हाम्रो देशमा चैत १० गतेदेखि सम्पूर्ण शैक्षिक संस्थाहरू पूर्ण रूपमा बन्द भएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण स्कूल कलेज बन्द हुँदा म जस्ता ८० लाख भन्दा बढी विद्यार्थीहरू घरमै बस्न बाध्य भएको अबस्था छ । शैक्षिक सत्र शुरु हुने समयमै फैलिएको यस महामारीबाट, विशेषतः म जस्ता साना साना बालबालिकाको शैक्षिक लगायत सबै शिक्षण गतिविधि ठप्प भएको छ । शिक्षण सस्थाहरु अस्तव्यस्त छ्न, विद्यालय बन्द छ, विद्यार्थीका अन्तरनिहित प्रतिभाहरु प्रस्फूटित गर्न पाएका छैनौं । सरकारले लागु गरेको लकडाउनले तत्कालै शैक्षिक सस्थाहरु खुल्ने अवस्था छैन र देखिदैन पनि, त्यस्तै खुल्न पनि हुँदैन । पहिले टाढा टाढाका मानिसमा कोरोना लागेको छ रे भन्ने समाचार सुनेर थाहा पाएका हामी अहिले घर टोल बस्ती नजिकैका मानिसमा पनि कोरोना लागेको छ रे भन्ने सुन्दा डरलाग्दो अवस्था बनेको छ । म गल्वुवेशीमा बस्छु र यहीँको बोर्डिङ स्कूलमा कक्षा ५ मा पढ्ने तयारीमा छु, तर यही कोरानाको कारणले विद्यालय बन्द भएर घरमै बसिरहेको छु । अहिले म र म जस्ता साना बाबुनानीहरूलाई एकातिर पढ्न जान नपाएर पिर पारेको छ भने अर्कोतिर नजिकै नजिकै संक्रमितको संख्या थपिएर पिर र डर दुवै थपिएको छ । केही दिन अगाडी मात्रै झन् यहि व्यास नगरपालिका–१ कै अम्रेनी भन्ने ठाउँको एक जना अन्टीलाई कोरोना लागेर मृत्यु भएको र उहाँको छोरीलाई समेत सरेको समाचार आएको छ । त्यो दिदी यहि नजिकै काम गर्ने भएको हुँदा झनै हामी घरमै सुरक्षित बस्नुपर्ने अवस्था आएको छ । विद्यालय नखुलेपनि बिहानको समयमा घर नजिकै सुरक्षित तवरले ट्युसन जाने गरेको म र मेरा साथी निकेश क्षेत्री, अनमेल गुरुङ लगायत सबैको ट्युसन पनि बन्द भएको छ । विश्वभरिका स्कुल कलेजहरूमा पढ्ने सबै विद्यार्थीहरू यस रोगबाट प्रभावित भएको हुँदा अरू क्षेत्र जस्तै शैक्षिक क्षेत्र पनि ज्यादै प्रभावित छ । हामी यो रोग कहिले निको होला, हट्ला भनेर पर्खिरहेका छौँ । गत वर्ष यतिबेला नयाँ किताब नयाँ कापी नयाँ स्कूल ड्रेस र उपल्लो कक्षामा पढ्न जान आतुर भएर बस्ने गरेका हामीलाई यसपटक पास भएपछि स्कूल पढ्न जान नपाउँदा खल्लो लागेको छ । एकातिर पढ्न नपाईने र अर्कोतिर घरमै बस्दा बस्दा समय बिताउन नसकिने गर्दा म र म जस्ता साथीहरूलाई समस्या भएको छ । अहिले समय बिताउने नाममा मोवाइलमा ध्यान दिने, गेम खेल्ने गर्दा एकातिर एकोहोरिने तथा बानी बिग्रने होकि भन्ने डर पनि भएको छ । हामीजस्ता कलिला बालबालिकालाई यसरी घरमै कोच्चिएर बस्नुपर्दा हामीलाई त घाटा भएको छ नै साथै देशलाई पनि घाटा भएको छ । देशकै सुखद भविष्यको जगमा रहेको शिक्षा क्षेत्रलाई यस्तो संकटपूर्ण अवस्थाबाट कसरी नियमित गराउन सकिन्छ भनेर हाम्रो देशका ठूला नेता र सरकारमा रहेका मन्त्रीले सोच्नुपर्दछ । साना बालबालिकाको शैक्षिक भविष्य बिग्रिन नदिन अनलाइन पढाइ गरेर हुन्छ की या रेडियो टिभीमा शिक्षासँग सम्बन्धित कुराहरू गराएर हुन्छ त्यसतर्फ ध्यान दिनुपर्छ । अहिले मेरो आफ्नै पढ्ने बानी हराउँदै गइरहेको छ र मोवाइल टिभी हेर्नतिर ध्यान बढेको छ, जसले मेरो बुबाआमालाई पिर बढिरहेको छ । शैक्षिक क्षेत्रको यो विकराल र भयावह परिस्थिति सामना गर्न सरकारले पाइला चाले हुने थियो भन्ने मेरो आशा छ । होइन भने म र म जस्ता लाखौं विद्यार्थी त यसबाट प्रत्यक्ष मारमा परेकै छौ पर्छौ, सँगसँगै देश पनि मारमा पर्छ । किनकी भोली देश बनाउने हामी जस्तै साना विद्यार्थी ठूला भएर हो । अहिले पढाइ सँगसँगै सबै चाडवाड पनि यही कोरोनाले मनाउन नपाइएला जस्तो भएको छ । सधैंभरि भित्र बसिराख्दा र पढ्न नपाउँदाको समयमा निकै तनाव हुने रहेछ । एक ठाउँबाट अर्को ठाउँमा जान, मानिसहरूसँग घुलमिल हुन पनि डराउनपर्ने यस्तो महामारी चाँडै अन्त्य भएर हामीले छिटै स्कूलको मुख देख्न पाउँ । यहि म र म जस्ता विद्यार्थीहरुको चाहना छ ।
लेखक व्यास नगरपालिका–१ स्थित ज्ञानगंगा बोर्डिङ स्कूलमा कक्षा पाँचमा अध्ययनरत छन्