


लमजुङ, २० जेठ । ७६ औँ अन्नपूर्ण हिमाल आरोहण दिवसको अवसरमा लमजुङमा तीन जना पर्वतारोहीलाई सम्मान गरिएको छ ।
लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा जेठ २० र २१ गते सञ्चालन भइरहेको पर्यटन प्रवर्द्धन कार्यक्रममा गोरखाकी पर्वतारोही पूर्णिमा श्रेष्ठ, लमजुङको राइनास नगरपालिका नरेन्द्र शाही र मानराज गुरुङ सम्मानित भएको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए ।
पर्वतारोहीहरूलाई गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले सम्मान प्रदान गरेकी हुन् ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले कार्यक्रम आयोजना तथा उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, दोर्दी गाउँपालिका र अन्नपूर्ण संरक्षण आयोजना (एसीएपी) को सहकार्यमा कार्यक्रम आयोजना भएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यका
को हुन् सम्मानित हुने पर्वतारोही ?
पूर्णिमा श्रेष्ठ : फोटो पत्रकारिताबाट विश्व कीर्तिमानी पर्वतारोहीसम्म
पूर्णिमा श्रेष्ठ नेपालको पर्वतारोहण क्षेत्रमा छोटो समयमै असाधारण सफलता हासिल गर्ने महिला आरोहीमध्ये एक हुन्। गोरखाको आरुघाटमा जन्मिएकी पूर्णिमा पेशाले फोटो पत्रकार हुन्। सन् २०१७ मा एभरेस्ट म्याराथनको समाचार सङ्कलनका क्रममा हिमालसँग नजिकिने अवसर पाएपछि उनले पर्वतारोहणलाई आफ्नो जीवनको लक्ष्य बनाइन्।
सन् २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेपछि उनले लगातार विश्वका अग्ला हिमालहरूमा सफलता हासिल गर्दै गइन्। अन्नपूर्ण, धौलागिरि, मनास्लु, कञ्चनजङ्घा, मकालु, ल्होत्से र केटु लगायत आठ हजार मिटरभन्दा अग्ला आठ वटा हिमाल सफलतापूर्वक आरोहण गरिसकेकी छन्।
सन् २०२१ मा उनी अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला टोलीको सदस्य बनिन् भने सोही वर्ष पासाङ ल्हामु शेर्पा अकितासँग मिलेर धौलागिरि हिमाल सफल आरोहण गर्ने पहिलो नेपाली महिला बनेर नयाँ इतिहास रचिन्।
पूर्णिमाले सन् २०२४ मा विश्वकै सर्वोच्च शिखर सगरमाथा १३ दिनभित्र तीन पटक आरोहण गर्दै विश्व इतिहासमा नयाँ कीर्तिमान कायम गरिन्। उनी एकै आरोहण सिजनमा तीन पटक सगरमाथा चढ्ने विश्वकै पहिलो महिला बनिन्। यस उपलब्धिका लागि उनको नाम गिनिज वर्ल्ड रेकर्डमा दर्ता भएको छ।
सन् २०२५ मा पाँचौँ तथा सन् २०२६ मा छैटौँ पटक सगरमाथा सफल आरोहण गर्दै उनले आफूलाई नेपालको अग्रणी महिला पर्वतारोहीका रूपमा स्थापित गरिसकेकी छन्।
उनको साहसिक उपलब्धिलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि उच्च मूल्याङ्कन गरेका छन्। सन् २०२४ मा सगरमाथा तीन पटक आरोहण गरेको उपलब्धिपछि उनलाई सीएनएनले विश्वका सीमाना तोड्ने उत्कृष्ट ‘एक्स्ट्रिम एथ्लेट’हरूको सूचीमा समावेश गरेको थियो।
आज पूर्णिमा श्रेष्ठ केवल एक सफल पर्वतारोही मात्र नभई नेपाली महिलाको साहस, दृढता र आत्मविश्वासको प्रतीकका रूपमा परिचित छिन्। फोटो पत्रकारिताबाट सुरु भएको उनको यात्रा अहिले विश्व पर्वतारोहण इतिहासमा प्रेरणादायी अध्याय बनेको छ।
नरेन्द्र शाही : पाँच पटक सगरमाथा आरोहणदेखि उद्धारसम्मको प्रेरणादायी यात्रा
नरेन्द्र शाही नेपाली पर्वतारोहण क्षेत्रमा पछिल्लो दुई दशकदेखि एकछत्र प्रभाव जमाउन सफल नाम हो । उनी नरेन शाही ठकुरीको नामले समेत परिचित छन् । लमजुङको राइनस नगरपालिकामा जन्मिएर हिमालको काखमा आफ्नो भविष्य खोजिरहेका शाही आज केवल एक आरोही मात्र नभई अन्तर्राष्ट्रिय स्तरका माउन्टेन गाइड, प्रशिक्षक र कुशल उद्धारकर्ताको रुपमा स्थापित छन् ।
सन् २००५ मा मेरा पिक आरोहणबाट आफ्नो साहसिक यात्रा सुरु गरेका शाहीले सन् २०१७ देखि २०२४ सम्मको छोटो अवधिमा विश्वको सर्वोच्च शिखर सगरमाथाको पाँच पटक सफल आरोहण गरेका छन् । उहाँको नाममा सन् २०१७ मा टोबसार पिक (६,१०० मि.)को पहिलो आरोहण गर्ने कीर्तिमान समेत रहेको छ ।
नरेन्द्र शाहीको अनुभव नेपालका हिमालहरूमा मात्र सीमित छैन । उनले युरोपका आइसल्याण्ड, फ्रान्स, स्विजरल्याण्ड, इटाली र रुसका चुनौतीपूर्ण चुचुराहरूमा समेत सफल आरोहण गरिसकेका छन् । सन् २०२४ मा मात्रै उनले सगरमाथा, आइसल्याण्डको हभन्नाडाल्सन्जुकर र लाबुचे पिक जस्ता शिखरहरुको सफल आरोहण गरेका छन् । उनको यो निरन्तरको सक्रियताले नेपाली पर्वतारोहीहरुको व्यावसायिकतालाई विश्व बजारमा थप उचाइमा पुर्याएको छ ।
आरोहणका साथै उनले चीन र नेपालमा विभिन्न माउन्टेन गाइड कोर्सहरूमा ‘एजुकेसन चिफ’ र ‘अब्जर्भर’ को रुपमा रहेर नयाँ पर्वतारोहीहरूलाई समेत प्रशिक्षण दिइरहेका छन् । नेपाल राष्ट्रिय माउन्टेन गाइड एशोसिएशनको पूर्व प्राविधिक निर्देशक र गण्डकी अल्पाइन क्लबका संस्थापक अध्यक्ष समेत रहेका शाही हिमालयन उद्धार संघको उद्धार समितिमा समेत रहेका काम गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहसम्मको शिक्षा र पर्वतारोहणमा डिप्लोमा हासिल गरेका उनले ‘नोल कोर्स’ र ‘हेलिकप्टर लङ लाइन रेस्क्यु’ जस्ता उच्चस्तरीय तालिमसमेत लिएका छन् ।
मनराज गुरुङ: पर्वत, प्रज्ञा र परोपकारको संगम
नेपाली पर्वतारोहण र साहसिक पर्यटनको क्षेत्रमा ‘बौद्धिक आरोही’को पहिचान बनाएका मन राज गुरुङ पछिल्लो समय एक प्रेरणादायी नाम बनेको छ । लमजुङको राइनस नगरपालिका प्यारजुङमा जन्मिएका गुरुङले १५ मे २०२५ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर आफ्नो १५ वर्ष लामो साहसिक यात्रालाई नयाँ उचाइ दिएका छन् ।
केवल पर्वतारोही मात्र नभइ अन्तर्राष्ट्रिय माउन्टेन गाइडसमेत रहेका उनले हिमलुङ हिमाल, आमादब्लम, मेरा पिक, र अफ्रिकाको सर्वोच्च शिखर माउन्ट किलिमन्जारो जस्ता दर्जनौं स्वदेशी तथा विदेशी हिमालहरूको सफल आरोहण गरिसकेका छन् । साहसिक पर्यटनलाई व्यवसाय र आध्यात्मिकतासँग जोड्दै उहाँले ‘बोधी एडभेन्चर्स’ मार्फत नेपालको पर्यटन क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आइरहेका छन् ।
मन राज गुरुङको सबैभन्दा सबल पक्ष उनको लोभलाग्दो शैक्षिक पृष्ठभूमि हो । पर्वतारोहण जस्तो शारीरिक रूपमा चुनौतीपूर्ण क्षेत्रमा रहेर पनि उनले प्राज्ञिक क्षेत्रमा आफूलाई अब्बल प्रमाणित गरिसकेका छन् । उनले शंकरदेव क्याम्पसबाट व्यावसायिक अध्ययनमा स्नातकोत्तर र लुम्बिनी बौद्ध विश्वविद्यालयबाट बौद्ध धर्म र हिमाली अध्ययनमा स्नातकोत्तर गरेका छन् ।
आरोहण र व्यवसायबाहेक गुरुङको पहिचान एक कुशल प्रशिक्षक र परोपकारी व्यक्तित्वको रूपमा पनि उत्तिकै बलियो छ । उनले नेपाली सेनाको कैशाङ ग्लेशियर ट्रेनिङ स्कुलमा हिमाल सफाइ अभियान, नेपाल प्रहरीको विपद् व्यवस्थापन तालिममा रोप रेस्क्यू प्रशिक्षण, र विभिन्न राष्ट्रिय संघसंस्थाहरूमा माउन्टेन रेस्क्यू तथा नेभिगेसन प्रशिक्षकको रूपमा पनि काम गरिसकेका छन् । अन्तर्राष्ट्रिय स्तरमा तान्जानिया, केन्या, रुवान्डा, जापान, र चीन लगायतका देशहरूको भ्रमण गरिसकेका छन् ।
पछिल्लो समय उनी पर्यटन, साहसिक खेल र हिमाल आरोहणको औपचारिक शिक्षा ऐच्छिक विषयको रुपमा माध्यमिक तहदेखिनै पठनपाठन गर्नु पर्दछ भनि वकालत गरिरहेका छन् ।