लुटिएको गाउँ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    लुटिएको गाउँ

    जुनु खड्का

    ८ चैत्र २०७८, बुधबार

    मेरो गाउँ अहिले लुटिएको छ
    बेला बेलामा विदेशबाट आउने
    हावाका झोक्कामा बेरिँदै बेरिँदै
    एक एक गरी सबै पातहरू झरेर
    बेमौसमी तुषारापात परे झैं
    रङ्गहीन बनेको छ
    एकातिर
    सहररुपी कलंकले सारा गाउँको
    अस्मिता चुपचाप रातारात लुटेर
    विजय उत्सव मनाइरहेछ
    अर्कोतिर
    पैसामा लुटिएका आफ्ना सन्ततिको
    पाँच दस वर्षसम्म नफर्केका कथा
    अभावको व्यथा
    लिएका वृद्धा र बालकहरू
    सबैको ओठको हाँसो र
    बुढेसकालको सहारा लुटिएको छ
    गाउँका प्रत्येक घरहरू
    जवानीमै सिँदुर पोते लुटिएकी
    विधवाको अर्थहीन जिन्दगी जस्तै
    सुनसान छन्
    चर्किएका भित्ता भत्किएका आँगनमा
    त्यस्तै जीर्ण आकृतिको अखडा
    मेरो गाउँ लुटिएको छ
    मृत्युका मलामी
    उत्सवका सहपाठी
    टारी र बारीमा डुल्ने किसान
    दशैंको लिङ्गे पिङ,
    तिहारको देउसी भैलो
    सबै लुटिएको छ ।
    मोती निकालिएको
    सर्पले छोडेको काँचुली जस्तो
    ठाउँठाउँमा छिद्र र प्वाल परेको
    मुहारबाट अलौकिक छटा हराएको
    केवल लुटिएको मेरो गाउँ
    मात्रै धिपधिप गरिरहेको छ ।