यसरी पटाक्षेप भयो संखुवासभा घटनाका अभियुक्त लोकबहादुरको नाटक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • कोशी

    यसरी पटाक्षेप भयो संखुवासभा घटनाका अभियुक्त लोकबहादुरको नाटक

    खबरपुञ्ज संवाददाता

    २६ भाद्र २०७८, आईतवार

    काठमाडौं : गत सोमबार बिहान । संखुवासभाको मादी- १ उम्लिङमा एउटा चिच्च्याहट आयो, ‘गुहार ! गुहार !! लोकेले मार्‍यो, गुहार ! मलाई बचाऊ ।’

    उक्त आवाज थियो, तेजबहादुर कार्कीको । उनलाई आफ्नै भतिजाले चिर्पटले अन्धाधुन्ध प्रहार गरिरहेका थिए । भतिजको प्रहारबाट तेजबहादुरको घटनास्थलमै मृत्यु भयो ।  उक्त चिच्च्याहटका कारण तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जना पनि घटनास्थलतर्फ हस्याङफस्याङ गर्दै आए । 

    लोकबहादुरले कमला र रञ्जनालाई देखेपछि पोल खुल्ने डरले त्यही चिर्पटले टाउकोमा प्रहार गरेर मारे । लोकबहादुरको क्रूर हत्याको क्रम त्यतिमै रोकिएन । उनले अबोध बालबालिकाको पनि निर्मतापूर्वक हत्या गरे । विपीन र गोमालाई पनि कोपिलामै चुँडे । विपीन कार्की आठ वर्षका थिए भने गोमा कार्की पाँच वर्षकी थिइन् । बालबािलकाहरूले आफूलाई चिनेका कारण लोकबहादुरले लखेटीलखेटी उनीहरूको पनि हत्या गरे । 

    तेजबहादुरकी ८४ वर्षीय आमा पार्वती कार्की भने घरमै कुँडो पकाइरहेकी थिइन् । घटनाबारे पार्वतीले पनि थाहा पाएको हुन सक्ने भन्दै उनको पनि घरमै गएर हत्या गरे । संयोगवश तेजबहादुरका बुबा बौद्धमान कार्की भने सुतिरहेका कारण बाँच्न सफल भए । आँखा राम्रोसँग नदेख्ने र कान पनि नसुन्ने भएका कारण लोकबहादुरले उनलाई घटनाबारे केही थाहा छैन भनेर त्यतिकै छाडिदिए । लोकबहादुरले प्रयोग गरेको चिर्पट कुँडो पकाएको आगोमा जलाइदिए । करिब ८ बजे लोकबहादुरले नै बडाबाको लास देखेको भन्दै अरूलाई खबर गरेका थिए । उनले खबर गरेपछि अरू पनि घटनास्थल पुगे ।

    झट्ट सुन्दा फिल्मी कहानी जस्तो लाग्ने यो घटना र यो वास्तविकता पत्ता लगाउन प्रहरीलाई झण्डै छ दिन लाग्यो । घटना किन र कसले घटायो भन्ने कुराको चुरो पत्ता लगाउन प्रहरीलाई हम्मेहम्मे परेको थियो । 

    हत्याकाण्डको अनुसन्धानमा प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वको विशेष टोलीसहित केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रदेश प्रहरी कार्यालयको रिजनल इन्भेष्टिगेसन टिम, जिल्ला प्रहरी कार्यालय संखुवासभा र इलाका प्रहरी कार्यालय चैनपुरको टोलीसहित करिब ४० जना प्रहरी घटनास्थल आसपास परिचालन भयो ।

    घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाई कार्यालय धरानको डग शाखाबाट दुईवटा तालिम प्राप्त कुकुरसमेत खटाइयो । घटनामा संलग्न हुन सक्ने व्यक्ति फरार हुन नदिन संखुवासभाका सबै नाकाहरूमा प्रहरी परिचालन गरिए ।

    ०००

    तर, छ जनाको क्रूरतापूर्वक हत्या गरिएको घटनाको अनुसन्धानमा प्रहरीले कुनै उपलब्धि हात पार्न सकेन । जिल्लाको प्रहरीले घटनास्थलको सुरक्षा दिँदै सम्भावित स्थानको निगरानी बढाएर हत्यामा संलग्नको खोजी थालेको थियो । संघीय इकाई प्रहरी कार्यालय धरानबाट एसपी भीम दाहाल नेतृत्वको टोली राति मात्र पुग्यो । बृहत् अनुसन्धान भोलिपल्ट बिहान अर्थात् घटना भएको २४ घण्टापछि मात्र सुरु भयो । त्यतिबेलासम्ममा घटनास्थलका धेरै प्रमाणहरू लोप भइसकेका थिए । छ जनाको हत्या भएपछि प्रहरी र स्थानीयको आशंका थियो- पैसाका लागि हत्या गरेको हुन सक्छ । तर, प्रहरी टोलीले खानतलासी गर्दा पैसा र गरगहना घरभित्रै भेटियो । 

    ०००

    प्रहरीले शंका लागेका छिमेकीहरूसँग अनुसन्धान सुरु गर्‍यो । पत्रकार तथा युट्युबरहरू पनि त्यहाँ पुगेका थिए । रोचक कुरो त के छ भने, जसले हत्या गरेको छ, उनै लोकबहादुर कार्की पत्रकारहरूलाई अन्तर्वार्ता दिने गरेका थिए । उनी भन्ने गर्थे, ‘बडाबा (तेजबहादुर) एकदमै समाजसेवी सहयोगी हुनुहुन्थ्यो, परिवार नै सखाप हुने गरी कसले हत्या गर्‍यो ?’ 

    उनले घटनाबारे अन्तर्वार्ता दिइरहे, जसका क्रममा बाहिरकै मान्छे आएर हत्या गरेको आशंकाको नाटक गरे । ‘बडाउको दुश्मनी कोहीसँग थिएन, मेरो विचारमा गाउँघरमा त्यस्तो शंकाको मान्छे कोही छैन’, उनले भन्ने गरेका थिए ।

    तर, घटनाको अनुसन्धान गरिरहेको प्रहरीले ‘सुनचाँदी, पैसा घरमै रहेछ भनेको छ नि ?’ भन्ने प्रश्नमा उनले भने, ‘रिसइबीले नै हो कि जस्तो छ । यो घटना गम्भीर छ ।’

    त्यसो त २५ वर्षीय लोकबहादुरले अनुसन्धान टोलीलाई खाना पकाउन सघाए । प्रहरीप्रति सहयोगी भूमिका निर्वाह गरे । प्रहरीले सोझो केटो भन्दै उनीप्रति कुनै भेउ नै पाएन । 

    उनले बडाबाबु तेजबहादुर कार्कीसहित छ जना आफन्त गुमाउनुपरेकामा बिलौना गर्ने गरेका थिए । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार अनुसन्धान सुरु गर्दा उनीमाथि शंका गरिएको थिएन । हेर्दा सोझो देखिने उनको मानसिक अवस्था पनि कमजोर भएको परिवारका सदस्यहरूले बताएका थिए । तर, सोधपुछका क्रममा बयान फेरिरहेपछि केरकार गरिएको प्रहरी स्रोत बताउँछ । ‘बयान फेरेपछि उनी शंकाको घेरामा थिए’, घटनाको अनुसन्धानमा खटिएको प्रहरी स्रोतले भन्यो ।

    उनका भाइले घटनाका बेला लगाएको सर्ट लगाएर बाहिर निस्किएपछि अनुसन्धान उनको परिवारमै केन्द्रित भयो । उक्त कपडा धोए पनि रगतको टाटा देखिएपछि गोप्य रूपमा अनुसन्धान गर्दा सफलता मिलेको स्रोत बताउँछ । 

    प्रहरीले लोकबहादुरलाई पक्राउ गरिसकेपछि घटना आफूले घटाएको स्वीकार गरेका छन् । तेजबहादुर सोमबार बिहान खेताला खोज्न निस्किएका बेला बाटोमा ढुकेर आक्रमण गरी हत्या गरेको स्वीकार गरेको अनुसन्धानमा संलग्न प्रहरीले बताए । उक्त हत्याकाण्डमा संलग्न अभियुक्त लोकबहादुरलाई प्रहरीले आज सार्वजनिक गरेको छ । प्रहरीले कार्कीलाई इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

    के थियो दुश्मनी ?

    एक वर्षअघि लोकबहादुर कार्कीकी आमा तेजबहादुरको घरमा लडेकी थिइन् । उनकी आमा बेहोस भएपछि उपचारको क्रममा झापामा मृत्यु भएको थियो । लोकबहादुरले आफ्नी आमाको मृत्युको कारण तेजबहादुर नै भएको आरोप लगाउँदै आएका थिए । तेजबहादुरले हेपेर बोली व्यवहार गर्ने गरेको उनलाई चित्त दुखेको थियो । 

    लोकबहादुरले पनि व्यक्तिगत रिसइबीका कारण हत्या गरेको स्वीकार गरिसकेका छन् । हत्या गरिएका तेजबहादुरले केही गर्न नसकेको भन्दै  ‘हेपेका कारण’ आफूले आवेगमा हत्या गरेको आरोपी लोकबहादुरले प्रहरीलाई बयान दिएका छन् । आफूलाई सधैँ हेप्ने, सापटी लिएको रकमको ब्याज लिएको आदि कुराले लोकबहादुर काका तेजबहादुरप्रति रिसाएका थिए । 

    लोकबहादुरले आफूले एउटै चिर्पटले छ जनाको पालैपालो हत्या गरेको बताएका छन् । हत्यालगत्तै चिर्पट जलाएको उनले बयान दिएको प्रहरीले बताएको छ । प्रदेश १ प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अरुणकुमार बीसीका अनुसार उनीहरूको हत्या बिहान ६ देखि साढे ६ बजेबीचमा भएको थियो । 

    को हुन् लोकबहादुर ?

    हत्या गर्ने लोकबहादुरले कक्षा ८ सम्म पढेपछि पढाइ छाडेका  थिए । छिमेकी चन्द्रबहादुर थापाका अनुसार घरमा पनि त्यति काम नगर्ने कार्की मलेसिया र कतार काम गर्न गए पनि वर्ष दिन नपुग्दै गाउँमा फर्किएका थिए ।

    छ वर्ष अगाडि मलेसिया गए पनि १० महिनामा विदेश जाँदाको ऋणसमेत नतिरी फर्किएको थापाको भनाइ छ । त्यसको डेढ वर्षपछि पुनः वैदेशिक रोजगारीका लागि उनी कतार पुगे । तर, त्यहाँबाट पनि नौ महिना नपुग्दै घर फर्किए ।

    राति कहिल्यै घरमा नआउने, कहिले राति घरबाटै हराउने, गाउँका बेकामे केटाहरूसँग बिनाकाम डुली हिँड्ने लोकबहादुरको विशेषता रहेछ । आमाको गत ६ चैतमा निधन भएपछि बुबा र भाइसहित तीन जना बस्दै आएका थिए ।

    उनी मलेसियामा रहँदा मानसिक स्थिति बिग्रिएपछि नेपाल फर्केको स्थानीय बताउँछन् । अहिले ‘ठिकै’ भनिएका लोकबहादुर गाउँमै खेतीपाती गरेर बसिरहेका थिए । लोकबहादुरको दुई पटक मानसिक सन्तुलन नै गुमेको थियो । उनले करिब एक वर्ष अगाडिसम्म मानसिक रोगको औषधि सेवन गरिरहेका थिए ।

    ‘केटीले धोका दिएपछि लोकबहादुर दुई पटक मानसिक सन्तुलन गुमाएर हिँडेको थियो । विदेश गएका बेला केटीलाई पैसा पठाउँदो रहेछ । पछि नेपाल फर्किंदा केटी सम्पर्कविहीन भएपछि मानसिक सन्तुलन गुमेको हो’, मृतकका भतिजा विनोद कार्कीले भने, ‘पछि आफैँ ठिक भएको सुनेको थिएँ ।’