


सहकारी सस्थाहरुको दिगो विकासका लागि सुशासन अपरिहार्य हुन्छ । संस्थाको दिगो विकास गर्न आन्तरिक सुशासनले महत्त्वपूर्ण भुमिका खेलेको हुन्छ। त्यसैले संस्थामा सुशासन कायम गर्न आवस्यक नीति तथा कार्यबिधीहरु तयार गरि कार्यान्वयन गर्दै अगाडि बढ्नु पर्दछ । सस्थाले तयार गरेका नीति तथा कार्यबिधिहरु समय समयमा संसोधन तथा पुनर्लेखन गर्दै समय सापेक्ष चल्नुपर्छ । सुशासन ब्यवस्थापन तथा संचालन ऐन २०६४ मा सार्वजनिक सेवा प्रवाहलाई जनमैत्री र प्रभावकारी बनाइ सुशासन प्रवर्द्धन गर्न गरिएको ब्यवस्था उल्लेख गरिएको छ।सो ऐनको उदेश्य मुलुकको सार्वजनिक प्रशासनलाई जनमुखी ,जवाफदेही ,पारदर्शी ,समाबेसी तथा जनसहभागितामुलक बनाइ त्यसको प्रतिफल सर्वसाधारणलाई उपलब्ध गराउन सुशासन ऐन जारी गरिएको हो । सुशासन कायम गर्नु सरकारी ,सहकारी र निजि क्षेत्र तथा संघ सस्थाहरुको कर्तव्य तथा जिम्मेवारी हो।त्यसैले कुनैपनी सस्थामा सुशासन अपरिहार्य हुन्छ।सुशासनको अभावमा कुनै पनि संघ सास्थाहरुको दीगो र सस्थागत बिकासको कल्पना गर्न सकिदैन ।सहकारी सस्थाको सस्थागत बिकासका लागि सुशासन झनै तड्कारो आवस्यकता पर्छ किन कि यहाँ बित्तीय कारोबार गरिन्छ।बित्तीय कारोबार पारदर्शी र सफा हुनु पर्दछ ।बित्तीय कारोबार ब्याक्तिको आदेशले होइन ,बिधिले चल्नुपर्छ ।
सहकारी सस्था स्वायत्त सस्था हो। तर,राज्यले बनाएको कानुन, ऐन,नीति नियम र निर्देशनको पालना गर्नुपर्ने हुन्छ। यसका अलवा सस्था ब्यवस्थित र प्रभावकारी रुपमा संचालन गर्न आन्तरिक नीति तथा कार्यबिधिहरु आवस्यक पर्दछन् ।राज्यले बनाएको कानुनसँग नबाझिने गरि आन्तरिक कार्यबिधिहरु बनाउन सकिन्छ ।आन्तरिक कार्यबिधि बनाउने र बनेका कार्यबिधिहरुको प्रभावकारी कार्यान्वयन गरेको अवस्थामा मात्र सहकारी सस्थामा सुशासन कायम गर्न सकिन्छ । सहकारी क्षेत्रमा अहिलेको जल्दोबल्दो समस्या भनेकै सुशासनको अभाव हुनु हो ।सुशासनको अभावका कारण ५ सय भन्दा बढी सहकारी सस्था संकटग्रस्त भएका छन् ।यसबाट प्रत्यक्ष अप्रत्यक्ष लाखौं सर्वसाधारण मारमा परेका छन भने सहकारी अभियानमा नकारात्मक प्रभाव परेको छ।सहकारी अभियान नै अन्योल हुनपुगेको छ।सहकारी क्षेत्रमा सर्वसाधारणको बिश्वास गुम्दैगएको छ।राज्यको तीन खम्बे अर्थ निति मध्यको एक खम्बा ,सहकारी क्षेत्र लुलो हुनपुगेको छ।सहकारी क्षेत्र मजबुत र जनविश्वास कायम गर्न सुशासन अपरिहार्य छ। सुशासनका लागि सहकारी सस्थाका संचालक आफ्ना सदस्यहरु प्रती जवाफदेही हुँदै सस्थाले प्रबाह गर्ने सेवा र सुबिधा सर्वसुलभ ,पारदर्शी , सहभागीता मुलुक र सदस्य केन्द्रित हुदै भ्रष्टाचार बिहिन र सफल सहकारी सस्था बनाउन महत्त्वपूर्ण भुमिका खेल्नुपर्छ ।अर्कोतर्फ सुशासनको बिशेषता भनेको कानुनको परिपालना,पक्षपात रहित,सदस्य प्रती सदैब उत्तरदायी भै सस्था संचालन गर्नु हो।सहमति र सहकार्य गर्दै समाबेशी नेतृत्व कायम गर्नु ,चुस्त दुरुस्त ब्यवस्थापन ,सरल कार्यशैली ,सूचना र समन्वय जस्ता कार्यले सस्थामा सुशासन कायम गर्न मद्दत पुर्याउदछ।
सहकारी क्षेत्रमा सुशासन कायम गर्ने मेरुदण्ड भनेको सहकारीका सिद्धान्तहरु, मूल्य र मान्यताहरुको पुर्ण परिपालना गर्दै अगाडी बड्नु हो।त्यसैले भन्ने गरिन्छ सस्था व्यक्तिले हाेइन विधिले संचालन गर्नुपर्दछ। सहकारी सस्थामा सुशासन कायम गर्न संचालक समिति सदस्यप्रति जवाफदेही र साधारणसभा प्रति उत्तरदायी हुनुपर्छ । साधारणसभाले दिएको अधिकार भन्दा बाहिर गएर कुनैपनी निर्णय तथा क्रियाकलाप संचालन गर्नुहुदैन।त्यसैगरी सदस्यले पनि आफ्नो कर्तव्य पुरा गर्नुपर्छ।सस्थाले गरेका निर्णयको परिपालना गर्ने,तोकिएको समयमा सस्थामा जाने र बचत तथा ऋण भुक्तानी गर्ने,सस्थालाइ आवस्यक परेको समयमा सहयोग गर्ने,सस्थाद्वारा उत्पादित बस्तु तथा सेवालाई प्राथमिकता दिने र उपयोग गर्नुपर्दछ।यसका अलवा नियमित कार्यालय जाने ,आफ्नो र सस्थाको आर्थिक अवस्थाका बारेमा जानकारी लिने काम गर्नुपर्दछ। सस्थाको साधारणसभा सदस्यहरुकालागी एक महत्त्वपूर्ण पर्व हो।अर्को तर्फ साधारणसभामा सदस्यको उपस्थितिलाई अर्थपुर्ण रूपमा लिइन्छ ।साधारण सभामा सदस्य सहभागितालाई सुशासनको एक कडीको रूपमा लिइन्छ।किनकि सभाबाट बन्ने नीति नियम सदस्य केन्द्रित हुन्छन् ।त्यसैले साधारणसभामा नीति तथा कार्यक्रम ,बजेट,नाफा नोक्सान र लाभांश बितरण ,लेखापरीक्षण नियुक्ति ,समितिको निर्वाचन जस्ता महत्त्वपूर्ण निर्णय हुने थलो साधारणसभा भएकोले यसमा सदस्यहरुले महत्त्वपूर्ण भुमिका खेल्नुपर्छ । सहकारी सस्थामाआन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ गर्न लेखा सुपरिवेक्षण समिति गठन गरिएको हुन्छ।यस समितिले प्रत्येक चौमासिकमा सहकारी सस्थाको आन्तरिक लेखा परिक्षण गर्ने ,बित्तीय तथा आर्थिक कारोबारको निरिक्षण र मुल्यांकन गर्ने र परिक्षण गर्दा लेखा परिक्षणका आधारभूत सिद्धान्तको पालना गर्ने गराउने , सुशासन कायम गर्न र संचालक समितिका निर्णय कार्यान्वयन भए नभएको अनुगमन गरी प्रतिवेदन प्रस्तुत बुझाउने र संचालक समितिलाई सजग र सचेत गराउन सकेको अवस्थामा सहकारी सस्थामा सुशासन कायम गर्न सकिन्छ।सहकारीको सिद्धान्त, मुल्य मान्यता र कानुनको बिपरित कुनै पनि क्रियाकलाप भए गरेको छन् भने त्यस्ता क्रियाकलाप पुर्णतः रोकथाम गर्नु लेखा सुपरिवेक्षण समितिको कर्तव्य हो । सबल र कृयाशिल लेखा सुपरिवेक्षण समिति भएको अवस्थामा धेरै हदसम्म सुशासन कायम हुन्छ। सहकारी सस्था ब्यवस्थित र चुस्त सर्वसुलभ सेवा प्रबाहमा ब्यवस्थापन पक्षको ठुलो भुमिका रहेको हुन्छ। समितिले निर्णयहरुको कार्यान्वयन तथा दैनिक कार्यालय संचालन गर्ने जिम्मेवारी कर्मचारीको हो।कर्मचारी सदस्य केन्द्रित सेवा प्रबाहमा इमानदार हुनुपर्छ ।ऋण लगानी र असुली , ब्याजदर,हर्जना लगायतका सेवामा विभेद गर्नु हुदैन ।सदस्यलाई चुस्त सर्वसुलभ सेवा दिनु कर्मचारीको कर्तव्य हो।अर्को तर्फ सस्थाको भौतिक अभौतिक सम्पत्तिको संरक्षण गर्ने जिम्मेवारी पनि कर्मचारीको हो।तसर्थ कर्मचारीले सस्थाले दिएको जिम्मेवारी बहन गर्दै सर्वसुलभ गुणस्तरीय बित्तीय र गैरबित्तीय सेवा सदस्यहरुलाइ उपलब्ध गराउन सकेको खण्डमा सहकारी सस्थामा सुशासनको प्रत्याभूति दिलाउन सकिन्छ ।