काठमाडाै/गत २४ घण्टामा नेपालमा थप एक सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रदेशमा एक सय जना काेराेना सङ्क्रमित थपिएकाे जानकारी दिनुभयाे । याेसँगै नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या १८ हजार ९४ पुगेकाे छ । जसमध्ये १२ हजार ६८४ जना निको भएका छन् ।
बुधबार देशका विभिन्न २८ वटा प्रयोगशालाबाट ३ हजार ७ सय ७९ जनाको पीसीआर परीक्षण भएको छ । अहिले सङ्क्रमण दर २ देखि ३ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार प्रदेश नम्बर १ मा १ सय १९, प्रदेश नम्बर २ मा १ हजार ८ सय ७८, बागमती प्रदेशमा ४ सय २० र गण्डकी प्रदेशमा ३ सय ८९ जना उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ४५, कर्णाली प्रदेशमा २ सय ९० र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय २७ जना संक्रमित उपचाररत रहेका छन् ।
बुधबार २० हजार ८ सय ४२ जना क्वारेन्टिनमा रहेका छन् । प्रदेश नम्बर १ मा २ हजार ५ सय ५८, प्रदेश नम्बर २ मा २ हजार ३ सय ९७, बागमती प्रदेशमा १ हजार ४ सय ८४ र गण्डकी प्रदेशमा ३ हजार ३ सय ९ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ हजार २ सय २४, कर्णाली प्रदेशमा १ हजार ३ सय ८ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ५ सय ६२ जना क्वारेन्टिनमा रहेका छन् ।