तनहुँको प्रजान्तान्त्रिक जागरणमा महिलाको ऐतिहासिक भूमिका
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    तनहुँको प्रजान्तान्त्रिक जागरणमा महिलाको ऐतिहासिक भूमिका

    चिनु पाेख्रेल

    २ मंसिर २०८०, आईतवार

    नेपाल सानो भए पनिविश्वको उच्च शिखर सगरमाथाले संसारभर चिनाएको देश । भ्रिकुटी र सीताजस्ता महान् नारीको जन्मा भएको देश हो । यो स्वर्गभन्दा पनि प्यारो देश बहुजाति,बहुधर्म,बहुभाषी र बहुसंस्कृति मान्ने मानिसहरुको बसोबास भएको एउटा सुन्दर देश भनेर चिनिन्छ । यो देशमा बिभिन्न समयमा बिभिन्न थरीका राजाहरुले राज्य सञ्चालन गरेका थिए । राज्य सञ्चालनकै क्रममा २०४ वर्षको जहानीय राणाशासन विरुद्ध नेपालीहरुले आफ्नो रगतको बलिदान गरेका थिए ।

    नेपालको प्रजातान्त्रिक आन्दोलनको क्रममा देश्भरि आन्दोलन चलिरहेको अवस्थामा तनहुँँमा पनि काँग्रेसको अग्रसरतामा २००५ सालमा जिल्लामा नेपाली काँग्रेसको संगठन कार्य २००५ साल बैशाखमा तनहुँँसुरको सिम्पानीबाट शुरु भयो । काँग्रेसको संगठन जिल्लाभरि गर्न ज्यादै कठिन परिस्थितिमा पनि संगठन खोलेर जनतालाई सुसूचित पार्न र देसभरि चलेको आन्दोलन सफल पार्नको निमित्त २००७ साल भदौमा भएको घोषणामा प्रत्यक क्षेत्रमा कमाण्डर खटाउने कार्य भयो । यसै क्रममा तनहुँँको कमाण्डरको रुपमा श्रीभद्र शर्मा खनाललाई खटाइयो । श्रीभद्र शर्माको कमाण्डमा तीनजना सदस्य रहने गरी कविराज रामप्रसाद खनाल , भुवनेश्वर ढकाल र बिष्णुहरि खनाल हुनुहुन्थ्यो भने अरु समितिका साथीहरु भने थपेर जेष्ठ महिनासम्म सबै समिति बन्यो । यसरी बनेका समितिहरुले जिल्लाको गतिविधिको बारेमा जानकारी केन्द्रमा दिने ,केन्द्रको जानकारी लिने कमाण्डर श्रीभद्र शर्मा नै हुनुहुन्थ्यो भने अब निरङ्कुश शासनको विरुद्धमा क्रान्ति गर्नको निम्ति तनहुँँको पहिलो आमसभा २००७ साल पौषमा गद्धीचौतारामा भएको थियो ।

    त्यसै आमसभाले बन्दीपुर जाने र त्यहाँ सैनिकहरुसँग लड्नको लागि तमाम महिला,पुरुष , दलित र जनजाति सबै जानुपर्छ भन्ने उर्दी लगाइयो । यसै क्रममा २००७ साल पौष २९ गते बन्दीपुर आक्रमण गर्नको लागि भेला बोलाइयो । भेलामा महिलाहरुलाई झन्डा लिना लगाउने र नारा जुलुस लगाउँदा अगाडि राख्ने निर्णय भयो । महिलाहरुलाई अगाडि किन लगाउने भन्दा राणाहरुले महिलाहरुलाई गोली हान्न नहुने नियम बनाएका थिए । त्यसैलाई आधार मानेर तनहुँँ जिल्लामा प्रजातन्त्र ल्याउनको लागि तनहुँँको आन्दोलनका कमाण्डर श्रीभद्र शर्माकी आमा पार्वता खनाल, करुमाया थापामगर र दलसुरकी श्रीमती लगायत २५ देखी ३० जना महिला दिदीबहिनीहरु झन्डा बोकेर नारा जुलुसमा सहभागी हुनको लागि बन्दीपुर जाने निर्णय भए बमोजिम पौष २९ गते नै बन्दीपुर पुगेका थिए ।

    आन्दोलनमा सहभागी भएका सम्पूर्णको खान बस्नको व्यवस्था बन्दीपुरका साहूमहाजनहरु साथै नेपाली काँग्रेसकी नेत्री स्वर्गीय न्मैयदेवी श्रेष्ठका बुबा चीजकुमार श्रेष्ठकी श्रीमती बिष्णुकुमारी श्रेष्ठ र कृष्णकुमारी श्रेष्ठले गर्नुभएको थियो ।

    जब आन्दोलनअको शुरुवातीमा महिला दिदीबहिनीहरु पार्वता खनाल , करुमाया थापामगर दलसुरकी श्रीमतीहरुको साथमा रहेका २५ -३० जना महिलाको जत्था झण्डा बोकेर दशौं हजार आन्दोलनकारीहरुको साथमा २००७ साल माघ १ गते खड्गदेवी मन्दिर हुँदै निस्कियो । त्यतिबेला राणाका सैनिकहरुले महिलाको नेत्रित्वमा आएको जुलुसलाई अगाडिपट्टिबाट आक्रमण गर्न सकेन । जुलुस बढ्दै गयो ,हजारौं मानिसहरु हातमा हथौडा लिएर गएका थिए । त्यसै क्रममा बीच भागमा रहेका आन्दोलनकारीमाथि सैनिकले गोली चलायो । त्यसबेला नै घटनास्थलमा छ जना पुरुषहरु धर्मध्वज गुरुङ , धर्मराज श्रेष्ठ ,खड्गबहादुर गोदार ,उत्तरकुमार श्रेष्ठ, सन्तबहादुर राना र चन्द्रबहादुर सार्की शहीद भए भने धेरै जनाहरु घाइते भएका थिए । घाइते हुने क्रममा दलसुर पनि घाइते भए ।

    उनै घाइते दलसुरलाई महिलाहरुले आफ्नो गुन्यूले छोपेर बचाएका थिए भने अन्य घाइतेहरुलाई स्याहारसुसार गर्ने काम र गोली समेत छेक्ने काम   महिलाहरुले गरेका थिए । आन्द्लनले चराम सीमा नाघेपछि मान्छे मारेको थाहा पाए भने फेरि ती महिलाहरुले हामीलाई घेरा हाल्छन् र अब सबै तनहुँँबासी उर्लिएर हामीलाई मार्छन् भन्ने कुरो लडाकु सैनिकले सोचेपछि ती मारिएका लाशहरुलाई भीरबाट खसाउने निधो गरे र लाशहरु धमाधम फाल्न थाले । लाशहरु फालिसकेपछि अब जनतासँग हाम्रो केही लागेन भनेर सैनिकहरु भागे । सैनिकहरु भागेपछि लाश कहाँ छ त भनेर तिनै महिला नेताहरु पार्वता खनाल ,करुमाया थापा लगायतका महिलाहरुले खोजी हेर्दा आन्दोलनमा मारियाका पहिलो शहीद धर्मध्वज गुरुङ , धर्मराज श्रेष्ठ , खड्गबहादुर गोदार ,उत्तरकुमार श्रेष्ठ सन्तबहादुर राना र चन्द्रबहादुर सार्कीलाई बारीको कान्लामुनि फेला पारे । यसरी लडाईंंको क्रममा सैनिकहरुले जब त्यही दिनको राती ब्यारेक छोडेर हिंडे , तब सोही दिनमा तनहुँँ स्वतन्त्र भयो । यसरी तनहुँँ स्वतन्त्र पार्नको लागि पनि महिलाहरुको भूमिका महत्वपूर्ण रहेको पाइन्छ ।

    यसरी प्राप्त गरेको प्रजातन्त्र यानेकि तनहुँँ स्वतन्त्र भएको दिन २००७ साल माघ १ गते नेपाली काँग्रेसका लागि ऐतिहासिक दिन रहेको छ । त्यसमा पनि महिला नेताहरुको जुन साहस्,उत्साह र निडरपनले तनहुँँलाई स्वतन्त्र बनाउन सफल तुल्यायो भने उक्त लडाईंंमा सहादत प्राप्त गर्नुहुने शहीदहरुलाई सम्झना स्वरुप बारीको कान्लामुनि प्राप्त लासलाई सम्झिएर हाल उक्त बारी सामा पारी हाल छ जना शहीदको शालिक राखिएको छ । त्यो नै एक ऐतिहासिक जनआन्दोलनको कारणले भएको थियो ।

    यसरी आन्दोलनकै क्रमबाट जब तनहुँँ स्वतन्त्र भयो ,यानेकि प्रजातन्त्र प्राप्ति भयो , तब पार्टीले पार्टीको संगठन सँग्सँगै महिला संगठन पनि गठन गर्दै गयो । महिलाहरुको संगठनको क्रममा द्रौपदा पोखरेल (स्वर्गीय गोवर्द्धन शर्मा पोखरेलकी श्रीमती )ले गाउँस्तर र मैयादेवी श्रेष्ठ र कृष्णकुमारी श्रेष्ठले बन्दीपुरमा नगरस्तरको महिला संघठन स्थापना गरे

    यसै क्रममा तनहुँँसुर सिम्पानीमा श्रीभद्र शर्माकी आमा पार्वता खनालले महिला संगठन विस्तार गर्नुभएको थियो । अर्चलचौर , राम्चे क्षेत्रमा द्रौपता पोखरेल (स्वर्गीय गोवर्धन शर्माकी धर्मपत्नी ) र सूर्यभक्त अधिकारीकी श्रीमती पतनादेवीले संगठन विस्तार गर्नुभएको थियो । गुणादी ,मानुङ , साँगेमा महाकाली खनालले संगठन विस्तार गर्नुभएको थियो ।             

    नेपाली काँग्रेसले प्रजातान्त्रिक समाजवादलाई अँगालेर हिड्दै गर्दा पार्टीभित्र महिलाहरुको संगठन दह्रो बनाउनुपर्छ भन्ने हेतुले त्यतिबेला मैयादेवी श्रेष्ठ र कृष्णकुमारी श्रेष्ठको अग्रसरतामा जिल्ला कार्यसमिति निर्माण भयो । त्यतिबेला मैयादेवी श्रेष्ठ र कृष्णकुमारएे श्रेष्ठमध्ये एकजना अध्यक्ष बन्नुभएको थियो भन्ने भनाइ सुनिन्छ मात्र ।

    यसै क्रममा २००९ सालमा पश्चिम ३ नं नेपाली काँग्रेसको विशाल भेला भएको थियो । उक्त भेलामा ठुलो शिविर सञ्चालन गर्ने ,भेलाका सहभागीहरुलाई खान ,बस्नको व्यवस्थाको प्रभान्ध मिलाउने महिला नै थिइन् । उनको नाम धर्मशिला रहेको थियो । उनी भिक्षुणी थिइन् । प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुने सम्पूर्ण व्यक्तिहरुलाई सहयोग गने गुरुङ समुदायकी विशिष्ट व्यक्ति थिइन् ।

    उक्त विशाल भेलामा तनहुँँका महिला नेताहरु पार्वता खनाल ,करुमाया थापामगर र महाकाली खनाल लगायत थुप्रै महिला पुरुषहरु पोखरा पुगेका थिए । त्यतिबेला तनहुँँमा दलितहरुको संगठन हरिजन संघ भन्ने खुल्यो । त्यो कस्तो भन्दा हरिजन संघ भारतका समाजवादी नेता महात्मा गान्धीले दलितहरु भनेका देवताका सन्तान हुन् ,यिनीहरुको जातिपाती ,छोइछिटो हटाउने क्रममा हरिजन भनिदिनुभयो । त्यसैको प्रभावले तनहुँँमा पनि दलितहरुको संघ खुलाउने भनेर गोवर्धन शर्मा पोखरेलले भनेर अर्चलचौर राधारामका तिलकबहादुर विश्वकर्मको सभापतित्वमा हरिजन संघ निर्माण गरेका थिए ।

    ती हरिजन संघमा आबद्ध महिला तथा पुरुषहरु पोखराको आमसभामा एकतिहाइ संख्यामा उपस्थित भएका थिए । त्यहाँ विशेष गरी महिला दलितहरु पानी बाँड्ने काममा सक्रिय देखिन्थे । त्यतिबेला खाना खुवाउने काम सबै भिक्षुणी धर्मशिलाले गरेकी थिइन् । खाना खाने क्रममा दलितहरु पनि सँगै रहेका हुँदा भान्सा छोडेर मान्छेहरु भागाभाग समेत गरेका थिए । ती भागनेहरु सामन्ती र कट्टरपन्थीहरु नै थिए । पछि गएर तिनीहरुले आम जनतलाई दु:ख दिएको पाइन्छ ।

    पोखराको विशल आमसभामा तनहुँँबाट महिला नेताको रुपमा मानुङ, गुणादी ,साँगे, बेलचौतारातिरका महिलाहरु उतार्ने काम महाकाली खनालले गरिन् भन्ने कुरो थियो भने जिल्लाको नेत्रित्व गर्ने क्रममा बन्दीपुर सदरमुकाम भएको हुँदा बन्दीपुरकै महिलाहरु मैयादेवी श्रेष्ठ र कृष्णकुमारएे श्रेष्ठमध्ये एकजना अध्यक्ष भएर गरेको कुरा सुन्नमा आएको छ । यो खोजीको बिषय रहेको छ ।

    त्यस्तै, महिलाहरुको संगठन बिकासलाई मध्यनजर राख्दै २००९ सालमा तनहुँँको धरमपानीमा जनसहयोगबाट पहिलो मिडिल स्कूलको स्थापना भयो । उक्त स्कूलको भवन समेत जनसहयोगबाट निर्माण भयो । यो जनसहयोगबाट बनेको पहिलो स्कूल थियो । यहाँ गाउँमा समाजसुधारका कामहरुको बारेमा चर्चा चले । जसमध्ये तनहुँँसुर , अर्चलेचौर र चिसापानीमा समाजसुधारको आन्दोलन चलाइयो । । किन भन्दा ती स्कूलमा महिलाले पनि पढ्न पाउनुपर्ने आन्दोलनको शुरुवात भयो । साथै दलितका छोराछोरीहरु पनि त्यसै स्कूलमा समान हैसियतमा सहभागी हुन पाउने व्यवस्था समेत भयो ।

    अर्को कुरा महिलालाई पढाउनु पर्छ र वालविधवा छ भने पुनर्विवाह गरिदिने भन्ने कुरो समाजले क्रान्तिकारी निर्णय गर्यो  । पहिलो पुनर्विवाह गोविन्द भट्टराईले श्यामघाकी वालविधवा सेतुमायालाई विवाह गरेर घर नजिकैको चौतारामा भोज लगाएर शुरुवात गरे । यसरी त्यतिबेला पनि समाजमा रुपान्तरण ल्याउनुपर्छ , विकृति र विसङ्गति हटाउनु पर्छ भनेर क्रान्तिकारी निर्णय महिलाको पक्षमा भएको हुँदा तनहुँँमा महिलाको भूमिका ज्यादै राम्रो भएको पाइन्छ ।

    त्यस्तै , रात्री पाठशालाको स्थापना पनि एक हो । रात्री पाठशालाको स्थापना चिसापानी गाउँमा खुल्यो । उक्त पाठशालामा छोरी ,बुहारी र सासूहरुलाई पढ्न लगाइयो । उहाँहरु पढ्नुहुन्थ्यो ,अक्ष्रर चिन्नुहुन्थ्यो ,आफ्ना कुराहरु स्पष्ट राख्न सक्नुहुन्थ्यो । २००९ सालमा पनि महिलालाई हेर्ने दृष्टिुकोण र महिलाले गरेका आफ्न कार्यहरु माथिको विश्वास ज्यादै उच्चतम रहेको पाइन्छ ।

    यसैगरी २०१५ सालको आम्चुनावमा बन्दीपुर ,तनहुँसुर र गलेखाम लगायतका ठाउँहरुमा महिला जागरणको अभियानहरु चलाइयो । त्यतिबेला प्रजातन्त्रका सेनानी वामदेव पण्डितकी श्रीमती सकृय थिइन् । उनले जागरण अभियानलाई तनहुँँ जिल्लाभरी लैजाने कोशिस गरेकी थिइन् ।

    तनहुँँको बन्दीपुर कब्जा गरिसकेपछि रामप्रसाद खनाल न्यायमन्त्री भए । तनहुँको अदालतमा न्याय सम्बन्धी कामको जिम्मा वामदेव पण्डितलाई दिइएको थियो । त्यतिबेला वामदेव पण्डितकी श्रीमती महिला जागरण अभियानमा लागेकी हुँदा महिलाको सबालमा तनहुँँ जिल्लाभरी नै संगठनको लागि पार्टीसँग शाहअकार्य गर्ने गरेको कुरा सुन्नमा आएको पाइन्छ ।

    २०१५ सालमा तनहुँँलाई दुई क्षेत्रमा विभाजन गरिएको पाइन्छ । तनहुँँका दुई क्षेत्रमध्ये १०२ क्षेत्रमा पदम बहादुर आले (मादी पारी) र मादीवारी १०३ क्षेत्रमा श्रीभद्र शर्मा उम्मेदवार रहेका थिए भने गोवर्धन शर्माको सभापतित्वमा रहेको कार्यसमितिले नेपाली काँग्रेसको हरेक बुथहरुमा महिला स्वयंसेवकहरु परिचालन गर्ने निर्णय गरेको थियो । प्रायजसो बुथहरुमा अधिकांश दलित महिलाहरु नै स्वयंसेवकको रुपमा खटिएका थिए ।

    २०१७ सालमा विपी कोइराला सभापति र प्रधानमन्त्री हुँदा नेपाली काँग्रेसको सातौं महाधिवेशनमा तनहुँँबाट द्रौपता पोखरेल लगायत बन्दीपुरका महिलाहरु पतिनिधि भएर जानुभएको थियो । त्यतिबेला द्रौपता पोखरेल महाधिवेशन प्रतिनिधि र अन्य महिला पर्यवेक्षकको रुपमा काठमाडौं जानुभएको थियो ।

    नेपालमा पटक पटक राजाले प्रजातन्त्रको कू गरेपछि पश्चिम ३ नं बाट गिरफ्तार हुने तनहुँँको पहिलो महिला द्रौपता पोखरेल हुनुहुन्थ्यो । उहाँलाई बन्दीपुरबाट पोखरा चलान गरियो । उहाँको कान्छो छोरो सुभाष पोखरेल दुधेबालक भएको हुँदा उहाँलाई साथ दिनको लागि महिला सहयोगी पार्वती विश्वकर्मा गएकी थिइन् । उनलाई रिट्ठे कामीकी आमा पनि भनिन्छ ।

    यति कुरो मैले तनहुँँमा महिला संघको रुपरेखाको ऐतिहासिक प्रारम्भ गरेको छु । तनहुँँमा विभिन्न आन्दोलन र संगठन विस्तारको लागि को कस्ता महिलाले के कस्तो भूमिका निर्वाह गर्नुभएको थियो भन्ने खोजीको बिषय बनेको छ मेरो लागि । म अब छिट्टै बाँकी २०१७ सालदेखिका कुराहरु अर्को अङ्कमा प्रकाशित गर्ने वाचा गर्दै अझै खोजमूलक ,सत्य र तथ्यहरु प्राप्त गर्न सकियोस् भन्ने हेतुले हजुरहरुसँग विनम्र अनुरोध गर्न चाहन्छु कि बीच बीचमा यसमा राख्नुपर्ने पात्रहरुको नाम ,भूमिका र कर्तव्यहरु के कस्ता रहन सक्छन् ,त्यसको बारेमा सल्लह र सुझाब दिनुहुन अनुरोध गर्न चाहन्छु । बाँकी अर्को अङ्कमा । जय नेपाल !

    (लेखिका चिनु पोखरेल नेपाल महिला संघकी केन्द्रीय अदस्य एवम् नेपाली काँग्रेस तनहुँँकी महासमिति सदस्य हुन् । )