै निश्चित ठाउँ पर्वत मालाको शिखर प्राचीन नेपालीमा राज्य , देश , थुम भन्ने जनाउँछ । अर्को तर्फ भोट बर्मेली भाषामा लामको अर्थ बाटो र जुङ भनेको किल्ला हो ।) धर्माङ्गद सेनले “ल” “म” “जुङ” म तनहुँसुर छोडेर जुङ तर्फको बाटो लागें भनेको हो । अर्को शव्दमा म बाटोको छेउछाउमा पर्ने किल्ला रहेको स्थान तर्फ गएँ भन्ने जनाउँछ । त्यही स्थान हालको लमजुङ्ग बनेको हो भन्ने जनश्रुति सुन्नमा पाइन्छ । ”
रिमैलुङ् बाट मिरलुङ
तनहुँसुर बाट लमजुङ तर्फ पाइला चालेका धर्माङ्गद सेन मिर्लुङकोटको पोखरीछापमा पुगे । पोखरीछापबाट उत्तर लाग्दै जाँदा टुटेपानी पुगेका राजा जुङको पानी टुट्यो भनेकाले सो ठाउँको नाम नै टुटेपानी रहेको हो भन्ने किंवदन्ती रहेको छ । त्यताबाट उत्तर तर्फ नलागि मिर्लुङ्गको चुचुरोमा तर्फ उकालो लागे । मिर्लुङ्गकोट पुगे पछि त्यहाँबाट देखिएका उत्तरका अन्नपूर्ण, लमजुङ र बौद्ध हिमश्रृङ्खला र पूर्व पश्चिम, दक्षिण तर्फका महाभारत पर्वत श्रृङ्खला र गाउँबेसी तथा टारहरुले मन्त्र मुग्ध बनायो । राजा धर्माङ्गद सेनको लमजुङ्ग जाने बिचार त्यसै हरायो । राजा धर्माङ्गद सेनले रीमै लुङ्गमा नै बस्ने बिचार अठोट गरे । मिर्लुङकोट वरीपरीका रयाले, बाँसपानी, पुलीम¥याङ, चोकचिसापानी ज्यामरुक घलेगाउँ, ज्यामरुककोट, रुपाकोट गुरुङहरुको घनाआवदी भएको क्षेत्र हो । गुरुङका तन्देरीहरुलाई ठाकु भनेता पनि तरुनीहरुलाई रिमै भन्ने गर्दछन् । तिनै रिमैहरुले घाँस दाउरा गर्न जाने पहाडका चुचुराहरुमा मनका सुख दुःखलाई सुरिलोे भाकामा गीत गाइ रम्य बनाइएको यस स्थानलाई रिमैलुङ भन्न थालियो होला । रीमै भनेको मयालु प्रीय अर्थात प्रीया भन्ने जनाउँछ । त्यसै गरी मगरभाषामा ल्हुुङ भन्नाले पर्वतमालाको लहर, पर्वतीय शिखर, मौजा थुम र प्राचीन नेपालीमा राज्य भन्ने जनाउँछ । (श्रोत पौराणिक तथा ऐतिहासिक तनहुँ राज्यको एक सिंहाबलोकन देव बस्न्यात दमाँली स्मारिका उद्योग वाणिज्य संघ तनहुँ ) । रिमैलुङ अर्थात मायालुथुममा बस्ने यताका ठाकु तथा रिमैहरु चलनल्तीको शव्दलाई उल्टो अक्षरबाट सुरु गरेर पार्से भाषा पनि बोल्ने गर्दछन । पार्से बोलाइमा रिमैलाइ मिरै पनि भनिन्छ । कालान्तरमा यही रिमैलुङ शव्द मिरैलुङमा परिवर्तन भयो । राजा धर्माङ्गद सेनले ठकु¥याईं स्थापना गरेको रीमै लुङ्ग ( मयालु थुम ) मिरैलुङ शव्द अपभँ्रशभई मिर्लुङ हुन गएको मान्न सकिन्छ ।
पाल्पाली राजा मणि मुकुन्दसेन
पाल्पाका राजा रत्नसेनका वंशज महत्वकाँक्षी राजा मणिमकुन्द सेनले वि.सं. १५७५ देखि १६१० सम्म विशाल पाल्पा राजाज्यको चक्रवर्ति राजा भएर शासन गरेका थिए । गण्डकी महात्म्यमम् पुस्तकका रचनाकार काशीराम सुरी अनुसार विशाल पाल्पा राज्य उत्तरमा मुक्ति क्षेत्र देखि दक्षिणमा हरिहर क्षेत्र र पश्चिम काली गण्डकी देखि पूर्वमा टिष्टा सम्म विस्तार भएको थियो । शासनको उतराद्र्धमा पाल्पाली नरेश मणिमुकुन्द सेन देवघाटमा मुनी भइ तपस्यामा लीन भए । उहाँको मरणोपरान्त पाल्पाली नरेशका १३ भाइछोरा र भतिजहरुले आफु प्रशासक भइ काम गरेका स्थानहरुमा पाल्पा राज्यलाई पैतृक सम्पती सम्झेर भाइ अँशमा बाँडचुँड गरेर स्वतन्त्र राज्य घोषणा गरेका थिए । ( श्रोत –नेपालको उदभव तथा विश्लेषणत्मक इतिहास—ढुण्डीराज शास्त्री )
ऐतिहासिक सेन राज्यहरु
विक्रम सम्वत १४६०को अन्त्य सम्ममा आइ पुग्दा विशाल खस खधिराज्यको पतन हुन गयो । विशाल खसान राज्यको पतन पश्चात नै नेपालमा बाइसे चौविसे राज्यहरुको उदय हुन पुगेको हो । तत् पश्चात नै पाल्पामा सेन वंशी राजाहरुको उदय हुन पुगेको हो । विशाल पाल्पा राज्यका राजा मुकुन्दसेनको मरणोपरान्त उन्का छोराहरु माणिक्यसेनले पाल्पा, विनायक सेनले वुटवल , लोहाङसेनले मकवानपुर , रामसेनले रिसिङ, कुवेर सेनले राजपुर र भृङ्गी सेनले तनहुँलाई स्वतन्त्र राज्य घोषणा गरी शासन गरेका थिए । लोहाङ सेनको मकवानपुर राज्य पनि भाइ अंश लाग्दै जाँदा मकवानपुर , विजलपुरा र चौदण्डी राज्यहरुमा विभाजन हुन पुगेको थियो । यता तनहुँ राज्य रिसिङका राजा रामसेन निसन्तान भएकाले रिसिङको अपुताली राज्य भृङ्गी सेनका जेठा छोरा हम्वीर सेनको हातमा पुगेको थियो । तनहुँका राजा भृङ्गी सेनको मरणोपरान्त तनहुँका राजगद्धीको हकदारको बारेमा दाजु हम्वीर सेन र भाइ धर्माङ्गद सेनको बीचम छिनाझपटी भयो । भाइ भाइमा राज्यको अधिकार कस्मा रहने भन्ने विषयको विवादले राजा हम्वीरसेनले त्रिशुली देखि मरस्याङदी सम्मको विशाल राज्य थाम्न सकेनन जस्को परिणम गोरखा पूर्व खड्का मगर, तामाङ र घलेहरुले थुमेराज्य सञ्चालन गरेका थिए । अन्तत वि.सं. १६१६मा लमजुङका राजकुमार द्रव्यशाहले गोरखामा स्वतन्त्र ठकुर¥याई स्थापना गर्न सफल भएका हुन् । यसरी पाल्पामा माणिक्य सेन, वुटवलमा विनायक सेन, राजपुरमा कुवेरसेन, तनहुँमा भृङ्गी सेन, ऋसिङमा राम सेन र हम्वीर सेन ( रामसेनको मरणोपरान्त ) मदरियामा खड्ग सेन, दर्छामा खड्ग सेन , मकवानपुरमा लोहाङ्ग सेन राजा भएका थिए । मकवानपुर राज्य पनि भाइ अंश लाग्दै जाँदा विजयपुर चौदण्डी राज्य पनि थपिएका थिए ।
ऐतिहासिक तनहुँ राज्य
विशाल पाल्पा राज्य भाई अंशमा बाँडफाँड भए पछि नै तनहँु राज्यको उदय भएको थियो । वि.सं. १६१० मा भृङगी सेनले तनहुँ राज्यको जग बसालेका थिए । भृङ्गी सेनले पूर्वतर्फको मगराँतको राज्य थाम्न नसके पछि खड्गामगरहरुले स्वतन्त्र गोरखा राज्य चलाएका थिए । खडकाहरुको राज्यलाई लमजुङका राजकुमार द्रव्यशाहले गोरखालाई आफ्नो बनाएका थिए । यसरी तनहुँको पूर्वि सिमाना मस्र्याङदी नदी भित्र खुम्चिन पुगेको थियो । वि.सं. १६२८मा तनहुँका राजा भृङ्गी सेनको मरणोपरान्त हम्विर सेन र धर्माङ्गद सेन बीच तनहुँ राज्यको स्वामित्व कस्ले लिने भन्ने विषयमा मनोमालिन्य हुँदा तनहुँ राज्य तनहुँ र मिर्लुङकोटमा विभाजन हुन पुगेको थियो । तनहुँको स्वामित्व दाजु हम्विर सेनमा र मिर्लुङको स्वामित्व भाइ धर्माङ्गद सेनको स्वामित्वमा पुगेको थियो । हम्वीरसेन पश्चात तनहुँको राजगद्धीमा तुलासेन, दामोदर सेन, दिग्विजयसेन, कामराजदत्त सेन, त्रिविक्रम सेन, कामरीदत्त सेन र हरकुमारदत्त सेन बसेका थिए । तनहुँका राजा दिग्विजयसेनको पालामा गलेखामकोट, मिर्लुङकोट, गजरकोट, किहुँ र ढोर राज्यहरु तनहँुमा मिलाएको थियो भने राजपुरको राज्य पनि अपुतालीमा पर्न आएको थियो । यसरी तनहुँ , गलेखामकोट, मिर्लुङकोट, गजरकोट, किहुँ , ढोर , चितवन , नवलपुर र राजपुर सहितको विशाल तनहुँ अधिराज्य बनेको थियो । वि.सं. १८३४ श्रावण ३ गतेका दिन तनहुँको चितवन खण्ड र वि.स. १८३९ मार्ग १८ गतेका दिन तनहुँको पहाडी खण्ड गोरखा राज्यमा बिलय भएको थियो भने सन १९५१ मा भारतले जमिन्दारी राज्य प्रथा उन्मोलन गरे पछि तनहुँको शेष जमिन्दारी राज्य पनि सदाको लागि अन्त्य भएको थियो ।
मिर्लुङकोटको राज्यको स्थापना
तनहुँका राजा भृङ्गीसेनको मरणोपरान्त तनहुँ राज्यको शासन राजकुमारहरु हम्विर सेन र धर्माङ्गद सेन बीच छिनाझपटी हुन पुग्यो । दुइभाइको छिना झपटीमा तनहुँको शासनाभार हम्वीरसेनको हातमा गयो । हम्वीर सेनको हातमा तनहुँको शासनसत्ता गए पछि भाइ धर्माङद सेनले तनहुँ राज्यको दावा त्यागि मिर्लुङकोटमा स्वतन्त्र ठकु¥याईको स्थापना गरेका हुन् । उनै धर्माङगद सेनले मादी देखि पूर्वका क्यामिनकोट,मिरलुङकोट, ज्यामरुककोट , चोकचिसापानी कोट र पुर्काेटका घलेराजाहरुलाई परास्त गरी विशाल मिर्लुङकोट राज्य स्थापना गरेका हुन । मिर्लुङकोटमा धर्माङ्गद सेन पछिका कुन कुन व्यक्तिहरु राजाभए सो को लिपिबद्ध इतिहाँस पाउन मुस्किल नै छ । यहाँको राजवंशावलीका सम्वन्धमा चर्चा त्यती सुन्नमा पाइंदैन । कतिपय सन्दर्भमा श्रुति र स्मृतिका भरमा इतिहाँस तयार गर्नु पर्ने हुन सक्दछ । “ मिर्लुङकोट चन्द्रसेन तनहुँले राजाको दरवार हो । परेवा डाँडा नाउँदी र पाउँदीको बीचमा छ । यहाँ शाही जङ्गी अड्डा थियो । ” भन्ने लिखित प्रमाण भेटिएको छ । ( श्रोतः—लमजजुङको मौजाहरु —लोक संस्कृतिका घेरामा लमजुङ — धर्मराज थापा पेज नं. ३२२ )
राजा चन्द्रसेन र चन्द्रावती
किरातहरुले गर्ने उँधौली उभौंली पूजा खस जातिमा पनि विद्यामान रहेको छं । खास गरी खसहरु मङसिरको पूर्णिमा देखि बेसी (उँधो) झर्ने र बैसाखको पूर्णिमाको दिन गाउँ (उँभो )उकालो लाग्ने परम्परा अत्यन्तै पुरानो हो । यसै गरी मिर्लुङकोटका राजा चन्द्रसेनले गृष्मकालीन राजधानी मिर्लुङकोट र शितकालीन राजधानी चन्द्रावतीलाई बनाएका हुन कि भन्ने आभाष मिल्दछ । तत्कालीन समयमा राजाहरुले प्रिय रानीको नाम आफ्नै नामबाट सुरुवात गरेर राख्ने गर्दथे । यसरी राजा चन्द्रसेनको रानीको नाम चन्द्रावती थियो होला भन्न सकिन्छ । उनै चन्द्रसेनले प्रिय रानी चन्द्रावतीको नामबाट चन्द्रावतीमा चन्द्रावती महादेव र लुतेवाराही मन्दिर स्थापना गरेका हुन भन्ने जनश्रुति सुन्नमा पाइन्छ । त्यही चन्द्रावती महादेव मन्दिरको जिर्णोद्वार वि.सं. १९०३ को कोतपर्वमा सेनापति अभिमान सिंह राना मगरलाई हत्या गरी कोतपर्व मूर्तरुप प्रदान गर्नमा योगदान पु¥याउने मिर्लुङ कवाचितका कप्तान युद्धवीर अधिकारीले पापको प्रायश्चित गर्न जिर्णोद्वार गरेका हुन ( श्रोत —अतुल्य विशाल नेपाल —बाबुराम थापा)। तर भण्डारखाल पर्व मूर्तरुप प्रदान गर्ने रणमेहेर अधिकारीले के गरे अत्तोपत्तो पाइंदैन । चन्द्रसेनले शितकालीन राजधानी बनाई बस्ती बसाएको हुुनाले यस रजस्थलको नाम चन्द्रावती रहेको हो कि भन्ने अनुमान गर्न सकिन्छ । यहाँका आदिवासी गुरुङ र मुस्लिमहरुको शवको अन्तिमसंस्कार चिहानडाँडोमा लगेर चिहानमा दफन गरे तापनि हिन्दु धर्म मान्ने मध्येका आर्थिक हिसावले सम्पन्नशालीहरुले मरस्याङदी नदीको तार्कुघाट र मादीनदीको शिसाघाटमा लगेर दाहसंस्कार गरे पनि धेरैले तनहुँ राज्य कटाएर शव शतीघाट मरस्याङदीमा लान सुरक्षाको दृष्टिकोणले खतरा हुँदा चुँदी खोलाको चन्द्रावती घाटमै शवको दाहसंस्कार गर्ने परम्परा रहेको थियो र अझै पनि यथावतै रहेको छ ।
मिर्लुङकोट राज्यको अवसान
तनहुँको राजा दिग्विजय सेनले राज्य बिस्तार गर्ने अभियान नै चलाए । यहि अभियानमा तनहुँका राजा दिग्विजय सेनले तनहुँ भित्रका गलेखामकोट, ढोर, किहुँ र मिर्लुङकोट राज्यहरुमाथि आफ्नो विजयध्वज फरफराएका थिए । धार्मिक स्वभावका राजा चन्द्रसेनले राज्यको शक्ति सुदृडिकरणमा ध्यान पु¥याउन सकेनन् । अन्ततः मिर्लुङको राज्यको सैन्यशक्ति अभिबृद्धि गर्नमा ध्यान नै दिएनन् । शैनिक शक्तिमा ह्रास आएको मौका पारेर तनहँुङ्गे सेनाले मिर्लुङ माथि आक्रमण नै गरि दियो । मिर्लुङ र तनहुँका सेना बीच भयंङकर युद्ध भयो । यस युद्धमा दुबै तर्फका सेनाहरु हताहत भए । तनहुँ र लमजुङको सिमाना सुँगुरेभञ्ज्याङ नजिक कलेस्ती खोलामा सिपाहीहरुको रगत बगेर कलेस्ती खोला कलेजी खोला जस्तै देखियो रे । त्यही बेला देखि कलेजी खोला भन्दा भन्दै कलेजी खोला हुन पुगेको हो भन्ने जनश्रुति रहेको छ । ( श्रोत —तनहुँसुर र सेरोफेरो— देब बस्न्यात )
मिर्लुङकोट तनहुँ राज्यमा विलय भए पछि मिर्लुङकोटका राजा चन्द्रसेनले लमजुङ राज्यमा शरण लिएका थिए । लमजुङका कुन्छा,सोतीपसल,बाङरे र खलकछाप तिर रहेर उनले आफ्नो शैन्यशक्तिको सञ्चय गरी रहेका थिए । राजा चन्द्रसेनले लमजुङका राजाबाट सहानुभूति प्राप्त गरेका थिए । लमजुङको सहयोग लिएर मिर्लुङकोटलाई स्वतन्त्र बनाउने हरदम प्रयास गरेका थिएं । कुन्छा भञ्ज्याङबाट मिर्लुङ तर्फ आउने तीन तीन वटा बाटाहरु थिए । ”ठाँटी पूर्व गुरुङको चिहान डाँडा छ । त्याहाँबाट भोगेिटनी,मिर्लुङ र नारनचौर जाने तीनवटा बाटाहरु खुलेका छन् “ – ऐ. ऐ धर्मराज थापा ) चन्द्रसेनका आफ्ना सेना कुन्छाभञ्ज्याङ भएर तीनवटै बाटोबाट मिर्लुङ तर्फ बढी रहेका थिए । तर उता लमजुङका सेना भने सोतीपसल देखि दलभञ्ज्याङको बाटो गरेर मिर्लुङ जान सकेनन् । तनहुङ्गे सेना र लमजुङ्गे सेना बीच बारम्बार झडप भइरहने गर्दथ्यो । यस युद्धमा लमजुङेहरुले तनहुँलाई कहिल्यै पनि पराजित गर्न सकेनन् । तनहुँका सेना दलभञ्ज्याङमा रहँदा सम्म लमजुङ्गेहरुको केही सिप नलागेकोले लमजुङेहरु गाउँशहरमा फर्किए । तनहुँका सेनको दल ( गुल्म) बसेको हुनाले यो भञ्ज्याङको नाम दलभञ्ज्याङ रहन गएको भन्ने हो भन्ने चर्चा सुनिन्छ । यसैले चन्द्र सेनले आफनो गुमेको राज्य फिर्ता गर्ने सपना अधुरो नै रहेको थियो । तर लमजुङे सेनाले रिस्ती तर्फको पानी ढलो भन्ने आफ्नो स्वामित्वमा राखेको हो कि भन्ने आभाष मिल्दछ । एक पटक सोती पसलमा सहकारी संस्थाको साधारण सभामा अतिथि भइ जाँदा जिता र रम्घाका अग्रज दाजुभाइहरु संँग कुराकानी हुँदा वि.सं. २०१८ साल सम्म रिस्तीको पानी ढलो तर्फ रहेका वन जङ्गल आवादी जग्गा जमिन लमजुङकै हिस्सा मानी उपभोग गर्दै आएको र सिर्तो बुझाउँदै आएको कुरा बताउनु भएको थियो । वि.सं.२०१८ साल पछि ७५ जिल्लाको नक्साको सिमाङ्कन गर्दा रिस्ती खोलालाई प्राकृतिक सिमाना मानी रिस्तीको पानी ढलो स्वतह तनहुँमा पर्न गएको बताएका थिए ।
मिर्लुङकोटको सेन वंशावली
मिर्लुङकोटको श्रुति परम्परामा रहेको राजवंशावली निम्नानुसार रहेको छ ।
अन्त्यमा तनहुँका राजा भृङ्गी सेनको मरणोपरान्त स्थापना हुन पुगेको मिर्लुङकोट राज्यमा कुन कुन व्यक्ति कुन कुन समयमा राजा भए भन्ने विषयमा स्पष्ट धारणा राख्न नसकिए तापनि धर्माङ्गद सेन , रुक्माङ्गद सेन , र चन्द्र सेनको नाम श्रुति परम्परामा रहेको छ । राजा हम्वीर सेन पछि तनहुँका राज गद्धीमा बस्ने राजाहरुमा तुला सेन ( १६८७—१७१०), दामोदर सेन ( १७१०—१७५३), र दिग्विजयसेन ( १७५३—१७७१) को नाम भेटिन्छ । यसरी हेर्दा तनहुँका राजामा हम्वीर सेन देखि दिग्विजय सेनको पाला सम्म पाँच पुस्ता भए पनि युवराज प्रताप सेन राजा नभएकाले चार पुस्ता र मिर्लुङका सेन वंशमा धर्माङ्गद सेन देखि चन्द्र सेन सम्म लिइयो भने ३ पुस्ताले राजकाज गरेको देखिन्छ । शुक्ष्म विष्लेषण गर्दै जाने हो भने कहिले काहीं जन्मका आधारले कान्छाको खलकको ढिलो ढिलो वंश वृद्धि हुन जाँदा कम पुस्ता देखिन पुगेको हो की भन्ने भान पर्न सक्दछ । यही आधार लिइयो भने मिर्लुङकोटमा तीन पस्ताले मात्र राजकाज गरेका होलान भन्न सकिन्छ । तर कहिलेकाही पुस्ता समान र बढी पनि हुन सक्दछ । त्यस्तो अवस्थामा कति पुस्ताले मिर्लुङकोटमा शासन गरे भन्ने ठोस प्रमाण प्राप्त भइ नसकेको अवस्थामा यसै हो भन्न सक्ने स्थिति भने देखिंदैन ।