हरेक बालबालिका हामीसँग सकारात्मक बोली अनि व्यवहारको आशा गरिरहेका हुन्छन् । हाम्रा आफ्नै हुन् वा अरुका हुन्, हरेक बालबालिकासँग हाम्रो बोलिबचन शिष्ट र मर्यादित हुनु आवश्यक छ । हामीले जे सिकायो, उनीहरूले सिक्ने त्यही हो । हामीले जस्तो संस्कार दियो, भोलि उनीहरूको व्यक्तित्व निर्माण सोही अनुसार हुने हो । उनीहरूले जिज्ञासाबस वा अनजानमा गरेका गल्ती कमजोरीमा हप्काउनने वा कुटपिट होइन, मिठासपूर्ण किसिमले सम्झाउने, बुझाउने गरौँ । बालबालिकालाई सही बाटोमा हिँडाउँदै भोलिका लागि जिम्मेवार, योग्य र सक्षम नागरिक बनाउने कुरा हाम्रै हातमा रहेको छ ।
यसै विषयमा केन्द्रित रहेर म यहाँ दुई सन्दर्भ राख्न चाहन्छु –
१. थोमस एल्बा एडिसन प्राथमिक तहका विद्यार्थी थिए । एक दिन उनका शिक्षकले एक पत्र उनको हातमा दिँदै भने – “यो पत्र अरु कसैलाई होइन, तिम्रो आमालाई दिनु ।” घरमा पुगेर उनले पत्र आमालाई बुझाए । उनकी आमाले जब पत्र खोलेर पढ्न सुरु गरिन् । उनका आँखाबाट आँसु झर्न थाले । आमा रोएको देखेर एडिसनले जिज्ञासा राखे – “आमा ! पत्रमा के लेखिएको रहेछ ?”आमा शान्त पूर्वक बोलिन् – “बाबु ! यो पत्रमा तिम्रै बारेमा लेखिएको छ । तिमी धेरै चलाख छौ । यस विद्यालयको क्षमताले तिम्रो पढाइको स्तरलाई धान्न सक्दैन । यसर्थ तिम्रो लागि अर्कै अझ राम्रो विद्यालय छान्नु आवश्यक छ ।”साँच्चै, उनकी आमाले उनलाई अर्कै विद्यालयमा भर्ना गरिन् । उनको राम्रो रेखदेख गरिन् । एडिसनले पनि मेहनत गरी पढे । पछि उनी संसार प्रसिद्ध बैज्ञानिक, आविष्कारक बने ।धेरै समय पछि पुराना कागज पत्र खोज्ने क्रममा एडिसनले सुरुको उनको विद्यालयका शिक्षकले आमालाई लेखेको पत्र फेला पारे । उनले सो पत्र पढ्दै गर्दा उनका आँखाबाट बरररर आँसु झरे । पत्रमा लेखिएको रहेछ – “तिम्रो छोरा मानसिक रुपमा बिरामी अनि मन्द बुद्धिको छ ।”तर उनकी आमाले छोरालाई नराम्रो नपरोस् । उनको मन नदुखोस् । उनमा निराशा नआओस् भनी पत्रमा लेखिएको कुरा फरक किसिमले सुनाएकी थिइन् ।आमाको सकारात्मक सोच अनि व्यवहारले बालक कालमा मानसिक बिरामी र मन्द बुद्धि मानिएका एडिसन पछि संसार प्रसिद्ध बने ।
२. विद्यालयको कक्षा कोठाबाट कुनै एक जना विद्यार्थीको निकै महङ्गो घडी हरायो । प्रधानाध्यापकसम्म यो कुरा पुगेपछि उनले सबै विद्यार्थीलाई चौरमा जम्मा गरी लाइनमा बस्न लगाए । अनि आफ्नो र सबै विद्यार्थीको आँखामा पट्टी बाँध्ने काम गरे । आँखाको पट्टी बाँधिएकै अवस्थामा उनले सबै विद्यार्थीको झोला र गोजी खानतलासी गरे । घडी फेला फेर्यो । आँखामा पट्टी भएकाले घडी कसको साथबाट फेला पर्यो, प्रधानाध्यापक तथा अरु विद्यार्थी कसैले मेसो पाउन सकेनन् । दुई चार दिनमा घडी हराएको अनि फेला परेको विषय आँफै हराएर गयो ।धेरै वर्ष पछि सोही विद्यालयमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । त्यसै विद्यालयका पूर्व विद्यार्थीलाई प्रमुख अतिथिका रुपमा भव्य स्वागत गरियो । प्रमुख अतिथिले प्रधानाध्यापकको गोडा छुँदै भने – “म सरप्रति धेरै आभारी छु ।” आश्चर्य मान्दै प्रधानाध्यापकले प्रमुख अतिथिलाई प्रश्नवाचक नजरले हेरे । त्यसै विद्यालयका पूर्व विद्यार्थी (प्रमुख अतिथि)ले भने – “त्यो दिनको घडी चोर म नै थिएँ । सबैको आँखामा पट्टी बाँधिएकाले कसैले पनि मलाई चिन्न पाएन । म निर्धक्क विद्यालय आएर आफ्नो पढाइ जारी राख्न पाएँ र अहिले यो अवस्थामा पुग्न सफल भएँ । सर ! तर मैले नबुझेको कुरा सो विषय सार्वजनिक नहोस् भनी किन सबैको आँखामा पट्टी बाँध्न लगाउनु भयो ?”प्रधानाध्यापकले उनलाई गहिरिएर हेर्दै भने – ” मेरो मनले भनिरहेको थियो, मेरो कुनै पनि विद्यार्थी म र अन्य विद्यार्थीको नजरमा चोर भनी घृणाको पात्र नबनोस् । यदि तिमी नै घडी चोर भनी सार्वजनिक भएको भए सबैको आँखामा तिमी नराम्रो बन्ने थियौ । विद्यालयमा आउन पनि तिमीलाई कठिन हुनेथियो । तिम्रो जीवन बरबाद हुनसक्थ्यो ।”प्रधानाध्यापक सामु प्रमुख अतिथिको शीर झुक्यो र आँखाबाट बलिन्द्र धारा आँसु झरिरहे ।