चक्लाबन्दी खेतीतर्फ कृषक आकर्षित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    चक्लाबन्दी खेतीतर्फ कृषक आकर्षित

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ/गण्डकी प्रदेश सरकारको सहयोगमा शुरु भएको चक्लाबन्दी खेतीतर्फ तनहुँ जिल्लाका कृषक आकर्षित भएका छन् । कम लागत प्रयोग गरी उत्पादन बढाउने उद्देश्यका साथ प्रदेश सरकारले शुरु गरेको सामूहिक चक्लाबन्दी खेतीतर्फ बन्दीपुर गाउँपालिकाका कृषक आकर्षित भएका हुन् ।

    बन्दीपुर गाउँपालिकामा तीन वटा सहकारी तथा समूहले चक्लाबन्दी मार्फत् खेती गर्ने तयारी गरेका छन् । त्यसका लागि करीब ८ सय रोपनी जग्गालाई चक्लाबन्दी गर्ने काम सकिएको छ । बन्दीपुर गाउँपालिका–३ शेराटारस्थित हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाले ६ सय ११ रोपनी क्षेत्रफलमा चक्लाबन्दी मार्फत् खेती गर्नका लागि जग्गा सम्याउने काम सकेको संस्थाका अध्यक्ष बुद्धिबहादुर जिसीले जानकारी दिनुभयो । बन्दाबन्दीका कारण जग्गा चक्ला बनाउन केही समय ढिलाई भएको जानकारी दिनुहुँदै जिसीले चक्लाबन्दीका लागि ९२ जना कृषकको जग्गा समेटिएको बताउनुभयो ।

    यसअगाडी व्यक्तिगत रुपमा निर्वाहमुखी धान खेती गर्दै आएका यहाँका किसान चक्लाबन्दीमार्फत् सामूहिक खेतीका लागि आकर्षित भएको जिसीले बताउनुभयो । “एक्लाएक्लै खेती गर्दा उत्पादन खासै धेरै हुन्थेन, निर्वाहमुखी मात्रै थियो, अब सामूहिक रुपमा गर्दा बढी उत्पादन हुने अपेक्षा छ,” जिसीले भन्नुभयो, “चक्लाबन्दी कार्यक्रमको मुख्य उद्देश्य पनि कम लगानीमा बढी उत्पादन गर्नु हो ।” जिसीका अनुसार यस अगाडी यस ठाउँमा धान, मकै लगायतको खेती गरिन्थ्यो । चक्लाबन्दी पछि सामूहिक रुपमा धानखेती गर्ने तयारी गरिएको छ ।

    बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले सामूहिक चक्लाबन्दी खेतीतर्फ कृषकको आकर्षण बढेको जानकारी दिनुभयो । उहाँका अनुसार बन्दीपुर गाउँपालिकामा तीन ठाउँमा चक्लाबन्दी खेती शुरु गर्न लागिएको छ । तीन ठाउँमा गरेर करीब ८ सय रोपनी क्षेत्रफलमा चक्लाबन्दी गर्न लागिएको छ । बन्दीपुर गाउँपालिका–१ स्थित कटहरे पाटो कृषक समूहले १ सय ५०, बन्दीपुर गाउँपालिका–१ कै बोडीस्वारा धानखेत समितिले ५३ रोपनी क्षेत्रफलमा चक्लाबन्दी खेती गरिनेछ ।

    “कम लगानीमा उत्पादन वृद्धि गर्नका लागि चक्लाबन्दी कार्यक्रम सफल हुने विश्वास गरिएको छ,” अध्यक्ष थापाले भन्नुभयो, “थोरै जग्गामा खेती गर्नुभन्दा चक्लाबन्दी मार्फत् धेरै जग्गामा खेती गर्नु अहिलेको आवश्यकता हो ।” चक्लाबन्दी खेतीका लागि गाउँपालिकाले प्राविधिक सहयोग गर्नेछ ।

    उत्पादन वृद्धि गरी बाँझो जग्गा राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्र्ने उद्देश्यले चक्लाबन्दी कार्यक्रम शुरुवात गरिएको मन्त्रालयले जनाएको छ । उत्पादन वृद्धि गरी कृषिलाई यान्त्रिकिकरण गर्दै व्यवसायिक तथा सामूहिक कृषि उपजलाई प्रबद्र्धन गर्न प्रदेश सरकारले चक्लावन्दी कार्यक्रममा अनुदानको समेत व्यवस्था गरेको छ ।

    चक्लाबन्दी प्रबद्र्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०७५ मा उल्लेख भए अनुसार पहाडी क्षेत्रमा ५० देखि ७५ रोपनी क्षेत्रफलसम्मका जग्गाको लागि बढीमा १० लाख, ७६ देखि १ सय रोपनी क्षेत्रफल सम्मको लागि बढीमा १३ लाख, १ सय १ रोपनी देखि २ सय रोपनी क्षेत्रफल सम्मको लागि बढीमा २० लाख र २ सय १ रोपनी भन्दा माथिको लागि २० लाखमा प्रति रोपनी १० हजारको दरले थप रकम अनुदान दिने प्रावधान रहेको छ ।

    त्यसैगरी तराई क्षेत्रमा २० विगाहा देखि ५० विगाहासम्मको क्षेत्रफललाई बढीमा १० लाख, ५१ विगाहा देखि १ सय विगाहासम्मको क्षेत्रफललाई बढीमा १३ लाख, १ सय देखि माथिको क्षेत्रफलको जग्गालाई १३ लाखमा प्रति विगाहा १० हजारका दरले थप रकम अनुदान दिने मन्त्रालयले जनाएको छ ।

    त्यस्तै हिमाली क्षेत्रमा २० रोपनी देखि ५० रोपनी सम्मको क्षेत्रफललाई बढीमा १० लाखसम्म, ५१ रोपनी देखि १ सय रोपनी सम्म बढीमा २० लाख, १ सय १ रोपनी देखि १ सय ५० रोपनी सम्म क्षेत्रफलको जग्गालाई ३० लाखसम्म, १ सय ५१ रोपनी माथिको क्षेत्रफलको जग्गाको लागि ३० लाखमा प्रति रोपनी १० हजारको दरले थप अनुदान रकम मन्त्रालयले दिने भएको छ ।